गणेश रावत । कोहलपुर ।
धेरै मानिसका लागि भित्ता भनेको केवल इँटा, सिमेन्ट र रङ पोत्ने ठाउँ हो । तर नेपालगन्जका पेन्टर राजेश परियारका लागि भित्ता एउटा क्यानभास हो, जहाँ उनले आफ्नो कल्पना, सीप र जीवनका अनुभव उतार्दै आएका छन् । विगत ३५ वर्षदेखि उनी सार्वजनिक भित्ताहरूलाई कलाको माध्यमबाट बोल्न सिकाइरहेका छन् ।
अहिले कोहलपुर नगर विकास समितिको सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत उनी नगरका भित्ताहरूमा नेपालको पहिचान, स्थानीय संस्कृति, धार्मिक सम्पदा, वन्यजन्तु र पर्यटन झल्किने चित्रहरू कोर्न व्यस्त छन् ।
केही साताअघि सामान्य देखिने पर्खालहरू अहिले उनको ब्रसको स्पर्शले आकर्षक कलाकृतिमा रूपान्तरण भइरहेका छन् । परियारका लागि यो काम नयाँ होइन । तीन दशकभन्दा लामो यात्रामा उनले छ दर्जनभन्दा बढी भित्तेचित्र तयार गरिसकेका छन् । कोहलपुरमा पनि यसअघि भ्यू टावरमा उनले बनाएका चित्रहरूले धेरैको ध्यान तानेका थिए । अहिले नगर विकास समितिको भवनका भित्तमा उनको अर्को सिर्जनात्मक ठाउँ बनेको छ ।
उनको चित्रकलाप्रतिको रुचि बाल्यकालमै सुरु भएको थियो । विद्यालयका कापीका पानादेखि भित्तासम्म चित्र कोर्ने उनको बानीले पछि जीवनकै बाटो तय गरिदियो ।उनले सानैदेखिको सीपलाई मूर्तरुप दिन भारतमा गए । करिब दुई वर्ष त्यहाँ बसेर आधुनिक भित्ते चित्रकलाका विभिन्न शैली सिकेको उनी बताउँछन् । नेपाल फर्किएपछि उनले यही कलालाई आफ्नो पेसा बनाए । आज चित्रकला नै उनको जीविकोपार्जनको मुख्य आधार बनेको छ ।
यो काम केवल रङ पोत्ने होइन, एउटा कथा बनाउने काम रहेको उनी बताउँछन् । आफूले बनाएका चित्रकाले भित्ताले पनि बोल्नुपर्छ भन्ने उनको मान्यता छ । उनका अनुसार चित्रकला कोर्नेहरूलाई मानिसहरूले अझ बुझ्न नसकेको उनी बताउँछन् । त्यसमा पनि आफुले मन पराएको कर्म रहेकाले मेहनत, धैर्य र सिर्जनशीलता भए चित्रकलाबाट सम्मानजनक आम्दानी गर्न सकिने उनको अनुभव छ । धनगढीदेखि कोहलपुरसम्म नगर सौन्दर्यीकरणका अभियानमा सहभागी बनेका परियारका चित्रहरूले केवल पर्खाल सजाएका छैनन्, सहरको पहिचान पनि निर्माण गरिरहेका छन् ।
अहिले कोहलपुर नगर विकास समितिका भित्ताहरूमा बनिरहेका चित्रहरूले नगरलाई थप आकर्षक बनाउनुका साथै स्थानीय संस्कृति र पर्यटनलाई नयाँ ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । राजेश परियारको कथा एउटा कलाकारको मात्र कथा होइन । यो आफ्नो रुचिलाई पेसा बनाउँदै तीन दशकभन्दा बढी समयसम्म निरन्तर सिर्जनामा समर्पित व्यक्तिको प्रेरणादायी यात्रा हो । उनका लागि प्रत्येक भित्ता एउटा नयाँ अवसर मात्र नभइ प्रत्येक चित्र एउटा नयाँ कथा रहेको छ ।
कोहलपुरका भित्ताहरू रंगीचंगी बन्दै
कोहलपुर नगर विकास समितिको भवनका भित्ताहरू अहिले आकर्षक र रंगीचंगी बन्दै गएका छन् । नगर सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत भवनका भित्ताहरूमा नेपालको पहिचान, स्थानीय संस्कृति, धार्मिक सम्पदा, वन्यजन्तु तथा पर्यटनका दृश्यहरू जीवन्त रूपमा उतार्न थालिएपछि भित्ताहरू रंगीचंगी बन्दै गएका हुन् । अहिले कोहलपुर नगर विकास समितिले पाँच लाख रुपैयाँको लागतमा नगरका भित्ताहरूलाई कलात्मक रूप दिने काम भइरहेको नगर विकास समितिका इन्जिनियर अम्मरबहादुर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार यस अभियानअन्तर्गत नेपालगन्जबाट चित्रकार राजेश परियारलाई बोलाएर काम अघि बढाइएको छ । उनले यसअघि पनि कोहलपुर भ्यू टावरमा पनि विभिन्न आकर्षक भित्ताचित्र तयार गरिसकेका छन् । कोहलपुर आउने जो–कोहीले यी चित्र हेरेर यहाँको संस्कृति, प्रकृति र पहिचान बुझ्न सकून् भन्ने उद्देश्यले चित्र बनाइएको उनको भनाइ छ ।
कोहलपुरका धार्मिक तथा सांस्कृतिक सम्पदा, बाघलगायत वन्यजन्तु, पर्यटकीय सम्भावना झल्काउने दृश्य तथा स्थानीय जीवनशैली र पहिचान समेटिएका चित्रहरू बनाइने चित्रकार परियाले बताए । उनी अहिले रंग, ब्रस र सिर्जनशीलताको संयोजनले साधारण पर्खाललाई आकर्षक कलाकृतिमा रूपान्तरण गरिरहेका छन् ।स्थानीयवासीका अनुसार भित्ताचित्रहरूले नगरको सौन्दर्यमा नयाँ आयाम थपेका छन् । सार्वजनिक भवनलाई कलात्मक स्वरूप दिँदा नगरप्रति सकारात्मक सन्देश प्रवाह हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्