भण्डारी र आश्रितप्रति हार्दिक श्रद्धाञ्जली



आज ३३ वर्षपछि पनि मदन भण्डारीका विचारहरू उत्तिकै सान्दर्भिक छन् । वर्तमान राजनीतिक परिस्थिति हेर्दा लोकतान्त्रिक संस्थाहरू कमजोर बनाउने, सामाजिक अराजकता बढाउने र जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्तिहरू देखापर्दैछन् । जनताको अधिकार, संविधानको मर्म र लोकतान्त्रिक मूल्यहरूमाथि विभिन्न प्रकारका चुनौतीहरू सिर्जना भइरहेका छन् । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूमाथि राज्यद्वारा दमन र आतंक मच्चाइएका घटनाले जनतामा असन्तोष बढेको छ ।

सूर्य ढकाल

इतिहासले युगीन पुरुषका रूपमा जन्माएका राजनेता मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको ३३औँ स्मृति दिवस मनाइरहेका छौँ । मानव जीवनमा आस्थाले बनाएको साइनो रगतको सम्बन्धभन्दा पनि प्रिय हुँदो रहेछ । विचार, आदर्श र राजनीतिक प्रतिबद्धताले जोडिएको सम्बन्धले हजारौँ लाखौँ मानिसलाई एउटै आन्दोलनको यात्रामा बाँध्ने गर्दछ । मदन–आश्रितको सम्बन्ध त्यही आस्था, त्यही समर्पण र त्यही क्रान्तिकारी चेतनाको प्रतीक थियो । आज उहाँहरूको स्मृति केवल एउटा राजनीतिक दलको विषय मात्र होइन, नेपाली कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक संघर्ष र राष्ट्रिय स्वाभिमानको साझा इतिहास बनेको छ । जनताको बहुदलीय जनवादका प्रवद्र्धक, माक्र्सवादका नवीन व्याख्याता, नयाँ नेपालका कल्पनाकार राजनेता मदन भण्डारी र जिवराज आश्रितको षड्यन्त्रपूर्ण ढङ्गले हत्या भएको आज ३३ वर्ष पूरा भएको छ । २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटना नेपाली राजनीतिमा अझै अनुत्तरित प्रश्न बनेर उभिएको छ । त्यो केवल दुई नेताको मृत्यु मात्र थिएन, त्यो परिवर्तन, विचार र राष्ट्रिय राजनीतिक चेतनामाथि गरिएको गम्भीर प्रहार थियो ।
दासढुङ्गामा हत्या गरिँदा मदन भण्डारी केवल ४१ वर्षका हुनुहुन्थ्यो । तर छोटो समयमै उहाँले देशविदेशमा नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनुभयो । सार्वजनिक राजनीतिक जीवनमा सक्रिय भएको जम्मा चार वर्षमै उहाँ राष्ट्रिय राजनीतिका केन्द्र बन्नुभयो । उहाँको भाषण, वैचारिक स्पष्टता, संगठन क्षमता र जनतासँगको आत्मीय सम्बन्धले लाखौँ युवालाई राजनीतितर्फ आकर्षित ग¥यो । जीवनको उत्तरार्धमा पुग्न नपाउँदै उहाँले युगलाई प्रभावित गर्ने राजनीतिक दर्शन स्थापित गर्नुभयो ।

पञ्चायती कालरात्रिका कठिन दिनहरूमा उहाँले विभिन्न नामहरू—बर्बरिक, स्वेशार्दुल, सागर, भिष्म, सङ्ग्राम सिंह, राजमोती, जीवन—प्रयोग गर्दै जनताका बीचमा पुग्नुभयो । त्यो समय निरङ्कुशता, दमन र प्रतिबन्धको समय थियो । तर उहाँ कहिल्यै डराउनुभएन । भूमिगत जीवन बिताउँदै पनि जनताको चेतना जगाउने काममा निरन्तर सक्रिय रहनुभयो । उहाँको राजनीतिक यात्राले देखायो कि सच्चा नेता सत्ताको संरक्षणबाट होइन, संघर्षको भट्टीबाट निर्माण हुन्छ । सम्पूर्ण स्वदेशी तथा विदेशी शक्ति लाग्दाखेरि पनि मदन भण्डारी काठमाडौँका दुवै निर्वाचन क्षेत्रबाट अत्यधिक मतले विजयी हुनुभयो । त्यो विजय केवल व्यक्तिको विजय थिएन, त्यो जनताको विश्वासको विजय थियो । उहाँ भिडबाट कहिल्यै लतारिनुभएन, बरु भिडलाई दिशा दिने नेता बन्नुभयो । जनताको भावना बुझ्ने, समस्यालाई सरल भाषामा प्रस्तुत गर्ने र समाधानको बाटो देखाउने उहाँको क्षमता अद्वितीय थियो । मदन भण्डारी चौथो र पाँचौँ महाधिवेशनबाट पार्टीको महासचिव बन्नुभयो । उहाँको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ वैचारिक दिशा प्राप्त ग¥यो । विश्व कम्युनिष्ट आन्दोलन गम्भीर संकटबाट गुज्रिरहेको बेला उहाँले जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्त अघि सार्नुभयो । सोभियत संघ विघटन, पूर्वी युरोपमा समाजवादी शासनको पतन र विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको समयमा मदन भण्डारीले नेपाली विशेषताअनुसार समाजवादको नयाँ व्याख्या गर्नुभयो ।
जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको मौलिक सिद्धान्त हो । यो माक्र्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोग हो ।

जबजका सैद्धान्तिक आधारहरूमा माक्र्सवाद–लेनिनवाद, नेपाली कम्युनिष्ट आन्दोलनका लोकतान्त्रिक मान्यता तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरू पर्दछन् । त्यसैगरी यसको वस्तुगत आधारमा नेपालको विशिष्ट अवस्था, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको अवस्था र नेपाली कम्युनिष्ट आन्दोलनका आफ्नै विशेषताहरू रहेका छन् । मदन भण्डारीले प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्नुपर्ने मान्यता स्थापित गर्नुभयो । उहाँका अनुसार देश, काल र परिस्थितिअनुसार क्रान्तिको बाटो, संघर्षका रूप र तरिका फरक–फरक हुन सक्छन् । एक देशमा एक वा एकभन्दा बढी कम्युनिष्ट पार्टीहरू हुन सक्छन् भन्ने उहाँको धारणा लोकतान्त्रिक अभ्यासप्रतिको खुलापन थियो । उहाँले कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीको लोकतान्त्रीकरणलाई नयाँ मान्यताका रूपमा स्थापित गर्नुभयो । बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्दै जनआधारित कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने विचार जबजको अर्को विशेषता हो । उहाँले शान्तिपूर्ण र वैधानिक ढङ्गले समाज परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता अघि सार्नुभयो । उहाँका अनुसार क्रान्तिको आधारभूत शक्ति मजदुर र किसान नै हुन् । तर समाज परिवर्तनका लागि राजनीतिक चेतना, संगठन र लोकतान्त्रिक अभ्यास अनिवार्य हुन्छ । बहुदलीय जनवादले क्रान्तिका विभिन्न चरणहरू पनि स्पष्ट गरेको छ ।

सामन्तवादका आधार र अवशेषहरूको अन्त्य, राष्ट्रिय पूँजीको विकास तथा समाजवादतर्फको सङ्क्रमण यसका मुख्य चरणहरू हुन् । मदन भण्डारीले राष्ट्रिय स्वाधीनता, आर्थिक आत्मनिर्भरता र जनताको चेतनास्तर अभिवृद्धिलाई विशेष महत्व दिनुभयो । उहाँले जनताको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक चेतनाको विकासबाट मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने बताउनुभयो ।
आज ३३ वर्षपछि पनि मदन भण्डारीका विचारहरू उत्तिकै सान्दर्भिक छन् । वर्तमान राजनीतिक परिस्थिति हेर्दा लोकतान्त्रिक संस्थाहरू कमजोर बनाउने, सामाजिक अराजकता बढाउने र जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्तिहरू देखापर्दैछन् । जनताको अधिकार, संविधानको मर्म र लोकतान्त्रिक मूल्यहरूमाथि विभिन्न प्रकारका चुनौतीहरू सिर्जना भइरहेका छन् । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूमाथि राज्यद्वारा दमन र आतंक मच्चाइएका घटनाले जनतामा असन्तोष बढेको छ । यस्ता परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनमुखी लोकतान्त्रिक आन्दोलनको आवश्यकता अझ बढी महसुस भइरहेको छ । मदन भण्डारी र जिवराज आश्रितको जीवनले हामीलाई संघर्ष, निष्ठा, वैचारिक स्पष्टता र जनताप्रतिको समर्पण सिकाउँछ । उहाँहरूको योगदान केवल इतिहासका पानामा सीमित छैन, त्यो आज पनि लाखौँ नेपालीको चेतना र प्रेरणामा जीवित छ । जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको मार्दर्शक सिद्धान्तको रूपमौ स्थापित भएको छ । यसको विरोध गर्नेहरू आज समर्थकको रूपमौ उभिन पुगेका छन् । ३३औँ स्मृति दिवसका अवसरमा उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरूले देखाएको बाटोमा अघि बढ्ने संकल्प गर्नु नै सच्चा सम्मान हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ३ गते आइतबार