बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बढ्दै पर्यटक



बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो चार वर्षमा कूल १ लाख ५ हजार ५४८ पर्यटक भित्रिएका छन् । बाँके राष्ट्रिय निकुञ्जमा सोही समयमा कूल ३ हजार ८९६ जना मात्र स्वदेशी तथा विदेशी पर्यटक भित्रिएका हुन् । बर्दियामा विगत आर्थिक वर्षभन्दा आर्थिक वर्ष २०८२–०८३ मा पर्यटक आगमनको सङ्ख्या घट्दा बाँकेमा भने विगतको तुलनामा ह्वात्तै पर्यटकको सङ्ख्या बढेको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

लुम्बिनी प्रदेशका दुई प्रमुख पर्यटकीय गन्तव्य हुन्,– बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज । जहाँ पछिल्ला केही वर्षयता निरन्तर पर्यटकको आगमन बढ्दो छ । लुम्बिनीसहित पश्चिम नेपालका प्रमुख पर्यटकीय स्थलका रूपमा रहेका दुवै निकुञ्जमा बर्सेनि पर्यटक आगमनको सङ्ख्या बढ्दै गएको हो । विस २०३२ सालमा बाघ र अन्य लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज पछिल्लो समय पाटेबाघ, एकसिंगे गैंडा र हात्ती अवलोकन तथा जंगल सफारीका लागि प्रख्यात छ ।

पाटेबाघको संरक्षण र जैविक मार्ग जोगाउने मुख्य उद्देश्यका साथ विसं २०६७ असार २८ गते स्थापित बाँके राष्ट्रिय निकुञ्ज पाटेबाघ, चितुवा, जंगली हात्ती, चौसिङ्गा र विविध प्रजातिका चराहरू, हात्तीसार र जंगल सफारीका लागि प्रसिद्ध छ । तीमध्ये बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला चार आर्थिक वर्षमा मात्रै कूल कूल १ लाख ५ हजार ५४८ जना पर्यटक भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७९–८० देखि आर्थिक वर्ष २०८२–०८३ सम्मको तथ्यांक हेर्दा निकुञ्जमा बर्सेनि पर्यटकहरूको आगमनको सङ्ख्या निरन्तर उकालोमा छ । निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० मा बर्दिया राष्ट्रिय निकुञ्जमा २४ हजार तीन सय २४ जनाले भ्रमण गरेका थिए । त्यतिबेला राजस्व संकलनमार्फत दुई करोड २२ लाख आम्दानी भएको थियो ।

यस्तै, निकुञ्जमा आर्थिक वर्ष २०८०–०८१ मा स्वदेशी, सार्क र विदेशी गरी २६ हजार एक सय ३१ जना भित्रिएका थिए । उक्त वर्ष निकुञ्जले दुई करोड ८४ लाख आम्दानी गरेको थियो । आर्थिक वर्ष २०८१–०८२ मा बर्दिया राष्ट्रिय निकुञ्जमा २८ हजार ६८ जना पर्यटक आएका थिए । तीमध्ये १९ हजार १० नेपाली, १ हजार ५ सय ४० सार्क मुलुकका र ७ हजार ५ सय १८ विदेशी पर्यटक रहेको तथ्यांक छ । गत आर्थिक वर्ष २०८२–०८३ मा आर्थिक वर्ष २०८१–०८२ मा तुलनामा कम पर्यटकले अवलोकन गरेका थिए । आर्थिक वर्ष २०८२–०८३ को २०८२ को साउन १ देखि २०८३ असार ३२ गतेसम्म निकुञ्जमा कूल २७ हजार २५ जनाले पर्यटक आएको निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी महेश न्यौपानेले बताए ।

उनका अनुसार तीमध्ये १८ हजार ९०७ जना नेपाली, सार्क मुलुकका १ हजार २१७ र ६ हजार ९०१ जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्नेहरूमध्ये ४०१ महिला र ८१६ सार्क राष्ट्रका तथा २ हजार ९७७ महिला र ३ हजार ९२४ जना पुरुष विदेशी पर्यटक रहेको सूचना अधिकारी न्यौपानेले बताए । निकुञ्जले गत आवमा पर्यटक प्रवेश शुल्क, क्यापिङ, माछा मार्ने, ¥यापिङ,जंगल सफारी, दण्ड जरिबाना, गाइड परिचयपत्र दर्ता तथा नवीकरण शुल्क, वन रोयल्टी, अन्य प्रशासनिक सेवा शुल्क, प्रशासनिक दण्ड जरिबाना, बेरुजु र जफत लगायतका शीर्षक गरी कूल ४ करोड ५९ लाख १६ हजार ३६० रूपैयाँँ राजस्व संकलन गरेको छ ।

सूचना अधिकारी न्यौपानेका अनुसार कार्यालयले निकुञ्जमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ गरिरहेको छ । हरेक वर्ष देशविदेशका हजारौँ पर्यटक घुम्न आउने गरेको उनले बताए । पर्यटक आगमनले बर्दियाको आर्थिक क्षेत्र चलायमान हुनुका साथै पर्यटकीय गतिविधिसमेत बढिरहेको उनको भनाइ छ । पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराई भन्छन्, ‘अहिले पर्यटक आगमन सन्तोषजनक छ, यसले होटल तथा अन्य व्यवसायलाई चलायमान बनाएको छ । होटल व्यवसायसमेत बढिरहेको अवस्था छ ।’ पर्यटकको बढ्दो उपस्थितिसँगै स्थानीय व्यापारी तथा होटल व्यवसायीहरू उत्साहित भएका छन् ।

उनीहरूका अनुसार, पर्यटक आगमनले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै रोजगारीका अवसरसमेत सिर्जना गरेको छ । पर्यटन व्यवसायी रामजी थापाका अनुसार निकुञ्ज प्राकृतिक रूपमा अत्यन्त मनमोहक छ । बबई उपत्यकाको रमणीयता, शान्त वातावरण र पाटेबाघको आकर्षणका कारण टाढा टाढाबाट पर्यटक आउने गरेका छन् । निकुञ्जसँगै पर्यटकहरू खाता जैविक मार्ग, डल्ला र पत्थरबोझी क्षेत्रको समेत अवलोकन गर्ने गर्छन् । साथै, निकुञ्जभित्र रहेको गोही तथा घडीयाल प्रजनन केन्द्र, थारू संग्रहालय, दृष्टिविहीन गैंडा र समस्याग्रस्त बाघ राखिएको संरचना पनि पर्यटकका लागि आकर्षणका केन्द्र बनेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन निराशाजक 

३५ वर्ष जेठो बर्दिया राष्टिय निकुञ्जमा चार वर्षमा १ लाख पर्यटक भित्रिँदा बाँके राष्ट्रिय निकुञ्जमा भने पर्यटक आगमन निराशाजनक छ । नेपालको १०औँ राष्ट्रिय निकुञ्जका रूपमा २०६७ सालमा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनको सङ्ख्या निकै न्यून देखिन्छ । पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा आर्थिक वर्षदेखि २०७५–०७६ देखि २०८२–०८३ सम्मको तथ्यांक हेर्दा कूल ३ हजार ८९६ जना मात्र स्वदेशी तथा विदेशी पर्यटक भित्रिएका छन् । आर्थिक वर्ष २०७५–०७६ मा निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक घुम्न आएको निकुञ्जको तथ्यांक छ ।

आर्थिक वर्ष २०७७–०७८ मा ८९९ पर्यटकले निकुञ्जको भ्रमण गरेको निकुञ्जले जनाएको छ । तीमध्ये ८६५ आन्तरिक पर्यटक रहेका छन् । २० जना सार्क मुलुकका तथा १४ पर्यटक अन्य मुलुकका रहेको निकुञ्जको तथ्यांकमा उल्लेख छ । यस्तै आर्थिक वर्ष २०७९–०८० मा ३१७ जना र आर्थिक वर्ष २०८०–०८१ मा ४४४ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । आर्थिक वर्ष २०८१–०८२ मा कूल ६२० जना र आर्थिक वर्ष २०८२–०८३ मा कूल १ हजार ४६६ जना आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।

बाँके राष्ट्रिय निकुञ्जका रेन्जर सुपुष्प रेग्मीले आर्थिक वर्ष २०८२–०८३ मा ४८३ महिला र ७८८ जना पुरुष गरी १ हजार २७१ जना नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेको बताए । उनका अनुसार उक्त अवधिमा २९ जना महिला र १५२ जना पुरुष गरी १८१ जना सार्क राष्ट्रका पर्यटक भित्रिएका थिए । यस्तै २ जना महिला र १२ जना पुरुष गरी १४ जना विदेशी पर्यटकले बाँके राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८२–०८३ मा ४ लाख ३२ हजार १५५ रूपैयाँँ राजस्व संकलन गरेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेल पछिल्ला केही वर्षयता पर्यटकको सङ्ख्या बढ्दै गएको बताउँछन् । उनका अनुसार निकुञ्जले पर्यटकमैत्री कार्यक्रम ल्याएको छ । ‘त्यसका लागि हामीले पानी पोखरी निर्माण गरेका छौँ । पछिल्लो समय पर्यटकहरूले बाघ सजिलै देख्छन् । त्यही भएर पर्यटकहरूको सङ्ख्या बढेको हो,’ उनले भने । पर्यटक घुमाउनका लागि होमस्टे तथा होटल व्यवसायीले प्रसस्त मात्रामा सफारी गाडीको व्यवस्था गर्नसके निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या बढ्ने कँडेलको भनाइ छ ।

बाँके राष्ट्रिय निकुञ्ज बाघसँगै घना साल जंगल, चुरे पहाड, कलकल बग्ने खोलानाला र दुलर्भ वन्यजन्तुले पर्यटकलाई लोभ्याउने गर्छन् । सामुदायिक गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्ण चौधरी बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको बताँछन् । उनका अनुसार निकुञ्जको विशेष आकर्षणको रूपमा रहेको पाटेबाघ र यस निकुञ्जमै मात्र पाइने चौसिंङ्गा हेर्न धेरै आउँछन् । नेचर गाइड एसोसियसन बाँकेका अध्यक्ष भीम डाँगीले पर्यटकको सहजताका लागि आफूहरूले नेचर गाइड र सफारी गाडीको व्यवस्था गरेको बताए ।
०००००

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ९ गते शनिबार