सनत रेग्मी
धेरै दिनपछि झन्डै तेइस वर्षपछि फेरि ऐनासामु उभिएको छु । ऐनासामु उभिएर म कुनै साधारण मानिस होइन, म त समाज, राजनीति र साहित्यका अनेक मोडहरूमा आफ्नो छाप छोडेर आएको एक यात्रु हुँ । यो व्यक्तिबाट व्यक्तित्व मानेको मानिसको अनुहार सनत रेग्मीको हो । मेरो मनभित्र आत्मसन्तुष्टिको एउटा मधुर तरङ्ग उठ्छ । म सम्झन्छु—साहित्यका लागि बिताएका वर्षहरू । पुस्तकका पानामा छरिएका मेरा शब्दहरू । कथा, निबन्ध र संस्मरणहरूमा पोखिएका अनुभूतिहरू । महेन्द्र पुस्तकालयमा र रेडक्रसमा बिताइएका आधा शताब्दी समय नेपालगन्जका विविध साहित्यिक संस्थाको संलग्नतालई म सम्झन्छु, कतिपय पाठकले मेरा लेखाइमा आफ्नै जीवन भेटेको बताएका थिए । कतिपयले मेरा कथामा गाउँको माटोको गन्ध भेटेका थिए । कतिपयले मेरा निबन्धमा समयको साक्षी देखेका थिए । म राजनीति मै पनि ने.वि.संघको केन्द्रीय उपाध्यक्ष भएकै हुँ । लामो समयसम्म महासमिति सदस्य केन्द्रीय उपसमितिहरूको सदस्य र केन्द्रीय अनुगमन समितिहरूमा रहेर विभिन्न जिल्लाहरूको अध्ययन गरेको हुँ । प्रतिनिधिसभामा सदस्यको चुनाव पनि लडेकै हुँ । वीपी, गणेशमान र किशुनजीको स्नेह पाएकै हुँ । नेपालगन्जको एउटा बौद्धिक व्यक्तित्व र राष्ट्रकै सम्मानित साहित्यकार भएको दम्भले ऐनासामु उभिएर मुस्कुराउँछु । ‘कम छैन मेरो योगदान’ म गमक्क पर्छु । त्यसै बेला ऐनाको सतह हल्का झिल्मिलाउँछ । झिलिमिली पानीमा ढुङ्गा खसेझैँ मेरो प्रतिबिम्ब थोरै काँप्छ । ऐनाबाट एउटा मधुर तर चिसो आवाज आउँछ— ‘साँच्चै ?’ म अलमलिन्छु । ‘किन होइन ?’ म प्रतिप्रश्न गर्छु । ऐनाले उत्तर दिँदैन । बरु झिल्मिल प्रकाशभित्र एउटा दृश्य देखापर्छ । त्यहाँ एउटा युवा लेखक छ । ऊ आफ्नो पहिलो रचना बोकेर उत्साहित छ । उसको आँखामा सपना छ, शब्दप्रति श्रद्धा छ । तर त्यसको छेउमै अर्को दृश्य देखिन्छ—एउटा कार्यक्रम, जहाँ उसले आफ्नै प्रशंसा सुनिरहेछ । प्रशंसाका शब्दहरू उसलाई यति मिठा लागेका छन् कि उसले आलोचनाका स्वरहरू सुन्न छोडेको छ । म झस्कन्छु । फेरि अर्को परिदृश्य । साहित्यभन्दा त ऊ राजनीतिमा रमाएको छ । नारा जुलुस अनि जेलभित्र ऊ । ऐनाले भन्छ—‘सनत, तिमीले साँच्चिकै साहित्यलाई प्रेम गरेको हो त ?’ म मौन हुन्छु । किनकि उत्तर सरल छैन । साहित्यिक यात्रामा मैले शब्दहरूको सेवा गरेँ । कतिपटक शब्दहरूले मेरो अहंकारको पनि सेवा गरे । राजनीतिमा डुवेकै हो जेलमा रहँदा, साहित्यमा पनि डुबेकै हो । साहित्य पढ्नु र लेख्नु मेरो दिनचर्या थियो त जेलमा अनि साहित्यलाई माया गरेको होइन त ? सम्मानपत्रहरू भित्तामा टाँसिदा मन रमाएकै हो । ऐना हाँस्छ । साहित्यकै भोकले हो ? प्रशंसाको भोकले साहित्य लेखेको होइन र ? मञ्चबाट नाम उच्चारण हुँदा छाती फुल्यो होला । कतिपटक लाग्यो होला अरूभन्दा केही विशेष छु । होइन र ? म अन्यौलले मौन हुन्छु । ऐना फेरि झिल्मिलाउँछ । यसपटक त्यहाँ एउटा अर्को दृश्य देखिन्छ । म सामाजिक कार्यक्रममा भाषण गर्दैछु । समाज परिवर्तनका कुरा गरिरहेको छु । शिक्षा, चेतना र संस्कृतिको महत्वबारे बोलिरहेको छु ।
प्रजातन्त्रको पक्षमा बोलिरहेको छु । मानिसहरू ताली बजाइरहेका छन् । म गर्वले त्यो दृश्य हेर्छु । तर अचानक दृश्य बदलिन्छ । कार्यक्रम सकिएपछि एक वृद्ध किसान मेरो नजिक आउँछ । उसको आँखामा समस्या छ । ऊ सहयोग खोज्दैछ । तर म अर्को प्रतिष्ठित व्यक्तिसँग कुराकानीमा व्यस्त छु । उसको कुरा आधा सुनेर टारिदिन्छु । ऐनाले सोध्छ— ‘समाजको सेवा ग¥यौ ? सबै मानिसलाई समान दृष्टिले हे¥यौ ?’ मेरो ओठ सुक्छ । म सम्झन्छु, कतिपटक म ठूलो समस्यामा अल्झेर मानिसहरूका साना दुःखहरू देख्न चुकेको थिएँ । कतिपटक समाजसेवा आदर्शभन्दा प्रतिष्ठाको विषय बनेको थियो । ऐनाको सतह फेरि काँप्छ, झिल्मिल गर्छ । अब राजनीति देखिन्छ । त्यो समय जोशको समय थियो । परिवर्तनका नारा गुञ्जिरहेका थिए । म पनि ती नाराहरूको भीडमा थिएँ । अन्यायका विरुद्ध आवाज उठाउने विश्वास थियो । संगठनका बैठकहरू, आन्दोलनका कार्यक्रमहरू, संघर्षका दिनहरू । म गर्वले ती दिनहरू सम्झन्छु । तर ऐनाले अर्को दृश्य देखाउँछ । त्यहाँ एउटा बैठक छ । एउटा गलत निर्णय हुँदैछ । म त्यसको विरोध गर्न सक्थेँ । तर मौन छु । किनकि विरोध गर्दा सम्बन्ध बिग्रिन सक्थ्यो । ऐना हाँस्छ । त्यो हाँसो व्यङ्ग्यले भरिएको छ । ‘तिमीले सत्यको पक्ष लियौ कि सुविधाको ?’ मेरो टाउको झुक्छ । जीवनमा यस्ता क्षण धेरै रहेछन् जहाँ मैले आफूलाई जति साहसी सम्झेँ, वास्तविकतामा त्यति साहसी हुन सकिनँ । झिलमिल प्रकाश अझ गाढा बन्छ । अब ऐनामा कुनै बाहिरी दृश्य छैन । त्यहाँ केवल म छु । तर यो अहिलेको म होइन । मेरो अहंकार छ । त्यो उभिएर भनिरहेको छ— ‘तिमीले धेरै लेख्यौ । धेरै ग¥यौ । धेरै पायौ ।’ ऐनाको झिलिमिलीसँगै अर्को आकृति देखापर्छ । त्यो मेरो विवेक हो । उसले शान्त स्वरमा भन्छ— ‘तर कति कुरा अधुरा छोड्यौ ?’ म निःशब्द हुन्छु । म सम्झन्छु—लेख्न चाहेका तर नलेखिएका पुस्तकहरू । भेट्न चाहेका तर नभेटिएका मानिसहरू । भन्न चाहेका तर नभनिएका सत्यहरू । जीवनभरि समय छ जस्तो लाग्यो । तर समय त मुठ्ठीको बालुवाजस्तो रहेछ । जति कसिलो समात्यो, त्यति चाँडो फुत्कियो । ऐना अब नदी बनेको छ । त्यसमा मेरो जीवन बगिरहेको छ । कहिले सफलताको उज्यालो पानी । कहिले असफलताको धमिलो भेल । म ती दृश्यहरू हेर्छु । एकातिर सम्मानका माला छन् । अर्कोतिर आत्मग्लानिका काँडा । एकातिर तालीहरू छन् । अर्कोतिर नबोलिएका पश्चात्तापहरू । अचानक ऐनाले एउटा गहिरो प्रश्न गर्छ—‘यदि तिम्रा सबै सम्मानपत्र हटाइदिए भने, तिमी को हौ ?’ म चुप लाग्छु । ‘यदि तिम्रा पुस्तकहरू हराए भने, तिमी को हौ ?’ म अझै चुप लाग्छु । ‘यदि समाजले तिम्रो नाम बिर्सियो भने, तिमी को हौ ?’ मसँग उत्तर छैन । किनकि मैले जीवनभरि आफूलाई कर्म, योगदान र उपलब्धिको आधारमा चिनेको रहेछु ।
तर ऐनाले मलाई नाम र प्रतिष्ठाभन्दा परको मानिस खोज्न लगाइरहेको छ । झिल्मिल उज्यालो अब शान्त हुन थाल्छ । त्यसको सतहमा एउटा बूढो रूख देखिन्छ । हावाले हल्लाएको । कतै हाँगा भाँचिएका । कतै पात झरेका । तर जरा अझै जमिनभित्र गहिरो छ । म त्यो रूखलाई हेर्छु । ऐना भन्छ—‘यो तिमी हौ । तिम्रा हाँगाहरूमा उपलब्धि छन् । तिम्रा घाउहरूमा कमजोरी छन् । तिम्रा जराहरूमा संघर्ष छ र तिम्रो अस्तित्वमा अपूर्णता छ ।’ म पहिलो पटक आफ्ना कमजोरीहरूबाट भाग्न छोड्छु । म स्वीकार गर्छु—हो, म कहिलेकाहीँ आत्मप्रशंसामा रमाएँ । हो, म प्रशंसाको मोहमा परेँ । हो, म सबै ठाउँमा सत्यको पक्षमा उभिन सकिनँ । हो, मैले कतिपटक आफ्ना आदर्शहरूलाई व्यवहारमा उतार्न सकिनँ । हो, मैले परिवारका अपेक्षा पूरा गर्न सकिनँ । हो, म कति पटक आफ्नो आस्थाबाट बिचलित पनि भएँ हुंँला । आफैमा म पूर्ण छैन । यो सत्यलाई मैले स्विकार्नु पर्छ । यो स्वीकारोक्तिसँगै ऐनाको झिलमिलभित्र कुनै अहङ्कार छैन । कुनै आत्मप्रशंसाको धुवाँ छैन । त्यहाँ केवल एउटा साधारण मानिस उभिएको छ, सनत रेग्मी । न ऊ महापुरुष । न ऊ सन्त । न ऊ निष्कलंक साहित्यकार । न ऊ त्रुटिरहित समाजसेवी । न ऊ पूर्ण राजनीतिक कार्यकर्ता । ऊ केवल एउटा मानिस हो—जसले सपनाहरू देख्यो । संघर्षहरू ग¥यो । गल्तीहरू ग¥यो । सिकाइहरू प्राप्त ग¥यो । र जीवनको अन्तिम चौतारोतिर आइपुग्दा आफ्नै ऐनासँग हार मान्न सिक्यो । अब मलाई लाग्छ, आत्ममूल्यांकन भनेको त सफलताको सूची पढ्नु होइन रहेछ । आत्ममूल्यांकन भनेको झिल्मिल ऐनाले देखाएका ती धर्साहरू हेर्न सक्नु रहेछ, जुन हामी अरूलाई देखाउन चाहँदैनौँ । साँचो ऐना त्यो होइन जसले सफा र चम्किलो अनुहार देखाउँछ । साँचो ऐना त्यो हो जसले अनुहारको मुखुन्डोभित्र लुकेका अहंकार र कमजोरीहरू देखाउँछ । आज म त्यही ऐनासामु उभिएको छु । धेरै वर्षपछि फेरि आफ्नै आँखामा आँखा जुधाएर भन्न सकेको छु— ‘सनत, तिमीले धेरै कुरा हासिल ग¥यौ होला । तर तिम्रो सबैभन्दा ठूलो उपलब्धि आफ्नो अपूर्णता स्वीकार गर्न सक्नु हो ।’ त्यसपछि ऐना मुस्कुराउँछ र म पनि । किनकि अब त्यो मुस्कान आत्मप्रशंसाको होइन, आत्मबोधको मुस्कान हो । २०६४ सालमा बडो हिम्मतकासाथ म यसरी नै ऐनासामु उभिएको थिएँ । अहिले ८० को संघारमा फेरि ऐनासामु उभिएको छु । त्यसबेला ऐनाले सतर्क गराएको कतिपय कुरा मैले सुधार गर्न सकेँ कतिपय कुरा मेरा कमजोरी नै रहे । साथीहरू अग्रजहरू समालोचकहरू र पाठकहरूको मूल्यांकन त स्नेह आदर र मायाका मूल्यांकन होलान् तर ऐनाले गरेको मेरो मूल्यांकन चाहीँ मेरो साँचो मूल्यांकन हो ।









प्रतिक्रिया दिनुहोस्