दमकल ढिलो पुग्दा करोडौँको क्षति



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाको सीमानामा पर्ने कोरियनपुर निवासी अमरबहादुर ओली शनिबार दिउँसो आफ्नो जलेर खण्डहर बनेको पसलका सामानका अवशेषहरू व्यवस्थापनको काममा खटिएका थिए । कात्तिक २२ गते साँझ तिहारको लक्ष्मीपूजाकै दिन उनका दुईवटा विद्युतीय सामग्रीका होलसेल पसलहरूमा आगलागी भएर सबै सामानहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

इलेक्ट्रिकल इन्जिनियरसमेत रहेका ओली र उनकी श्रीमतीले २०७० सालमा सुरु गरेको व्यवसाय निरन्तर प्रगतिमा रहेका बेला आगलागी हुँदा आफूलाई विक्षिप्त बनाएको ओलीले बताए । ‘मसँग नभएको इलेक्ट्रिकल सामान सायदै थियो । बिजुलीका सबै किसिमका तारदेखि ट्रान्सफर्मरसमेतको व्यापार थियो । सरकारी निकायलाई पनि आवश्यक पर्ने साधनहरू मैले उपलब्ध गराउँदै आएको थिएँ । तर, सबै एकैपलमा सखाप बनायो,’ ओलीले मिसन टुडेसँग भने ।

उनका अनुसार आगलागीबाट कम्तीमा पनि तीन करोड रूपैयाँँको विद्युतीय सामानहरू मात्रै जलेर पूण रूपमा नष्ट भएका छन् । घटनास्थलमा पनि कुनै पनि सद्धे अवस्थाका सामानहरू देखिन्थेनन् । ओलीले नेपालगन्ज उपमहानगरपालिकाको दमकल ढिलो आएको कारण क्षति भएको आरोप लगाएका छन् । उनले समयमै दमकल आइदिएको भए क्षतिलाई कम गर्न सकिने भए पनि नेपालगन्ज उपमहानगरपालिकाको दमकल समयमै नआइपुग्दा ठूलो क्षति हुन पुगेको दाबी गरे ।

करिब ६ बजेतिर आगलागी भएको थाहा पाएको बताउँदै उनले एक किलोमिटरको दूरीमा रहेको नेपालगन्ज उपमहानगरपालिकाको दमकल भने सात बजेर ४० मिनेटतिर मात्रै आइपुगेको दाबी गरे । ‘आगलागी भएपछि हामीहरू जसरी हुन्छ आगो निभाउनतिर लाग्यौँ । दमकल बोलाउने होस समेत भएन । छिमेकीहरूले आगलागी भएको थाहा पाउनेबित्तिकै दमकलका लागि फोन गर्नुभएको रहेछ । तर, दमकल आउन नै डेढ घण्टाभन्दा बढी समय लाग्यो,’ ओलीले मिसन टुडेसँग भने ।

साथै दमकलमा आधा मात्रै पानी भरेर ल्याइएको पनि आफूले सुनेको उनको दाबी छ । दमकल आइपुग्दा आगो निकै फैलिसकेको उनको भनाइ छ । उनका अनुसार छिमेकीहरूले सुरुमा वडाध्यक्ष र मेयरलाई सम्पर्क गरेर दमकल पठाइदिन आग्रह गरेका थिए । त्यसपछि प्रहरीको इमरजेन्सी टेलिफोन नम्बर एक शून्य शून्यमा सम्पर्क गरेर आगलागीको सूचना दिए पनि दमकल आउन निकै ढिलाइ भएको उनको दाबी छ ।

अर्काेतिर समय घर्किएपछि आइपुगेका ६ वटा दमकलको प्रयोग गरेर पनि आगलागी नियन्त्रण गर्न नसकेको उनको गुनासो छ । ‘६ बजे लागेको आगो १२ बजेतिर मात्रै निभ्यो । तर, कुनै पनि सामान बचेन । यदि सही तरिकाले अग्नि नियन्त्रण गरेको भए यसरी क्षति हुन्थेन होला । यो आगो निभाइएको भन्दा पनि सबै जलिसकेपछि आफैँ निभेको हो,’ ओलीले भने । नेपालगन्ज उपमहानगरपालिकाको अग्निनियन्त्रक टोलीले राखेको रेकर्डअनुसार पनि दमकल आगलागी भएको समयभन्दा कम्तीमा पनि ४० मिनेटपछि खटिएको देखिन्छ ।

उपमहानगरपालिकाको अग्निनियन्त्रक टोलीको रेकर्डअनुसार दमकलका लागि ६ बजेर ३३ मिनेटमा खबर आएको थियो भने ६ बजेर ३८ मिनेटमा दकमल घटनास्थलतर्फ लागिसकेको थियो । उपमहानगरपालिकाको अग्निनियन्त्रक टोलीका इन्चार्ज आनन्द वर्माले पीडितले दमकल ढिलो पुगेको भनेर आरोप लगाएको सुन्दा आश्चर्य लागेको बताए । ‘हामीले सूचना पाएको पाँच मिनेटमा दमकल घटनास्थलतर्फ पठाएका हौँ । यहाँबाट घटनास्थलमा पुग्न बढीमा १० मिनेट लाग्यो होला । तर, उहाँले दमकल ढिलो आएको भनेको सुन्दा आश्चर्य लागेको छ,’ वर्माले भने ।

उनले दमकलमा आधा मात्रै पानी भरिएको भनेर लगाइएको आरोप पनि निराधार रहेको बताए । ‘जति पानी हुनुपर्ने हो त्यति भरेर स्ट्याण्डबाई अवस्थामा राखिएको हुन्छ । पानी आधा मात्रै भयो भन्नु निराधार कुरा हो,’ वर्माले भने । पीडितको भनाइ र अग्निनियन्त्रण टोलीको रेकर्ड हेर्दा पनि नगरपालिकाबाट एक किलोमिटरको दूरीमा रहेको ठाउँसम्म दमकल पुग्न कम्तीमा पनि ५० मिनेट ढिलो भएको देखिन्छ । यो समयको ग्याप अग्नि नियन्त्रणका लागि निकै ढिलो हुने वर्मा पनि स्कीकार्छन् । तर, ढिलाइमा आफूहरूको दोषभन्दा पनि सूचना नै ढिलो पुग्नु कारण रहेको हुनसक्ने उनको दाबी छ ।

‘हामीले त सूचना आएको समयलाई नै आधार मान्ने हो । तर पीडितले ६ बजे नै आगलागी भएको भन्नुहुन्छ भने हामीकहाँ सूचना आइपुग्न ढिलाइ भएको देखिन्छ,’ उनले भने । यसरी ढिलाइ हुनुको कारण सिधै दमकललाई सम्पर्क नगरेर प्रहरीमार्फत सूचना आउँदा ढिलाइ भएको हुनसक्ने उनले बताए । पीडित र अग्निनियन्त्रक टोलीको कुरा सुन्दा आगलागीको सूचना पुग्नुमा ढिलाइ पनि क्षतिको मुख्य कारणका रूपमा देखिन्छ । किनकी पीडितबाट सूचना दमकलसम्म पुग्न नै आगलागी सुरु भएको करिब आधा घण्टा लागेको देखिन्छ ।

पीडित ओलीका छिमेकी रामचन्द्र तिवारी आफूले नै प्रहरीलाई दमकलका लागि टेलिफोन गरेको बताउँछन् । तर, उनले आफूले फोन गरेको समय ६ बजेर २६ मिनेट रहेको बताए । प्रहरीबाट दमकल टोलीसम्म उक्त सूचना पुग्न पाँच मिनेट लागेको रेकर्डबाट देखिन्छ । त्यसपछिको पाँच मिनेटपछि मात्रै दमकल घटनास्थलतर्फ गएको देखिन्छ भने दमकल घटनास्थल पुगेको समयको रेकर्ड भने राखिएको छैन । पीडितहरूले साढे ७ बजेपछि मात्रै दमकल पुगेको दाबी गरेका छन् ।

जसलाई अग्निनियन्त्रक टोलीले अस्वीकार गरेका छन् । उनीहरूले आगो नजिकका अरु घरहरूमा फैलिन नदिन दमकलले नै रोकेको बताएका छन् । यसरी सूचना आइपुग्न नै ढिलो हुनुमा सर्वसाधारणले दमकलको सम्पर्क नम्बर आफूसँग नराख्नु पनि एक मुख्य कारणको रूपमा देखिएको छ । त्यसपछि प्रहरीलाई सम्पर्क गरेर दमकल बोलाउँदा पनि ढिलाइ हुने गरेको नेपालगन्ज उपमहानगरपालिकाका अग्निनियन्त्रकहरू बताउँछन् ।

यसका लागि उपमहानगरपालिकाले दमकलको टेलिफोन नम्बरबारे सचेतना फैलाउने र ठाउँठाउँमा होडिङ बोर्डहरू राख्नुपर्ने आश्यकता देखिएको उनीहरूको भनाइ छ । कारण जे भए पनि दमकल भएको स्थानबाट एक किलोमिटरको दूरीमा रहेको स्थानमा भएको आगलागी नियन्त्रणमा दमकल खटिन ढिलाइ भएको र त्यसले कम्तीमा तीन करोड रूपैयाँँको क्षति भएको छ ।

पीडित ओली अहिले आफूलाई आर्थिक सहयोग गर्न मनकारीहरूसँग आग्रह गरिरहेका छन् । बीमा पनि करिब डेढ करोड रूपैयाँँको मात्रै गरेकोले अहिले आफू निकै अप्ठ्यारोमा रहेको उनी बताउँछन् । व्यवसायको बीमा गर्दा क्षतिलाई आकलन गरेर बीमा गर्नुपर्ने महसुुस भएको पनि उनको भनाइ छ ।

अग्नि नियन्त्रणका लागि जनशक्तिको कमी 

नेपालगन्ज उपमहानगरपालिकासँग हाल तीनवटा दमकल छन् । एउटा साधनसँग कम्तीमा पनि चार जना अग्निनियन्त्रक खटिनुपर्ने अग्निनियन्त्रक टोलीका इन्चार्ज आनन्द वर्मा बताउँछन् । तर, अहिले उपमहानगरपालिकाको अग्निनियन्त्रक टोलीमा ९ जना मात्रै कर्मचारी छन् । हर समय तैनाथ रहनुपर्ने दमकल सञ्चालनका लागि तीन जनामात्रै चालक छन् ।

‘एक जना चालक बिदा बस्दा पनि समस्या हुने अवस्था छ । तीनवटै दकमल खटिनुपर्ने अवस्थामा कोही बिदा बसेको छ भने नगरपालिकाका अरु सवारी चालकहरूलाई अनुरोध गर्नुपर्ने अवस्था छ,’ वर्माले भने । उनले यस विषयमा उपमहानगरका नगरप्रमुखसहित जनप्रतिनिधिहरूलाई पटक पटक अवगत गराइए पनि जनशक्ति व्यवस्थापन हुन नसकेको बताए ।

तार अव्यवस्थाले पनि ढिलो पुग्छ दमकल

नेपालगन्जमा बिजुली तथा इन्टरनेटका तारहरूसमेत व्यवस्थित नहुँदा दमकल समयमा पु¥याउन कठिन हुने गरेको अग्निनियन्त्रकहरू बताउँछन् । साँघुरा गल्लीहरू रहेको नेपालगन्जमा त्यसैमाथि तारहरू अव्यवस्थित हुँदा झनै कठिन हुने गरेको उनीहरूको भनाइ छ । नेपालगन्जका धेरैजसो घना आवादी क्षेत्रमा अव्यवस्थित तारहरूकै कारण समयमै दमकल पुग्न नसकेर ठूलो क्षति हुने अवस्था रहेको उनीहरूले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १ गते सोमबार