प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने



काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न प्राविधिक परीक्षण थालेको छ । परीक्षण सफल भएमा आजै साँझ परीक्षाफल प्रकाशित गर्ने तयारी रहेको बोर्डको भनाइ छ ।

‘प्राविधिक परीक्षण भइरहेको छ । कुनै समस्या नआए आजै साँझ नत्र भोलिसम्ममा नतिजा सार्वजनिक हुन्छ’, राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले भने, ‘छलफल भइरहेको छ । डेमो हेर्ने भनेर सुरु भएको छ ।’उनले ठ्याक्कै आजै नतिजा सार्वजनिक हुन्छ नै भनेर भन्न भने नसकिने बताए । ‘आजै हुनपनि सक्छ । नभए भोलि हुन्छ । सानो प्राविधिक समस्या आयो भने रोकिनुपर्ने हुन्छ’, सदस्य सचिव अर्यालको भनाइ छ ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेको परीक्षा बोर्डले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २८ गते सोमबार