सुर्खेत ।
कर्णालीमा यस वर्ष चाडपर्व लक्षित सुपथ मूल्य पसल गाउँकेन्द्रित गर्न थालिएको छ । विगतका वर्षहरूमा सहरकेन्द्रित हुने गरेका सुपथ मूल्य पसल यस वर्ष गाउँकेन्द्रित बनाउँदै कर्णालीका ४२ स्थानमा सञ्चालन हुँदैछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले स्थानीय तहसँगको समन्वयमा जनशक्ति र ढुवानीको व्यवस्था गरेर गाउँकेन्द्रित सुपथ पसल सञ्चालन गर्न लागेको हो ।
प्रादेशिक कार्यालय प्रमुख केशवराज बुढाका अनुसार भदौ ३० गतेबाट कर्णालीका १९ स्थानमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सुरु भइसकेका छन् भने पालिकाहरूसँग समन्वय गरेर अन्य स्थानमा पनि सेवा विस्तार गर्न लागिएको छ । यसअघि दसैँ, तिहार र छठ पर्वको अवसर पारेर जिल्ला सदरमुकामहरूमा मात्रै पसल सञ्चालन गर्ने गरिएको थियो । कार्यालयका अनुसार जुम्ला सदरमुकाम, मुगुको सदरमुकाम, डिपो कार्यालय सोरुकोट र डिपो कार्यालय श्रीकोटमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन् ।
यस्तै हुम्लाका तीन स्थान सदरमुकाम सिमकोट, डिपो कार्यालय सर्केगाड र श्रीनगरमा राखिएको छ । डोल्पाको सदरमुकाम दुनै, डिपो कार्यालय जुफाल र सर्मी, जाजरकोट सदरमुकामका साथै घोकी डिपो र नायकबाँडा डिपोमा सुपथ मूल्य पसल स्थापना गरिएको छ । यस्तै कालीकोटका पनि तीन स्थानमा सुपथ मूल्य पसलमार्फत नागरिकलाई सर्भसुलभरूपमा खाद्य सामग्री उपलब्ध गराइनेछ । सदरमुकाम मान्म, पदमघाट र डिपो कार्यालय खल्नाघाटमा पसल सञ्चालन गरिएको छ ।
यता रूकुम पश्चिम सदरमुकाम मुसीकोट, दैलेख सदरमुकाम र सुर्खेत सदरमुकाम गरी १९ स्थानमा अहिले सुपथ मूल्य पसल सञ्चालन भइरहेका छन् । यसबाहेक अन्य स्थानमा समेत सुपथ पसल सञ्चालनको तयारी तीव्र पारिएको छ । सुपथ मूल्य पसलमा चामल, तेल र चिनीलगायतका खाद्यवस्तुमा छुट दिइएको छ । चामल र चिनीमा प्रतिकेजी पाँच रूपैयाँ र तेलमा प्रतिलिटर सात रूपैयाँ छुट रहेको छ । सुपथ पसलका लागि १२ हजार क्विटन चामल, एक सय क्विन्टन चिनी र २६ हजार पाँच सय लिटर खाने तेल स्टक राखिएको छ ।
यस वर्ष पनि भदौ ३० देखि कार्तिक १० गतेसम्म सुपथ पसल सञ्चालन गरिनेछ । दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी चामल सहुलियत दरमा बिक्री गर्न थालिएको हो । सरकारी स्वामित्वका संस्थानहरूले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलका कारण बजारमा मूल्य वृद्धि नियन्त्रण हुन सघाउ पुग्ने विश्वास लिएको छ । चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेका सुपथ मूल्य पसलमा उपभोक्ताले लाभ लिएका छन्।
कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पसल सञ्चालन गरेका हुन् । अहिले स्थानीय तहसँगको समन्वयनमा गाउँ–गाउँमा सेवा विस्तार गर्न लागिएको छ । सुपथ पसलहरूमार्फत कर्णालीमा पोषणयुक्त चामल वितरण हुने गरेको छ । अघिल्ला वर्षहरूबाट पोषणमा सुधार ल्याउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीका जिल्लाहरूमा पोषणयुक्त चामल वितरण गर्दै आइरहेको हो ।
यसअघि वितरण गरिएको चामलमा कम पौष्टिक तत्व हुँदा कुपोषण कायमै रहेपछि पौष्टिकयुक्त चामल वितरण गरिएको कार्यालय प्रमुख बुढाले बताए । पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलमा भिटामिन ‘ए’, भिटामिन ‘बी’, भिटामिन ‘बी २’, भिटामिन ‘बी ६’, भिटामिन ‘बी १२’, जिंक, आइरन, फोलिक एसिडलगायत शरीरलाई आवश्यक पर्ने तत्वहरू पाइन्छ ।
सुपथ मूल्य पसलबाट गत वर्ष प्रदेशभर २६ हजार दुई सय ३९ क्विटल चालम बिक्री भएको थियो । ४२ हजार नौ सय ५० लिटर तेल र एक सय २२ क्विटल चिनी बिक्री भएको थियो । प्रदेशभरमा विभिन्न सामग्रीहरू बिक्री गर्दा एक करोड ३४ लाख ९८ हजार एक सय ८३ रूपैयाँ छुट दिइएको कार्यालयले जनाएको छ । गतवर्ष सबैभन्दा धेरै खपत हुम्लामा भएको थियो । उक्त जिल्लामा ६ हजार एक सय ७३ क्विन्टल चामल, ६ हजार तीन सय ५० लिटर तेल र ९८ क्विटल चिनी बिक्री भएको थियो । जसमा ३१ लाख ९३ हजार छुट गरिएको थियो ।
सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्य पसल
सुदूरपश्चिमका २८ स्थानमा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुदूरपश्चिमका विभिन्न जिल्लामा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएका हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै सुदूरपश्चिमका २० स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङले आठ स्थानमा पसल सञ्चालन गरेको जनाइएको छ ।
खाद्य व्यवस्था लिमिटेडको प्रदेश कार्यालयका प्रादेशिक प्रमुख दीपक थापाले भने, ‘हामीले सुपथ मूल्यका पसलबाट दुई प्रकारका चामल र चिनी प्रतिकिलो रु पाँच छुटमा उपलब्ध गराउनेछौँ । गत भदौ ३० गतेदेखि सुपथ मूल्यका पसल सञ्चालनमा आएका हुन् ।’ उनका अनुसार कैलालीको धनगढी, डडेलधुराको खलङ्गा बजार, कञ्चनपुरको शाखा कार्यालय महेन्द्रनगर, डोटीको खलङ्गा बजार र मौवानगर खरिद बिक्री केन्द्रमार्फत सुपथ मूल्यका पसल सञ्चालन गरिएको हो ।
बाजुराको शाखा कार्यालय मार्तडी, डिपो कार्यालय कोल्टी, धुलाचौर बिक्री केन्द्र, बिच्छाया बिक्री केन्द्र र पाण्डुसैन बिक्री केन्द्र, बैतडीको गोठालापानी र परचौडीहाट बिक्री केन्द्र, रोलेश्वर, आम्चौरा र दोगडाकेदार खरिद बिक्री केन्द्रमा सुपथ मूल्यका पसल सञ्चालनमा छन् । दार्चुलाको शाखा कार्यालय, सुनकेसरा बिक्री केन्द्र, हिकिला र खण्डेश्वरी खरिद बिक्री केन्द्र र अछामको शाखा कार्यालय मङ्गलसेन, सैनाबजार, साफेबगर, कमल बजार खरिद बिक्री केन्द्रबाट सेवा सुरु भएको प्रमुख थापाले जानकारी दिए ।
साल्ट ट्रेडिङ कर्पोरेसनका प्रदेश कार्यालय प्रमुख तेजबहादुर कुवँरले सुदूरपश्चिमका आठ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिए । उनले साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्यका पसलमा नुनमा प्रतिकिलो रु दुई, चिनीमा प्रतिकिलो रु पाँच, तेल चिउरा, पिठो मैदा र दालमा प्रतिकिलो रु सात छुट दिने बताए । डडेल्धुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल, बैतडीको पाटनबाट सुपथ मूल्यका पसल सञ्चालन गरिएको साल्ट ट्रेडिङले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्