प्रथम प्रदेशसभा कपको दोस्रो दिन ११ खेल सम्पन्न



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरमा जारी प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३ को दोस्रो दिन ११ खेल सम्पन्न भएका छन् । ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नारासहित सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा दोस्रो दिन ११ खेल सम्पन्न भएका हुन् ।

कोहलपुर–१ स्थित कृष्ण माध्यमिक विद्यालय कौशिलानगर र कोहलपुर–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा भएको खेलमा जित्ने टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् भने पराजित टिम प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगिताका सचिवालय संयोजक कुमार रावतका अनुसार जीवन ज्योति स्कुल र सगरमाथा ज्ञानपुञ्ज माविबीच भएको दोस्रो खेलमा जीवन ज्योतिले समरमाथालाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

तेस्रो खेलमा कोहलपुर बागेश्वरीले २–० गोल अन्तरले सरस्वती मावि पिपरीलाई पराजित गरेको छ । चौथो खेलमा ग्रिनपिस सेकेण्डरी स्कुलले राम जानकी माध्यमिक विद्यालयलाई ६–० गोल अन्तरले पराजित गरेको संयोजक रावतले बताए । पाँचौ खेलमा शिखा एकेडेमीलाई बाल ज्योति माविले ३–० गोल अन्तरले पराजित गरेको थियो ।

संयोजक रावतले फूलबारी एकेडेमी र ज्ञान ज्योति माविबीच हुने खेलमा फूलबारी एकेडेमी उपस्थित नहुँदा ज्ञान ज्योति माविलाई विजयी घोषणा गरिएको जानकारी दिए । सातौँ खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खड्कवार र बाल शिक्षा माविबीच भएको खेलमा ४–० ले नेरामाविले खेल जितेको सचिवालय संयोजक रावतको भनाइ छ ।

कृष्ण माध्यमिक विद्यालय र गोरखा युनाइटेड पब्लिक स्कुलबीच भएको आठौँ खेलमा निर्धारित समयमा कुनै पनि टिमले गोल नगरेपछि पेनाल्टी सुटआउटमा कृष्ण मावि ४–३ गोल अन्तरले विजयी भएको हो । प्रतियोगिताको नवौँ खेलमा जनता मावि मैटहवालाई ११–० गोल अन्तरले साइनिङ स्टार पिपरीले सानदार जित निकालेको हो ।

पेनाल्टी सुटआउटमार्फत नतिजा निकालिएको दशौँ खेलमा ज्ञान ज्योति माविलाई ३–२ गोल अन्तरले पराजित गर्दै वृज इन्टरनेशनल स्कुल विजयी भएको रावतले जानकारी दिए । दोस्रो दिनको अन्तिम तथा ११औँ खेलमा जन ज्ञान ज्योति कौशिलानगरलाई पराजित गर्दै नेपाल एपिएफ स्कुल ५–० गोल अन्तरले पराजित गरेको हो ।

प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३ को तेस्रो दिन आइतबार (आज) दश खेल हुने सचिवालय संयोजक रावतले मिसन टुडे दैनिकलाई जानकारी दिए । सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजना र शिक्षक महासंघ कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाले संयोजन र व्यवस्थापन गरेको प्रतियोगिता जेठ ६ गतेसम्म सञ्चालन हुनेछ । ३६ विद्यालय सहभागी प्रतियोगिताको प्रथम पुरस्कार राशी ५ लाख, द्वितीय पुरस्कार ३ लाख र तृतीय पुरस्कार २ लाख रूपैयाँँ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ३ गते आइतबार