थारू समुदायले मनाए ‘बर्का अट्वारी’ पर्व



कोहलपुर (बाँके) ।

पश्चिम तराईको आदीवासी जाति हो, थारू समुदाय । प्रकृति पूजक जातिसमेत रहेको थारू समुदायले विभिन्न पर्वहरू मनाउँछन् । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा थारू समुदायको बाक्लो बसोबास छ । यही थारू समुदायले बनाउने दोस्रो सबैभन्दा ठूलो पर्व हो, ‘बर्का अट्वारी ।’ थारू समुदायमा माघीपछि अट्वारी पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् । यो पर्व कुशे औँसीपछिको पहिलो आइतबार मनाउने परम्परा छ ।

यो पर्वमा खासगरी पुरुषहरू निराहार वर्त बसेर मनाउने गरे पनि स्वेच्छाले महिलासमेत वर्त बस्ने गरेका छन् । यो ऐतिहासिक, धार्मिक र मौलिक पर्वसमेत हो । पश्चिम तराईका थारू समुदायले आइतबार यो पर्व धार्मिक र मौलिक परम्पराअनुसार मनाएका छन् । दीर्घायु, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामनासहित थारू समुदायले पर्व मनाएका हुन् । यो पर्व मुख्यगरी दुई दिनसम्म परम्परागत विधिअनुसार मनाइन्छ । पहिलो दिन दतकट्टन (दर खाने) गरिन्छ । शनिबार राति (मध्यरातमा) व्रतालुहरूका लागि माछाको सिद्रा, भात र विशेष परिकारहरू तयार पारी ‘दतकट्टन’ (दर) खाने गरिन्छ ।

यो खाएपछि व्रतको औपचारिक सुरुवात हुन्छ । दोस्रो दिन निराहार व्रत र पूजा गरिन्छ । आइतबारका दिन थारू पुरुषहरू (र इच्छा भएका महिलाहरू) दिनभरि निराहार व्रत बस्छन् । साँझपख घरको चोखो ठाउँमा गुइँठा (गोवरको चक्का) र सल्लाको धूप बालेर आगो र भीमको विशेष पूजाअर्चना गरिन्छ । अन्तिम दिन भोजन र परिकार खाने र आदानप्रदान गरिन्छ । पूजा सकिएपछि व्रतालुहरूले पुरुषद्वारा नै पवित्र तरिकाले पकाइएको रोटी (बावर), गेडागुडी (केराउ), फुलौरी, पटौला, ठच्चा, दही र फलफूल आदि ग्रहण गर्छन् । अट्वारीमा विशेष गरी नुन नमिसाइएका चोखो पकवानहरू खाने चलन रहेको छ ।

बाँकेको कोहलपुर– २ मनोज थारूका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) दिदी–बहिनीका लागि छुट्याइने परिकार छुट्याइ बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । उनी भन्छन्, ‘अट्वारी पर्व महत्वपूर्ण पर्व हो, हिन्दू नारीहरूको तीजजस्तै महत्वपूर्ण छ । हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्छन् । थारू समुदायमा यो पर्वको छुट्टै महत्व छ ।’

उनको पुख्र्यौली घर दाङ हो । तीन दशकअघि कोहलपुरमा बसाइँसराइ गरेका मनोजका आफन्तहरू दाङमा पनि छन् । आफ्ना दिदीबहिनीको शौभाग्यका लागि आफू पनि वर्त बसेको उनले बताए । व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याइन्छ । अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने चलन रहेको कोहलपुर–५ का विभोचन थारूले बताए । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा रहेको उनको भनाइ छ ।

आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पु¥याउने चलन रहेको थारूले बताए । ‘यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्छौँ, यो पर्व कुसे औँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अट्वारी पर्व समाप्त हुन्छ ।

अट्वारी पर्वको ऐतिहासिक पक्ष

पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । थारू समाज र संस्कृतिक पुस्तकका लेखक बमबहादुर थारूका अनुसार समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको छ । उनका अनुसार अट्वारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ । दाङका थारूराजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारूराजा दङीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो ।

पाँच पाण्डव र द्रोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दाङका थारूराजा दङ्गीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए । भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अट्वारी मनाउँदै आएका छन् । भीमजस्तै बलियो हुनका लागि पानीसमेत नखाई थारू समुदायका पुरुषले व्रत बस्ने गरेका छन् ।

कोहलपुर–३ का थारू अगुवा दिपेन्द्र चौधरीका अनुसार थारू समुदायमा रहँदै आएको प्रचलित किंवदन्ती अनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारू बसोबास गरेको ठाउँ)मा पुगेका थिए । सो किंवदन्तीअनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारू समुदायमा रही आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २९ गते सोमबार