नेपालगन्जमा रगतको अभाव



बाँके ।

चाडपर्व लक्षित लामो बिदाका कारण बाँकेको नेपालगन्जमा रगतको अभाव हटन सकेको छैन । नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले रगतको अभाव हटाउन नियमित रक्तदान कार्यक्रम अनिवार्य भएको बताएका छन् ।

‘नेपालगन्जका अस्पतालका लागि मात्रै दैनिक ७० देखि ८० पिन्ट रगत माग हुन्छ तर त्योभन्दा निकै कम मात्रामा रगत मौज्दात रहेको छ’, उनले भने । रेग्मीले लुम्बिनीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशका बिरामीलाई समेत रगत पु¥याउनुपर्ने दायित्व भएको जानकारी दिँदै संस्थागत रक्तदानले संस्थालाई बल पुग्ने बताए ।

उक्त रक्तसञ्चार केन्द्रले खजुरा र कोहलपुरका शाखाबाट समेत रगत संकलन गरेको छ । उनले कतिपय घटनामा बिरामीका लागि सट्टापट्टा हुने गरी रगत लिने दिने भइरहेको उल्लेख गर्दै रगतको अभाव हटाउन रक्तदान बढाउन जरुरी भएको बताए । उनले भने, ‘अहिले केही संस्थाले फाटफुट रुपमा रक्तदान गरिरहेका छन् तर यो प्रर्याप्त छैन ।’

उनले केहीदिनमा अर्को संस्थाले पनि रक्तदान गर्न लागेको जानकारी दिँदै केही पिन्ट रगत त्यहाँबाट पनि संकलन हुने बताए । नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगन्जका अनुसार कोहलपुरमा आठ अस्पतालका लागि २० देखि २५ पिन्ट र खजुराका दुई अस्पतालका लागि १० देखि १२ पिन्ट रगतको दैनिक माग भइरहेको छ । नेपालगन्जका २७ अस्पतालका लागि करिब ८० पिन्ट रगतको माग भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ६ गते शनिबार