वीरेन्द्र जैसी । नेपालगन्ज ।
नौ वर्षमा २ ओटा ठेक्का लगाउँदा पनि करिब २ किलोमिटर सडक निर्माण पूरा गर्न सकेको छैन, त्यो पनि गाउँपालिकाको केन्द्र र दैनिक हजारौँ नागरिकहरूले प्रयोग गर्ने सडक भन्ने सुन्दा अचम्म लाग्ला । तर, बाँकेको खजुरा गाउँपालिकाको केन्द्र खजुरा बजारमा पर्ने हुलाकी राजमार्ग अन्तर्गतको सडकको करिब १८ सय मिटर सडकखण्डले राज्य र निर्माण व्यवसायीहरूलाई गिज्याइरहेको छ ।
सुरुमा सडक डिभिजन नेपालगन्जले करिब ९ वर्षअघि चार लेनमा स्तरोन्नति गर्ने गरी गजुरमुखी निर्माण सेवा इलामलाई निर्माणको जिम्मा दिएको उक्त सडकखण्डलाई गजुरमुखीले ६ वर्षसम्म निर्माण पनि सम्पन्न गरेन भने सरकारले उसँगको ठेक्का सम्झौता पनि समयमा अन्त गर्न सकेन । ८ वर्षपछि उक्त सडकखण्ड हुलाकी राजमार्ग निर्देशनालय नेपालगन्जमार्फत ठेक्का अन्त गरेर गत वर्ष मैटवा एनएसटी स्ट्रेटलाइन जेभी नामको कम्पनीलाई ठेक्का दिइयो ।
तर उक्त कम्पनीले पनि २०८२ को असार मसान्तसम्ममा काम सकिसक्ने सम्झौता गरेकोमा अझै आधाभन्दा बढी काम अधुरै छोडेर म्याद गुजारेको छ । म्याद गुज्रेपछि उक्त कम्पनीसँग पनि तीन महिनाको म्याद थप गरिएको छ । थपिएको अवधिमा पनि काम सकिनेमा खजुरावासी विश्वस्त छैनन् । अहिले फेरि उक्त सडकको निर्माण कार्य रोकिएको छ । केही भाग नाली तथा फुटपाथ निर्माण पनि अधुरै छ भने अस्फाल्ट ओभरलेको काम पनि बाँकी छ ।
स्थानीय नागरिक तथा यात्रुहरूले धुवाँ धुलो र पानी पर्दा हिलाम्मे सडक भोग्दै नौ वर्ष बितिसकेको छ । यस अवधिमा धुवाँधुलोले नागरिकहरूको स्वास्थ्यमा पनि असर गरिरहेको छ भने व्यपार व्यवसायमा पनि नोक्सानी व्यहोर्नुपरिरहेको छ । हुलाकी सडक निर्देशनालय नेपालगन्जका इन्जिनियर टोपेन्द्र खड्काले अब असोज मसान्तभित्र निर्माण सक्नेगरी तीन महिना म्याद थपिएकोमा अहिले वर्षाका कारण काम रोकिएको बताए । निर्माण कम्पनी सम्पर्कमा रहेको र भदौबाट काम सुरु गर्ने बताइरहेको उनको भनाइ छ ।
सम्झौताबमोजिमको म्यादमा निर्माण कार्य नसकिनुमा इरान र अमेरिका युद्धका कारण बिटुमिन लगायतका निर्माण सामग्रीको मूल्य बढ्नु तथा अभाव सिर्जना हुनु मुख्य कारण रहेको खड्काको भनाइ छ । अब थपिएको म्यादभित्रै सबै काम सक्नेगरी कम्पनीलाई ताकेता गरिरहेको उनले बताए । ‘अबको मुख्य काम अस्फाल्ट ओभरले गर्ने हो । त्यसका लागि एकदेखि दुई महिना लाग्छ । अहिले पानी परेको बेला अस्फाल्ट हाल्दा बलियो नहुने भएकोले केही पर्खिएको हो,’ खड्काले भने । उनले अहिले निर्माण सामग्री पनि उपलब्ध भैसकेको कम्पनीले बताएको पनि उनले सुनाए ।
सुरुमा ठेक्का पाएको निर्माण कम्पनी गजुरमुखी कन्सट्रक्सनले निर्माण पूरा नगरेको र गुणस्तरहीन काम गरेको भन्दै ठेक्का सम्झौता तोडेर कारबाहीको प्रक्रिया अघि बढाएपछि पुनः उक्त कम्पनीले अदालतमा मुद्दा हालेर सात वर्षसम्म उक्त सडकलाई बन्धक बनाएर राखेको थियो । २०७४ साल चैत २९ गते सम्झौता भएर २०७७ साल चैत मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी खुकुलो समय दिएर ठेक्का लगाइएको भए पनि उक्त सडक समयमा त निर्माण भएन भएन, सडकको गुणस्तर पनि यति कमसल भयो कि स्थानीय नागरिकहरूले विरोध गर्दै पटक पटक सडकमा आन्दोलन गर्नुप¥यो ।
नागरिकहरूको आवाजलाई निर्माण कम्पनीले त बेवास्ता ग¥यो नै सडक डिभिजनले पनि सुनुवाइ गरेन । तीन वर्षको सम्झौता रहेकोमा ६ वर्षपछि बल्ल सडक डिभिजनले समयमा काम पूरा गर्न नसकेको भन्दै २०८० साउन २८ गते सम्झौता रद्द गरेको सूचना जारी गरेको थियो । सडक निर्माणमा ठेकेदारले गरेको काममा अनुगमन गर्ने र नियमन गर्ने काममा सडक डिभिजनले गरेको गल्तीको अर्काे उदाहरण खजुरा क्षेत्रमा पुरानो पिच नभत्काइकनै माथिबाट ग्रिन बेल्ड बनाइएको भेटिनु पनि हो । त्यसरी बनाइएको ग्रिन बेल्टमा लगाइएका बिरुवाहरू नहुर्किएपछि खजुरा गाउँपालिकाले खनेर फेरि माटो भर्नुपरेको थियो ।
पहिले गरिएको कालोपत्रे उबडखाबड छ । नाली क्षेत्र राम्ररी निर्माण गरिएको थिएन । बीचको डिभाइडरमा पनि माटो नभरेर अलपत्रै छाडिएको छ । यसैगरी नालीभन्दा बाहिर फुटपाथ निर्माण गर्नुपर्नेमा सडकपट्टी फुटपाथ बनाइएर सडक साँघु¥याइएको भन्दै स्थानीहरूले विरोध जनाइसकेका छन् । खजुराका नागरिकहरू अहिले उक्त सडकको हालत देखेर सबै तहका सरकारसँग आक्रोशित छन् ।
बाँकेको खजुरा गाउँपालिकाको खजुरा बजारका व्यापारी रोहन गुप्ताले पहिले कपडाको व्यापार गर्दै आएका थिए । तर, सडक निर्माणमा भएको ढिलाइले धुलो उडेर कपडाहरु बिगार्दा उनको कपडाको व्यापार नै बर्बाद भयो । त्यसपछि उनले कपडाको व्यापार छोडेर पसलमा भगवानमा फोटोहरु राखे । ती फोटोहरु पनि अहिले धुलोले बिग्रिएका छन् । ‘जति सफा गरे पनि धुलोबाट जोगाउन सकिएन । धुलोकै कारण पहिले कपडाको पसल चौपट भयो । फोटोहरु बेच्न राखेँ । ती पनि धुलो जमेर बिग्रिएपछि व्यापार भएन । अहिले तरकारीको व्यापार गरिरहेको छु । तरकारी पनि धुलोले गर्दा पूरै बिग्रिन्छ । ग्राहकहरु किन्न मन गर्दैनन्,’ रोहनले भने ।
खजुरा बजारको सडकखण्डमा पर्ने पेडारी नालाको पुल पनि निर्माण भइसके पनि फिनिसिङको काम बाँकी छ । पुलको दुईतर्फ ५०–५० मिटर सडक पनि निर्माण कार्य पनि रोकिएको छ । पेडारी नालामा निर्माणाधीन पुलछेउमै खाजा नास्ता पसल सञ्चालन गर्दै आएकी वर्षा मल्लले सडकबाट उड्ने धुलोका कारण आफ्नो व्यापार नै चौपट भएको बताइन् । ‘ग्राहकहरु नास्ता खान आउँदा टेबुलदेखि भान्सासम्ममा धुलो जमेको देखेपछि नखाएरै फर्किन्छन् ।
सडक आज बन्ला, भोलि बन्ला भन्दाभन्दै नौ वर्ष बितिसक्यो । ढिलाइले हामीलाई भएको क्षति र मर्का कसले बुझिदिने ?’ मल्लले भनिन् । खजुरा बजारमै ब्युटीपार्लर सञ्चालन गर्दै आएकी गिता गिरीले धुलोका कारण पटक पटक बिरामी भइरहेको बताइन् । ‘साँझको समयमा यहाँ धुलोले सासै फेर्न सकिन्न । एक दुई दिनको कुरा भए पो नौ वर्षदेखि यस्तै सास्ती खाइरहेका छौँ । राज्यले यस्तो किन गरेको हो बुझ्नै सकिएको छैन,’ गिरीले भनिन् ।
पेडारी नालामाथिको पुल निर्माण पनि अधुरै
नेपालगन्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको खजुरामै पर्ने पेडारी नालामाथिको करिब ६ दशक पुरानो पुलको ठाउँमा नयाँ पुल निर्माण गरिएको छ । पुलको मुख्य भाग निर्माण सकिए पनि समयमै पुल निर्माणको सबै काम पूरा भएको छैन । २०८२ जेठ १९ गते सम्झौता भएकोमा २०८३ वैशाख १९ गतेभित्र पुल निर्माण गरिसक्ने लक्ष्य थियो । तर, अहिले पुलको मुख्य संरचना बने पनि फिनिसिङ कार्य पूरा भएको छैन । उक्त पुलको निर्माणको ठेक्का नारायणम निर्माण सेवा प्रालिले आठ करोड ९६ लाख तीन हजार चार सय ६८ रूपैयाँमा पाएको थियो ।
हुलाकी सडक निर्माण गर्दा र खजुरा बजारको सडक विस्तार गर्दा पनि योजनामा छुटाइएको उक्त पुललाई विस्थापित गरेर नयाँ २२ मिटर चौडा पुल निर्माण गरिएको हो । पुलको मुख्य संरचना बनिसकेको छ भने पुलको दायाँ बायाँ खोलाको बहाव छेक्ने तटबन्ध निर्माण कार्य पूरा भएको छ । तर, पुलको दुईतर्फ ५०–५० मिटर सडक भने अधुरै छ । पुलको निर्माणका लागि पनि तीन महिना म्याद थपिएको इन्जिनियर खड्का बताउँछन् ।
३४ दशमलव चार मिटर लम्बाइ रहेको पुलमा ११–११ मिटरका दुईवटा पुल गाँसेर तयार गरिएको छ । अब पुल र पुलको दुवैतर्फ कालोपत्रे तथा अस्फाल्ट ओभरले गर्ने काम बाँकी रहेको खड्काले बताए । नेपालगन्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको खजुरामै पर्ने पेडारी नालामाथिको करिब ६ दशक पुरानो पुलको ठाउँमा नयाँ पुल निर्माण गरिएको छ । पुलको मुख्य भाग निर्माण सकिए पनि समयमै पुल निर्माणको सबै काम पूरा भएको छैन ।
२०८२ जेठ १९ गते सम्झौता भएकोमा २०८३ वैशाख १९ गतेभित्र पुल निर्माण गरिसक्ने लक्ष्य थियो । तर, अहिले पुलको मुख्य संरचना बने पनि फिनिसिङ कार्य पूरा भएको छैन । उक्त पुलको निर्माणको ठेक्का नारायणम निर्माण सेवा प्रालिले आठ करोड ९६ लाख तीन हजार चार सय ६८ रूपैयाँमा पाएको थियो । हुलाकी सडक निर्माण गर्दा र खजुरा बजारको सडक विस्तार गर्दा पनि योजनामा छुटाइएको उक्त पुललाई विस्थापित गरेर नयाँ २२ मिटर चौडा पुल निर्माण गरिएको हो ।
पुलको मुख्य संरचना बनिसकेको छ भने पुलको दायाँ बायाँ खोलाको बहाव छेक्ने तटबन्ध निर्माण कार्य पूरा भएको छ । तर, पुलको दुईतर्फ ५०–५० मिटर सडक भने अधुरै छ । पुलको निर्माणका लागि पनि तीन महिमा म्याद थपिएको इन्जिनियर खड्का बताउँछन् । ३४ दशमलव चार मिटर लम्बाइ रहेको पुलमा ११–११ मिटरका दुईवटा पुल गाँसेर तयार गरिएको छ । अब पुल र पुलको दुवैतर्फ कालोपत्रे तथा अस्फाल्ट ओभरले गर्ने काम बाँकी रहेको खड्काले बताए ।









प्रतिक्रिया दिनुहोस्