नेपालगन्जमा एकैदिन ६ वटा शालिक अनावरण



नेपालगन्ज ।

नेपालगन्जमा जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका तथा ढलाइएकासहित ६ वटा शालिकहरुको निर्माण, पुनर्निमाण तथा पुनःस्थापनापश्चात् एकसाथ अनावरण गरिएको छ । शनिबार अनावरण गरिएका शालिकहरुमा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नवनिर्माण गरिएको शालिक र २० वर्षअघि तोडफोड गरिएको पूर्वराजा वीरेन्द्र शाहको शालिकसमेत रहेको छ । यसैगरी जेनजी आन्दोलनका क्रममा ढलाइएका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला, नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ तथा २०६२–६३ को जनआन्दोलनका क्रममा सहादत भएकी सेतु विकको सालिक पनि पुनर्निर्माणपश्चात् अनावरण गरिएको हो ।

यसैगरी सामान्य तोडफोड गरिएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको शालिक पनि मर्मतपश्चात् अनावरण गरिएको छ । गत वर्ष भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा नेपालगन्जमा रहेका पूर्वराजा त्रिभुवनको शालिकबाहेक सबै राजनीतिक व्यक्तिका शालिकहरु तोडफोड गरिएका थिए । त्यसपश्चात् लामो समयसम्म कुरुप अवस्थामै रहेका चोकहरु पुनर्निर्माणको योजना नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गरेको थियो ।

त्यही योजनाअन्तर्गत नेपालगन्जको ट्राफिक चोकमा वर्तमान संविधान निर्माणको समयमा प्रधानमन्त्री रहेका कोइरालाको शालिक निर्माण पनि गरिएको छ भने २०६२–६३ को जनआन्दोलनका क्रममा ढालिएको पूर्वराजा शाहको शालिक पुनर्निर्माण गरी पुनःस्थापना पनि गरिएको छ । शालिकहरु पुनःस्थापनाका क्रममा चोकहरुको सौन्दर्यीकरण पनि गरिएको छ । एकसाथ शालिकहरु पुनःस्थापना तथा चोकहरुको सौन्दर्यीकरणले सहरकै सौन्दर्य बढाएको र इतिहासको पनि सम्मान भएको नगरवासीहरुले प्रतिक्रिया दिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाकी पूर्वउपमेयर उमा थापामगरले इतिहासको जगेर्ना गर्नु सरकारको दायित्व हुने र उक्त दायित्व नेपालगन्ज उपमहानगरपालिकाले पूरा गरेकोमा खुसी व्यक्त गरिन् । ‘हिजो जसले लँडेको लडाइँबाट आज हामीले अधिकारको उपयोग गर्न पाइरहेका छौँ । अब आउने आन्दोलनमा यस्ता इतिहासहरु सम्झाउने शालिकमाथि कसैले आक्रमण नगरोस् भन्ने कुरामा हामी सबै सचेत हुन जरुरी छ,’ थापामगरले भनिन् ।

नेपालगन्जमा शालिक पुनःस्थापनका क्रममा पछिल्लो समय विवादमा रहेको शालिक पूर्वराजा वीरेन्द्रको शालिक थियो । वीरेन्द्र चोक पनि भनिने धम्बोझी चोकमा रहेको राजा वीरेन्द्रको शालिक पुनःस्थापना गर्नुपर्ने माग राजावादी नागरिकहरुको थियो । तर कम्युनिष्ट तथा मधेशवादी राजनीतिक दलसहित २०६२–६३ को जनआन्दोलनका पक्षधरहरुले राजाको शालिक स्थापना गर्न नहुने भन्दै विरोध गर्दा समय समयमा तनाव उत्पन्न हुने गरेको थियो ।

पछिल्लोपटक अन्य राजनीतिक दलका आस्था रहेका ऐतिहासिक व्यक्तित्वका पनि शालिक ढालिएपछि सबै पक्षहरु पहिले स्थापना भएका सबै शालिकहरु पुनःस्थापना गर्ने कुरामा राजी भए । त्यसमा नेपालगन्ज उपमहनानगरपालिकाको समन्वयकारी भूमिका पनि प्रभावकारी रह्यो । पूर्वराजा शाहको शालिक पुनःस्थापनाको अभियान नै सञ्चालन गरेका तेजविक्रम शाहले पक्षपातबिना इतिहासको सम्मान हुनेगरी सबै शालिक पुनःस्थापना गरिएकोमा खुसी व्यक्त गरे ।

शाहले भने, ‘कुनै पनि शालिक इतिहासको पहिचान हुन् । कुनै पनि शालिक भत्काइनुले इतिहासलाई न्याय गर्दैन । अहिले सबै शालिक पुनःस्थापना गरेर सराहनीय काम नेपालगन्ज उपमहानगरपालिकाले गरेको छ ।’ सबै शालिकहरुको पालैपालो अनावरणपश्चात् नगरप्रमुख प्रशान्त विष्टले इतिहास, संस्कृति र समाजका विभिन्न कालखण्डसँग जोडिएका व्यक्तित्वहरूको सम्मान गर्नुका साथै सार्वजनिक सम्पदाको संरक्षण गर्नु उपमहानगरपालिकाको प्रमुख दायित्व भएको र उक्त दायित्व पूरा गरेको बताए ।

उनले भने, ‘अर्काको इतिहासलाई अपमान गरेर आफ्नो इतिहासको सम्मान हुँदैन । त्यसैले हामीले इतिहासलाई सम्मान हुनेगरी शालिकहरु पुनःस्थापना गरेका छौँ ।’
सबै शालिक निर्माण तथा पुनर्निर्माणमा करिब ७८ लाख रुपैयाँ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ । सुशील कोइरालाको अर्धकदको शालिक निर्माणमा करिब २३ लाख रुपैयाँ, गणेशमान सिंहको शालिक मर्मत तथा चोक सौन्दर्यीकरणमा तीन लाख ३१ हजार, वीपी कोइरालाको पूर्णकदको शालिक ९ लाख ७५ हजार रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

यस्तै, धम्बोझी चोकस्थित स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहको पूर्णकदको शालिक निर्माणमा नौ लाख ८२ हजार, पुष्पलाल श्रेष्ठको शालिक निर्माणमा नौ लाख ८७ हजार रुपैयाँ र सेतु विकको अर्धकदको शालिक निर्माणमा चार लाख ८३ हजार रुपैयाँ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ । यसबाहेक चोकहरूको सौन्दर्यीकरणका लागि थप १८ लाख रुपैयाँ पनि खर्च गरिएको छ ।

नेपालगन्जको शालिक ढल्ने र ठडिने इतिहास

नेपालगन्जमा शालिकहरु ढालिने र नयाँ शालिक स्थापना हुने तथा पुनःस्थापना हुने क्रम २००७ सालको जनआन्दोलनदेखि नै सुरु भएको हो । विसं १९९९ सालतिर तत्कालीन चोकबजारको मध्यभाग अर्थात् हालको त्रिभुवन चोकमा राणा प्रधानमन्त्री जुद्ध समशेरको शालिक स्थापना गरिएको थियो । तर, विसं २००७ सालको जनआन्दोलनका बेला आन्दोलनकारीको निशानामा जुद्ध समशेरको शालिक प¥यो । उनीहरुले शालिक तोड्न खोजे तर श्रीपेच ढाल्नेबाहेक अरु कुनै क्षति पुगेन ।

जुद्ध समशेरको सालिक श्रीपेचविहीन अवस्थामा चोकमा रहिरहेकै अवस्थामा २०१६ सालतिर नगरपालिकाको बोर्डले जुद्ध समशेरको शालिक हटाएर त्यहाँ अन्तर्राष्ट्रिय मान्यताको ट्राफिक पोष्ट बनाउने निर्णय ग¥यो । त्यसपछि उक्त ठाउँमा र चोकबजारबाट जुद्ध समशेरको शालिक हटाइयो र त्यहाँ ट्राफिक पोष्ट बनाइयो । त्यसपछि विसं २०२१ सालतिर तत्कालीन नगर पञ्चायतले राजा त्रिभुवनको शालिक चोक बजारमा स्थापित ग¥यो ।

त्यसपछि २०६२–६३ को जनआन्दोलनमा फेरि पूर्वराजा त्रिभुवन र राजा वीरेन्द्रका शालिकहरु निशानामा परे । तत्पश्चात् जीर्ण बनेका चोकमा राष्ट्रिय झण्डा मात्रै फहराइएका थिए । त्रिभुवन चोक मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका कमल गिरी र गुल्जार खाँको नामाकरण हुनुपर्ने भन्दै माग अघि सारिए पनि उक्त नाममा राजनीतिक सहमति जुटेन । अन्ततः राजवादीहरुले गरेको लामो प्रयासपछि उपमहानगरपालिकाका तत्कालीन मेयर डा. धवलशमशेर राणाको समर्थनमा २०७८ साल फागुन ६ गते त्रिभुवनको शालिक पुनःस्थापना गरियो ।

यता पूर्वराजा वीरेन्द्रको शालिक राजावादीहरुले प्रशासन तथा आधिकारिक अनुमतिबिना पटक पटक पुनस्थापना गरे पनि विवाद उत्पन्न भएपछि प्रशासनले हटाएको थियो । अहिले राजनीतिक सहमति र उपमहानगरपालिकाको पहलमै पूर्वराजा वीरेन्द्रको शालिक पनि पुनःस्थापना भएको छ । हरेक आन्दोलनमा सत्तामा रहेकाहरुको इतिहास झल्काउने शालिक भत्काउने गलत प्रवृत्तिबाट पछिल्लो जनआन्दोलन जेनजी आन्दोलन पनि अछुतो रहेन । उक्त आन्दोलनमा ढालिएका दिवंगत नेताहरुका शालिक करिब एक वर्ष पुग्नै लाग्दा पुनः ठडिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार