जब्दीघाटमा पुल निर्माणको लागि ठेक्का आह्वान



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल भत्किएको ९ वर्षपछि सोही क्षेत्रमा नयाँ मोटरेवल पुल निर्माण हुने भएको छ । संघीय सरकारको लगानीमा पुल भत्किएको ९ वर्षपछि नयाँ पुल निर्माण भएको हो । गुलरिया र बारबर्दिया नगरपालिकासहित आसपासका क्षेत्रका नागरिकहरूको सहजताका लागि पुल निर्माण गर्न टेन्डर आह्वान भएको छ । पुल निर्माणका लागि बजेट सुनिश्चिता भएसँगै वर्षौँदेखिको बर्दियावासीहरूको माग पूरा हुने भएको छ ।

नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत राष्ट्रिय विद्युतीय सरकारी खरिद प्रणालीमा २१ दिने बोलपत्र आह्वान भएसँगै नयाँ पुल निर्माण हुने सुनिश्चित भएको हो । पप्पु कन्ट्रक्सनलले १६ करोड ६८ लाख ४ हजार रूपैयाँ लगानीमा निर्माण गरेको पुल उद्घाटन नहुँदै २०७४ साउन २८ गते जब्दीघाट पुलका दुई वटा स्पान भासिएका थिए । यस्तै २०७९ असोज महिनामा पुलका थप तीन वटा स्पान बाढीका कारण बगेपछि बर्दिया जिल्ला सदरमुकाम जोड्ने मुख्य पुल नै भत्किएपछि लामो समयदेखि नागरिकले आवतजावतमा समस्या भोग्दै आएका थिए ।

२०६८ असार २५ बाट पुल निर्माणको काम सुरु गरेको पप्पु कन्ट्रक्सनलले निर्माणपछि पुल हस्तान्तरण नगर्दै भासिएपछि सडक डिभिजन कार्यालय नेपालगन्जले २०७९ मंसिरमा पप्पुसँगको ठेक्का सम्झौता तोडेको थियो । कार्यालयले सम्झौता तोडेको ४ वर्षपछि सडक डिभिजन नेपालगन्जमार्फत नै कार्यान्वयन हुनेगरी पुल निर्माण कार्य अघि बढ्ने भएको हो । सडक डिभिजन नेपालगन्जका प्रमुख नरेन्द्र भट्टका अनुसार यसअघि कार्यालयमार्फत नै निर्माण गरेको साबिक जब्दीघाट पुल निर्माण भएको क्षेत्रकै आसपास क्षेत्रमा नयाँ पुल निर्माण गर्नेगरी बोलपत्र आह्वान भएको हो ।

कार्यालय र सम्बन्धित निर्माण पक्षबीच सम्झौता भएर निर्माण हुने योजनाको नाम ‘गुलरिया नगरपालिका वडा नम्बर ४ र बारबर्दिया वडा नम्बर ११ जोड्ने मोटरेवल (बबई नदी) पुल रहेको छ । पुल निर्माणको लागत अनुमान कूल ८२ करोड रूपैयाँ रहेको प्रमुख भट्टले बताए । साबिक जब्दीघाट पुल निर्माण भएको स्थानभन्दा १ सय ५० मिटर टाढाको दूरीमा सुविधासम्पन्न मोटरेवल पुल निर्माण हुने भएको उनले जानकारी दिए । पप्पु कन्ट्रक्सनलले निर्माण गरेको पक्की पुलको लम्बाइ ४ सय ३५ मिटर रहेकामा अब निर्माण हुने बबई नदी पुलको लम्बाइ ४ सय ३० मिटर रहनेछ ।

यस्तै दुईतर्फ फुटपाथसहित ११ मिटर चौडाइको पुल निर्माण हुने प्रमुख भट्टको भनाइ छ । जब्दीघाट पुलको चौडाइ ७.४ मिटर रहेको थियो । मिसन टुडे दैनिकसँगको कुराकानीमा उनले ४२ महिनामा पुल निर्माण हुने जानकारी दिए । ९ महिनाको डिजाइनको अवधि राखिएको समेत उनको बताए । ‘२१ दिने बोलपत्र आह्वान भएको छ । पुलका लागि बजेट सुनिश्चित भएपछि सूचना निकालिएको हो । यो बहुवर्षीय योजना हो । अब थप प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

पुल निर्माणका लागि सुरुमा भौतिक पूर्वाधार कार्यालयमा योजना माग गरिएको थियो । उक्त योजनाका लागि राष्ट्रिय योजना आयोगले भेरिफाइ गरेपछि अर्थ मन्त्रालयमा पुगेको थियो । मन्त्रालयले पुल निर्माणका लागि सैद्धान्तिक सहमति दिएपछि बोलपत्र आह्वान भएको हो । अहिले त्यहाँबाट सवारी आवागमन ठप्प छ । पुल भासिएपछि बबई नदी वारपार गर्न यहाँका नागरिकलाई डुंगाको सहारा लिनुपर्ने अवस्था छ ।

बबई नदीमा पर्ने जब्दीघाट खोला पुल मर्मत नहुँदा जनतालाई सास्ती भएको भन्दै नेपाली काँग्रेसका निवर्तमान सांसद सञ्जय गौतमले २०८० वैशाख ३० मा रिले अनसन नै बसेका थिए । जब्दीघाट पुल हरेक चुनावमा चुनावी एजेण्डासमेत बन्दै आएको थियो ।

स्थानीयमा खुसीयाली 

वर्षौँदेखि नयाँ पुलको माग गरिरहेका नागरिक पुल निर्माण हुने भएपछि खुसी भएका छन् । जिल्ला सदरमुकाम जोड्ने मुख्य पुल नै भासिएपछि त्यहाँका हजारौँ नागरिक प्रभावित भएका थिए । अब नयाँ पुल निर्माणको लागि बोलपत्र आह्वान भएपछि त्यहाँका नागरिक खुसी भएका हुन् । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारूले बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दीघाटमा पुल निर्माणका लागि ठेक्का आव्हान भएको जानकारी पाउँदा खुसी लागेको बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यसका लागि हामी बर्दियावासीलाई हार्दिक बधाई । हालसम्म पुल नबन्दा यहाँहरूले खेप्नु परेको सास्ती र दुःखप्रति क्षमाप्रार्थी छु ।’ पुल निर्माणपछि विशेषगरी दुई नगरपालिकाका हजारौँ नागरिकलाई आवतजावत गर्न सहज हुने विश्वास लिएको उनको भनाइ छ । पुल निर्माणको महान् कार्यका लागि पहल गर्ने सहयोगीहरूमा उनले नमन व्यक्त गरेका छन् । ‘नयाँ पुल निर्माण हुने भएको छ । आगामी दिन वर्षमा नयाँ पुल निर्माण सम्पन्न हुनेगरी बोलपत्र आह्वान भएको हो । हाम्रो वर्षौँदेखिको सपना पूरा हुने भएको छ । निकै खुसी लागेको छ,’ प्रतिनिधिसभा सदस्य थारूले भने ।

बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले भत्केको जब्दीघाट पुल निर्माणका लागि भएको बोलपत्र आह्वान गरिएको सूचनाले आफूलाई निकै खुसी लागेको बताए । उनका अनुसार बहुवर्षीय योजनाका रूपमा काम हुने भनिएको छ । उनले भने, ‘वर्षौँदेखि हाम्रा नागरिकले धेरै दुःख पाइरहेका छन् । विशेषगरी वर्षाका समयमा निकै समस्या हुने गर्दछ । तर पुल बन्ने कुरा आएको छ । यो त खुसी कै कुरा हो ।’ आफूहरूले पुल निर्माण कार्य समयमै वैकल्पिक बाटोको माग गरिरहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार