नेपालगन्ज ।
आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघर््य दिएर छठ पर्व मनाइएको छ । छठ पर्वको मुख्य दिन व्रतालुहरूले नदी, पोखरी, तलाउ तथा जलाशयका किनारमा सजाइएका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अघर््य अर्पण गरेका हुन् । नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा पनि हजारौँ श्रद्धालुहरूको उपस्थितिमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको थियो ।
छठको अवसरमा आकर्षक रूपमा सजाइएका घाटहरूमा पुगेर व्रतालुहरूले सूर्यलाई जल तथा प्रसाद अर्पण गरेका हुन् । रंगीचंगी बत्ती, फूलमाला र पूजाका सामग्रीले सिँगारिएका घाटहरू व्रतालु तथा श्रद्धालुहरूको उपस्थितिले झनै उल्लासमय बनेका थिए । विशेषगरी मधेश तथा मिथिलावासीको बसोबास रहेको क्षेत्रमा श्रद्धापूर्वक धुमधामका साथ छठ मनाइएको हो ।
अघर््य दिँदा व्रतालुहरूले बाँसका ढाकी र नाङ्लोमा ठेकुवा, भुसुवा, फलफूल, उखु, नरिवललगायत प्रसाद तथा पूजाका सामग्री सजाएर घाटमा लग्ने गरेका छन् ।परम्परागत छठ गीत, भजन र भक्तिमय संगीतका बीच अर्घ्य दिइने गरिन्छ । परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर पूजा आराधना गर्ने गरिन्छ । सूर्यदेवलाई अघर््य अर्पण गर्दै व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्ने गरेका छन् ।
छठ पर्वमा सूर्यको उपासना गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठ पर्वको पहिलो दिन नहाय–खाय र दोस्रो दिन खरना विधि गरिएको थियो । खरनाका दिन दिनभर उपवास बसेका व्रतालुले साँझ चामल, दूध र सक्खरबाट तयार पारिएको खीर प्रसादका रूपमा ग्रहण गरेका थिए । त्यसपछि सुरु भएको निर्जला व्रत मुख्य दिन अस्ताउँदो सूर्यलाई अघर््य दिएपछि पनि जारी रहन्छ ।
छठ पर्वको अन्तिम विधि सोमबार बिहान उदाउँदो सूर्यलाई अघर््य अर्पण गरेपछि पूरा हुन्छ । त्यसपछि व्रतालुहरूले पारण गरी व्रत समापन गर्ने गर्दछन् । तराई–मधेशमा विशेष महत्व र उल्लासका साथ मनाइने छठ पछिल्लो समय सुदूरपश्चिसहित पहाडी तथा हिमाली क्षेत्रका विभिन्न स्थानमा पनि विस्तार हुँदै गएको छ । धार्मिक आस्था र विश्वाससँग जोडिएको यस पर्वले जातीय, भाषिक तथा सांस्कृतिक विविधताबीच सामाजिक सद्भाव, आपसी एकता र सहअस्तित्वको सन्देशसमेत प्रवाह गर्दै आएको छ ।
छठका अवसरमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने जनकपुर पुगेर पूजामा सहभागी भएका छन् भने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति गगन थापा सर्लाही पुगेर पूजामा सहभागी भए ।









प्रतिक्रिया दिनुहोस्