शुभाकर विश्वकर्मा। कोहलपुर (बाँके) ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पश्चिम तराईमा अझै केही दिन मध्यम खालको तातो कायमै रहने सम्भावना छ । ती क्षेत्रमा असार २ गतेदेखि सुरु भएको गर्मी हालसम्म पनि कायमै छ । यो क्रम अझै केही दिन कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर हुने सम्भावना रहेको महाशाखाले जनाएको हो ।
जल तथा मौसम कार्यालय कोहलपुरका कार्यालय प्रमुख रामप्रसाद अवस्थीका अनुसार अहिले भइरहेको गर्मी यो वर्षको तेस्रोपटक हो ।यस वर्ष वैशाख ७ देखि १३ गतेसम्म तातो दिनहरू रहेको कार्यालयले जनाएको छ । बर्दियाको गुलरियामा जेठ ३ र ४ गते तातो दिन रहेको, जेठ ६ देखि १२ गतेसम्म लगातार तातो दिन मापन गरिएको उनको भनाइ छ । जेठ महिनमा ७ र ११ गते धेरै तातो दिन मापन गरिएको थियो । यस्तै नेपालगन्जमा जेठ ३ र ४ गते ‘धेरै तातो दिन’ मापन गरिएको थियो ।
जेठ ६ गते तातो र ७ गतेमा धेरै तातो दिन र जेठ ९, १०, ११ र १२ तातो दिन मापन भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख अवस्थीले असार २ देखि १३ सम्म तातो लहर चलिरहेको र यो मध्यम खालको तातो रहेको जानकारी दिए । उनका अनुसार नेपालगन्जमा मे २१ र जुन २५ मा ४२ डिग्री सेल्सियस मापन गरिएको थियो । यसअघि बाँकेको नेपालगन्जमा जुन १४ २०१२ मा अहिलेसम्मकै उच्च ४५ डिग्री सेल्सियस मापन गरिएको थियो भने देशभरकै उच्च धनगढीमा जुन १६, १९९५ मा ४६.४ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘पूर्वमा मनसुन भित्रिसकेको छ । लुम्बिनी तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ । तराई क्षेत्रमा पुग्ने चरणमा छ । तराई क्षेत्रमा मनसुन पुग्न अझै कम्तीमा ३–४ दिन लाग्छ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । कार्यालयद्वारा जारी सहरको मौसम पूर्वानुमानअनुसार शनिबार दिउँसो नेपालगन्ज र धनगढीमा तातो हावा लहर चलेको छ । शनिबार दिउँसो नेपालगन्ज र धनगढीमा अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस मापन गरिएको थियो ।
यसैगरी लुम्बिनी प्रदेशको भैरहवा र सुदूरपश्चिम प्रदेशको दिपायलमा तातो हावा चलेको जल तथा मौसम कार्यालय कोहलपुर बाँकेले जनाएको छ । कर्णाली प्रदेशको वीरेन्द्रनगरमा तातो हावासँगै अधितकम तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियस मापन गरिएको छ । भैरहवाको शनिबार दिउँसोको अधिकतम तापक्रम ३६ देखि ३८ र दिपालयको अधिकतम तापक्रम ३८–४० डिग्री सेल्सियस मापन गरिएको छ । ती क्षेत्रमा वर्षाको सम्भावना शून्य रहेको छ ।
नेपालगन्ज, धनगढी र भैरहवा लगायतका क्षेत्रमा शनिबार राति भने आंशिक बादलको सम्भावना रहेको जनाइएको छ । दिपालयमा भने मेघगर्जनसहित चट्याङ र हल्का वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार असार १४ गते दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ र तराई क्षेत्रमा आंंशिक बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातिको समयमा हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरूमा मेघगर्जन तथा तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी असार १५ गते दिउँसो हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा साथै एक वा दुई स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको छ । रातिको समयमा पनि तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान रहेको छ । मध्यम गर्मीका कारण तराई क्षेत्रका नागरिकहरूको जनजीवन प्रभावित बनेको छ ।
विशेषगरी दिउँसोको समयमा दैनिक ज्यालादारी गर्ने नागरिक, आर्थिक रूपमा विपन्न तथा विद्यालय तहमा अध्ययन गर्ने साना विद्यार्थीका साथै दीर्घरोगी तथा जेष्ठ नागरिकहरू बढी प्रभावित भएका छन् । गर्मीबाट बालबालिका, सुत्केरी महिला, वृद्धवृद्धा तथा मुटुरोगीहरू बढी जोखिममा पर्ने भन्दै विशेष सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् । गर्मीको समयमा ‘पानीको अभाव हुँदा गर्मीबाट ज्यानै जान सक्ने जोखिम हुन्छ ।
त्यसले पानी प्रशस्त पिउनुपर्छ । झोलिलो चिज र पेयपदार्थ बढी प्रयोग गर्नुपर्छ । तातोको समयमा बाहिर धेरै हिँड्नु पनि हुँदैन,’ डा. सन्दिप कँडेलले भने । पश्चिम नेपालका केही क्षेत्रमा तापक्रम ४१ देखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गर्दछ । जल तथा मौसम कार्यालय कोहलपुरका कार्यालय प्रमुख रामप्रसाद अवस्थी नेपालमा विगतका वर्षभन्दा केही समय ढिलो गरेर मनसुन पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गरेको बताउँछन् ।
यसपटक जुन १३ अर्थात् जेठ ३० गते मनसुन नेपाल भित्रिइ सक्नुपर्ने थियो । तर करिब एक साता ढिलो गरी असार ८ गते मात्रै मनसुन भित्रिएको र पश्चिम नेपालमा छिर्ने क्रममै रहेको उनको भनाइ छ । लुम्बिनी प्रदेशका नवलपरासी हुँदै बुटवलसम्म मनसुन पुगिसकेको उनले बताए । मनसुन देशभर फैलिन अझै एक साता लाग्ने अनुमान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्