लागूऔषधः युवाको सपना, परिवारको खुसी र राष्ट्रको भविष्यमाथिको हमला



अधिवक्ता वसन्त गौतम

बाँकेका प्रहरी हिरासत, कारागार र बाल सुधारगृहहरूमा बढ्दो रूपमा देखिएका लागूऔषधसम्बन्धी मुद्दाहरूले अहिले समाजभित्र गहिरिँदै गएको भयावह यथार्थलाई उजागर गरेका छन् । कुनै समय सीमित व्यक्तिको समस्या ठानिएको लागूऔषध दुव्र्यसन आज समाजको प्रत्येक तह र वर्गसम्म फैलिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर तथा जिल्लाका कारागारहरूमा रहेका थुनुवामध्ये ठूलो हिस्सा लागूऔषध मुद्दाका आरोपी हुनु केवल एउटा तथ्य मात्र होइन, समाजको बदलिँदो खतरनाक स्वरूपको संकेत पनि हो । अझ चिन्ताजनक कुरा त के छ भने बाल सुधारगृहसम्म लागूऔषध मुद्दामा फसेका बालकहरूको उपस्थिति बढ्दो छ । एक समय सहरकेन्द्रित मानिने लागूऔषधको समस्या अहिले गाउँ–बस्ती, विद्यालय, कलेज, होस्टेल, श्रमिक बस्ती हुँदै समाजको कुनाकाप्चासम्म फैलिएको छ । अब यो समस्या केवल युवासम्म सीमित छैन; किशोरकिशोरी, महिला, मजदुर, विद्यार्थी, बेरोजगार, यहाँसम्म कि आर्थिक रूपमा सम्पन्न परिवारका सदस्यहरू समेत यसको चपेटामा परिरहेका छन् । लागूऔषधको नसाले बालकदेखि वृद्धासम्म, धनीदेखि गरिबसम्म सबैलाई समान रूपमा असर गर्न थालेको छ । समाजमा बढ्दै गएको मानसिक तनाव, पारिवारिक विखण्डन, बेरोजगारी, गलत संगत, अभिभावकीय निगरानीको अभाव तथा सामाजिक विकृतिहरूले युवापुस्तालाई लागूऔषधको दलदलतर्फ धकेलिरहेका छन् । कोहलपुर क्षेत्रका १५ वर्षका एक किशोरले साथीहरूको दबाब र उत्सुकताका कारण लागूऔषध सेवन सुरु गरेको घटना अहिलेका हजारौँ युवाको साझा पीडा बनेको छ । उनका आमाबुवा रोजगारीको सिलसिलामा विदेशमा थिए । घरमा आर्थिक अभाव नभए पनि माया, निगरानी र मार्गदर्शनको कमीले उनलाई गलत संगततर्फ पु¥यायो । सुरुमा साथीहरूको दबाबमा ‘एकपटक मात्रै’ भन्दै सुरु भएको नसा पछि उनको जीवनकै नियन्त्रण बाहिर पुग्यो ।

यस्ता घटनाहरू दिनप्रतिदिन बढिरहेका छन् । किशोर मात्र होइन, बालिका र किशोरीहरू समेत लागूऔषधको दुव्र्यसनमा फस्न थालेका छन्। केही वर्षअघि कोहलपुर क्षेत्रमा केही युवासँगै तीन किशोरी मध्यरातमा लागूऔषधसहित पक्राउ परेका थिए । उनीहरू साथीहरूको संगतमा मदिरा र नशालु पदार्थ सेवन गर्न थालेका रहेछन् । एकपटक कुलतमा फसेपछि उनीहरू घरपरिवार छोडेर जिल्लादेखि जिल्लासम्म भौँतारिन थाले । कतिपय युवायुवती लागूऔषधको नसाका लागी चोरी गर्ने तथा यौन पेसा अँगाल्नेसम्मको कार्य गरेका घटनाहरू भेटिएका छन् । जसबाट उनीहरूको भविष्य, शिक्षा, परिवारको सपना र सामाजिक प्रतिष्ठामा क्षण भरमै आँच आउन सक्दछ । लागूऔषधले केवल व्यक्तिको स्वास्थ्य बिगार्दैन, यसले उसको सोच, निर्णय क्षमता, चरित्र, सम्बन्ध र जीवनको लक्ष्य नै नष्ट गरिदिन्छ । सुरुमा रमाइलो, तनाव कम गर्ने बाहाना वा साथीहरूको प्रभावमा सेवन गरिने लागूऔषध कालान्तरमा व्यक्तिको जीवनकै अभिशाप बन्न पुग्छ । एकपटक दुव्र्यसनमा फसेपछि व्यक्तिले आफ्नो परिवार, पढाइ, काम, जिम्मेवारी र भविष्य सबै बिर्सन थाल्छ । मानसिक रोग, आक्रामक व्यवहार, आत्मविश्वासको ह्रास, डिप्रेसन र सामाजिक अलगाव जस्ता समस्या देखा पर्न थाल्छन् । लागूऔषध दुव्र्यसनले परिवारलाई पनि गहिरो पीडामा पु¥याउँछ । छोराछोरी कुलतमा फसेपछि धेरै अभिभावक रातभर निदाउन सक्दैनन् । परिवारको कमाइ उपचार, कानुनी प्रक्रिया र दुव्र्यसनका कारण हुने खर्चमा सकिन थाल्छ । कतिपय परिवारले घरजग्गा बेच्न बाध्य हुन्छन् । परिवारभित्र झगडा, हिंसा, अविश्वास र सम्बन्ध विच्छेदसम्मका अवस्था सिर्जना हुन्छन् । कतिपय अभिभावक आफ्नो सन्तानको भविष्य सम्झेर जीवनभर पीडामा बाँच्न बाध्य भएका छन् । लागूऔषधको असर केवल व्यक्ति र परिवारसम्म सीमित हुँदैन । यसले सम्पूर्ण समाजलाई असुरक्षित बनाउँछ । लागूऔषध सेवनकर्ताहरूले नसाको जोहो गर्न चोरी, डकैती, लुटपाट, हिंसा, यौनजन्य अपराध तथा अन्य आपराधिक गतिविधिमा संलग्न हुने गरेका छन् ।

समाजमा असुरक्षा बढ्दै जानु, महिला तथा बालबालिकामाथि हिंसा बढ्नु, सामाजिक नैतिकता कमजोर हुनु तथा अपराध दर वृद्धि हुनुमा लागूऔषध दुव्र्यसन एउटा प्रमुख कारण बन्दै गएको छ । नेपाल–भारत खुला सीमाको कारण बाँकेलगायत सीमावर्ती जिल्लाहरूमा समस्या अझ जटिल बनेको छ । भारतीय सीमावर्ती बजार रुपैडियामा नाइट्रोजेपाम, ब्राउनसुगर, कोरेक्स, खैरो हिरोइन लगायतका लागूऔषध सजिलै उपलब्ध हुने गरेको चर्चा पटक–पटक सार्वजनिक हुँदै आएको छ । त्यसको प्रत्यक्ष असर नेपालगन्ज, कोहलपुर हुँदै मध्य तथा सुदूरपश्चिम क्षेत्रमा देखिएको छ । दैनिकजसो नेपाल प्रहरीद्वारा जमुनाहा नाकामा लागूऔषधसहित पक्राउ पर्ने घटनाले यसको जालो कति व्यापक छ भन्ने स्पष्ट हुन्छ । तर विडम्बना के छ भने, ठूला तस्कर र कारोबारीहरू कमै मात्रामा कानुनको दायरा आउने गर्दछन् । पछिल्लो समय केही कारोवारी पक्राउ परे पनि अधिकांश अपराधमा निम्नस्तरका साना भरिया, गरिब युवा र सेवनकर्ता मात्र पक्राउ पर्ने गरेका छन् । करिब पाँच–दश हजार रूपैयाँँको लोभमा परेर धेरै अशिक्षित युवा, महिला र गरिब परिवारका सदस्यहरू लागूऔषध ओसारपसारमा प्रयोग भइरहेका छन् । पर्दापछाडि बसेर करोडौँको कारोबार गर्ने गिरोह भने नयाँ–नयाँ तरिका अपनाउँदै कानुनलाई छलिरहेका छन् । धेरै नेपालीहरू लागूऔषधको अपराधमा भारत र नेपालका जेलहरूमा वर्षौँसम्म थुनिन बाध्य छन्, जबकि वास्तविक गिरोहहरू अझै सक्रिय छन् । विद्यालय र कलेजहरू समेत अब सुरक्षित क्षेत्र रहन सकेका छैनन् । तस्करहरूले विद्यार्थीलाई लक्षित गरी होस्टेल र शिक्षण संस्थासम्म सञ्जाल फैलाउन थालेका छन् । उच्च शिक्षा हासिल गरी भविष्य निर्माण गर्नुपर्ने युवाहरू कुलतमा फसेर आफ्नो जीवन अन्धकारतर्फ धकेलिरहेका छन् । कतिपय जागीरे जिवनका युवाहरू जागिर छाडेर कुलतमा फसेका छन् त कतिपय किशोरकिशोरी विद्यार्थी पढाइ छोड्न बाध्य भएका छन् भने कतिपय मानसिक रोगको सिकार बनेका छन् ।

लागूऔषधको समस्या बढ्नुमा गरिबी, बेरोजगारी, मानसिक तनाव, पारिवारिक विखण्डन, सामाजिक उपेक्षा, गलत संगत, उत्सुकता र अभिभावकीय कमजोरी जस्ता कारणहरू पनि जिम्मेवार छन् । कतिपय युवाहरू ‘मजा लिन’, ‘तनाव हटाउन’, ‘अनुभव गर्न’ वा ‘साथीहरूले कर गरेकाले’ भन्दै कुलतमा फस्ने गरेका छन् । तर सुरुवातमा सामान्य लाग्ने यस्तो प्रयोग पछि जीवनभरको अभिशाप बन्न पुग्छ । कुलत बन्न पुग्दछ । यो समस्या केवल प्रहरीको कडाइले मात्र समाधान हुन सक्दैन । रोकथाममा कानुन आवश्यक भए पनि केवल पक्राउ र जेल सजायले मात्र समाधान सम्भव छैन । लागूऔषध सेवनकर्तालाई अपराधी मात्र नभई उपचार र पुनस्र्थापनाको आवश्यकता भएका व्यक्तिका रूपमा हेर्नुपर्छ । मनोसामाजिक परामर्श, पुनस्र्थापना केन्द्र, परिवारको सहयोग र समाजको सकारात्मक व्यवहार अत्यन्त आवश्यक छ । अभिभावकहरूको भूमिका यहाँ सबैभन्दा महत्वपूर्ण हुन्छ । छोराछोरी कहाँ जान्छन्, कससँग घुलमिल गर्छन्, उनीहरूको व्यवहारमा के परिवर्तन देखिन्छ, मानसिक अवस्था कस्तो छ भन्ने कुरामा परिवार सचेत हुनुपर्छ । केवल आर्थिक आवश्यकता पूरा गर्दैमा अभिभावकीय दायित्व पूरा हुँदैन । समय, माया, संवाद र निगरानी पनि उत्तिकै आवश्यक हुन्छ । विद्यालय, समुदाय, स्थानीय सरकार, नागरिक समाज, सञ्चारमाध्यम र प्रहरी प्रशासन सबैले संयुक्त रूपमा लागूऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्न आवश्यक छ । विद्यालयस्तरदेखि नै जीवन उपयोगी शिक्षा, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श र कुलतविरुद्धको चेतना विकास गर्नुपर्छ । समाजले पनि दुव्र्यसनीलाई घृणा र बहिष्कार होइन, सुधार र पुनस्र्थापनाको अवसर दिनुपर्छ । आज लागूऔषधको जालो केवल केही व्यक्तिको समस्या रहेन । यो राष्ट्रकै भविष्यसँग जोडिएको गम्भीर संकट बनेको छ । यदि समयमै प्रभावकारी कदम चालिएन भने यसले युवापुस्ताको सपना, परिवारको खुसी, समाजको शान्ति र राष्ट्रको सम्भावनामाथि गहिरो प्रहार गर्नेछ । त्यसैले नियन्त्रण, उपचार, पुनस्र्थापना, जनचेतना र कडा कानुनी कार्यान्वयनलाई सँगसँगै अघि बढाउँदै लागूऔषधविरुद्धको अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनु आजको अपरिहार्य आवश्यकता हो । समयमै सचेत बनौँ, युवापुस्तालाई जोगाऔँ, समाजलाई सुरक्षित बनाऔँ र राष्ट्रको भविष्यलाई अन्धकारबाट बचाऔँ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ३ गते आइतबार