बाँकेमा खेल पूर्वाधार निर्माणका लागि १५ करोड बजेट



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

चालू आर्थिक वर्ष २०८३–०८४ मा संघीय सरकारका दुई मन्त्रालयअन्तर्गत बाँकेमा खेलकुद पूर्वाधार निर्माणका लागि १५ करोड बजेट विनियोजन गरिएको छ । संघीय सरकार अन्तर्गतका शिक्षा तथा खेलकुद मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयले खेलकुद पूर्वाधार निर्माण शीर्षकमा कूल १५ करोड ५० लाख बजेट विनियोजन छन् ।
बाँके जिल्लाका विभिन्न पालिकामा बन्ने खेल पूर्वाधार निर्माणका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले ६ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

यस्तै पूर्वाधार विकास मन्त्रालयले खेल पूर्वाधार निर्माण, स्तरोन्नति शीर्षकमा ९ करोड बजेट विनियोजन गरेको छ । जसअन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक नीति कार्यक्रम र बजेटमा ‘नेपालगन्ज रंगशाला मर्मतसम्भार बाँके’ शीर्षकमा ३ करोड बजेट विनियोजन गरिएको छ । यसैगरी, कोहलपुर क्रिकेट रंगशाला तथा महिला क्रिकेट एकेडेमी निर्माण शीर्षकमा मन्त्रालयले ३ करोड बजेट विनियोजन गरेको छ । मन्त्रालयले पोखरा, काठमाडौँ र नेपालगन्ज अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजनाका लागि १ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ ।

जसमा नेपालगन्ज म्याराथन आयोजनाका लागि ५० लाख रूपैयाँ विनियोजन गरिएको हो । सोही मन्त्रालयको ‘विभिन्न आयोजनाको सम्भाव्यता अध्ययन, डीपीआर, ईआईए ‘कोहलपर, पोखरा, महेन्द्रनगर क्रिकेट रंगशाला, धनगढी, इटहरी नारायणी रंगशाला, फुटबल रंगशालालगायत’ शीर्षकमा कूल २० करोड २० लाख रूपैयाँ विनियोजन गरिएको छ । फागुन २१ गतेको निर्वाचनमा दुईतिहाइ बहुमत ल्याएर एकल सरकार सञ्चालन गरिरहेको वर्तमान सरकारले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।

खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका दश वटा रंगशालालाई फ्लड लाइटसहित स्तरोन्नति गरिने सरकारको लक्ष्य छ । यस्तै देशभरका आठ प्रमुख सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको महत्वाकांक्षी योजना छ ।पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८३–०८४ को सहरी विकास, भवन, आवास तथा स्थानीय पूर्वाधार विकासतर्फ वार्षिक विकास कार्यक्रमअन्तर्गत बाँकेमा करोडौँका भौतिक संरचना निर्माण हुने भएका छन् ।

खेल पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै पूर्वाधार विकास मन्त्रालयद्वारा प्रकाशित वार्षिक विकास कार्यक्रम (रेड बुक २०८३)अनुसार बाँकेमा करोडौँका संरचना निर्माण हुने भएका हुन् । मन्त्रालयअन्तर्गत नेपालगन्ज रंगशालामा फुटबलको फ्लड लाइट जडानसहितको मैदान स्तरोन्नति (होम एण्ड अवेका लागि ) ३ करोड बजेट विनियोजन गरिएको छ । यसैगरी कोहलपुर–२ तेह्र बिघास्थित कोहलपुर फुटबल रंगशालाको फ्लड लाइट जडानसहितको मैदान स्तरोन्नति (होम एण्ड अवेका लागि ) ३ करोड बजेट विनियोजन भएको छ ।

कोहलपुर– ११ स्थित कोहलपुर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण कार्य (क्रिकेटको होम एण्ड अवे मैदानका लागि) ३ करोड विनियोजन गरिएको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका उल्लेखित योजनाहरू सघन सहरी तथा भवन निर्माण कार्यालय बाँकेमार्फत कार्यान्वयन हुनेछन् । कोहलपुर गोल्डकपका संयोजक कर्ण बस्नेतले कोहलपुरमा खेल संरचना निर्माणका लागि संघीय सरकारले उच्च प्राथमिकता दिएको बताए । उनका अनुसार कोहलपुर फुटबल र क्रिकेटको हबको रूपमा स्थापित हुँदैछ । खेलकुदका माध्यमबाट कोहलपुरलाई चिनाउनको लागि खेलकुद संरचनाले निकै ठूलो भूमिका खेल्ने उनी बताउँछन् ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीका अनुसार वर्तमान सरकारले कोहलपुरमा खेल पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ । कोहलपुरको गौरवको रूपमा रहेको क्रिकेट रंगशाला स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको भन्दै उनले सरकारले धन्यावाद प्रकट गरे । नेकपा एमाले नेपालगन्ज कमिटीका अध्यक्ष मोहित शाहले सामाजिक सञ्जाल फेसबुकम लामो स्ट्याटस पोष्ट गर्दै लेखेका छन्, ‘नेपालगन्ज रंगशाला केवल खेल मैदान मात्र नभएर नेपालगन्जको पहिचान, गौरव र भावी पुस्ताको सपना हो ।’

करिब ५८ करोड रूपैयाँको लागतमा निर्माण भएको रंगशालामा आधुनिक खेल परिसरभित्र पौडी पोखरी, सुटिङ रेन्ज हल, भारोत्तोलन एकेडेमी, कबड्डी हल, ह्यान्डबल कोर्ट, बास्केटबल कोर्ट, भूमिगत तार जडानसहितको विद्युतीकरण, ब्यूटी यार्ड लगायतका तमाम महत्वपूर्ण भौतिक संरचनाहरू निर्माण भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार