कोहलपुर (बाँके) ।
रसुवा बाढी प्रभावित घाइतेहरूको उपचारका लागि बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर–१४ हवल्दारपुरस्थित समाज सेवा संस्था नेपाल केन्द्रीय कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । ‘रक्तदान, जीवनदान’ भन्ने मूल नारासहित हवल्दापुर कृषि हाट बजारमा सञ्चालित रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी रक्तरञ्चार केन्द्र नेपालगन्जका वरिष्ठ रक्त प्राविधिक सोमप्रकाश सापकोटा र आयोजक समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
आइतबार बिहान ८ बजेदेखि दिउँसो २ सम्म सम्पन्न रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको आयोजक समाज सेवा संस्थाले जनाएको छ । रसुवा बाढीमा परेर घाइते भएकाहरूको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरिएको संस्थाका अध्यक्ष विनोद थापाले जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रममा नेपालगन्ज र कोहलपुरका रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
‘रसुवा भोटीकोशी बाढीबाट प्रभावित भई निधन हुनेप्रति गहिरो दुःख व्यक्त गर्दछौँ । सम्पर्कविहीनहरूको खोजीका लागि सरकारसँग माग गरेका छौँ । संस्थाको तर्फबाट घाइतेहरूको लागि सहयोग पुगोस् भनेर कार्यक्रम आयोजना गरिएको हो,’ अध्यक्ष थापाले भने । रक्तदान कार्यक्रमका लागि प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र प्रादेशिक कार्यालय नेपालगन्जले गरेको थियो । कार्यक्रममा नेपाल विल होप, ब्रिज इन्टरनेशनल स्कुल, धनवर्षा इण्डस्ट्रिज एण्ड बायो टेक्नोलोजी प्रालि, सिद्वार्थ गोल्ड प्यालेस, हवल्दारपुर कृषि हाटबजार र भण्डारी जनरल स्टोरको सहकार्य रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्