शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
सरकारले बर्दिया जिल्लाबाट लालपुर्जा वितरण सुरु गरेको छ । बिहीबार बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ बाट भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण सुरु गरिएको हो । भूमि समस्या समाधान समिति बर्दियाको आयोजना र बढैयाताल गाउँपालिकाको समन्वयमा बर्दियाको बढैयाताल–४ मानकिनार बस्तीका २९ जना भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
बिहीबार भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष बलराम बाँस्तोला र बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल लगायतका आयोगका सदस्यहरूको विशेष उपस्थितिमा लालपुर्जा वितरण गरिएको हो । अध्यक्ष बास्तोलाले २७ जना भूमिहीन सुकुम्वासी र २ जना भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेका हुन् । अध्यक्ष बाँस्तोलाले ६० वर्षीया दृष्टिविहीन फूलकुमारी थारूलाई जग्गाधनी प्रमाणपुर्जा दिएका थिए । उनले सरकारले देशभरका भूमिहीनहरूलाई लालपुर्जा वितरण सुरु गरेको बताए ।
उनका अनुसार नयाँ सरकार गठन भएपछि सयदिने कार्यसूचीअन्तर्गत देशभरी मै बर्दियाबाट जग्गा वितरणको सुरुवात भएको हो । ‘वर्तमान सरकार गठन भएपछि एक सय दिनभित्र नै जग्गा वितरण गर्न सफल भएको छ । यो काम बर्दिया जिल्लाबाट सुरु गरेका छौँ । अब क्रमशः देशभर लालपुर्जा वितरण गरिनेछ,’ अध्यक्ष बाँस्तोलाले भने। मानकिनार बस्ती रहेको ६ बिघा बढी ऐलानी जग्गामा बसोबास गर्दै आएका उनीहरूलाई प्रतिव्यक्ति ६ कट्ठा जग्गाको पुर्जा वितरण गरिएको भूमि समस्या समाधान समिति बर्दियाले जनाएको छ ।
बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको १०० वटा कार्यसूची अनुसार कार्यसूचीको ९१ नम्बर बुँदामा देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत लगत संकलन तथा प्रमाणीकरण ६० दिनभित्र सम्पन्न र भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी समस्या हजार दिनभित्र व्यस्थापन गर्न स्थानीय तहको समन्वयमा लालपुर्जा वितरण गरिने उल्लेख गरिएको छ ।
जिल्ला भूमि समस्या समाधान समिति बर्दिया अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सरकारले बर्दियाका भूमिहीनहरूलाई पहिलो प्रथामिकतामा राखेर जग्गा वितरण गरेको बताए । उनका अनुसार अब थप भूमिहीन सुकुम्वासीलाई जग्गा वितरणको तयारी भइरहेको छ । यसअघि समितिको २०८३ असार ८ गते बसेको बैठकले मानकिनार बस्तीका भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने निर्णय गरेको थियो ।
नयाँ सरकार गठनपछि देशभरमै पहिलोपटक बढैयाताल–४ मा लामो समयदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका नागरिकहरूलाई लालपुर्जा वितरण गरिएकोे बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले जानकारी दिए । जिल्ला भूमि समस्या समाधान समिति बर्दियाका अनुसार बर्दिया जिल्लाको समितिमा ४५ हजार निवेदन दर्ता भएका छन् । जसमध्ये १३ हजार ५ सय भूमिहीन र ३१ हजार ५ सय अव्यवस्थित बसोबासी रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्