भरत बहादुर रानाभाट
घरमा सबै परिवारका सदस्यहरु बसेर साँझको खाना खाएर टिभी हेर्दै थिए । “ मैले त एउटा खुसीको कुरा भन्नै भुलेछु ” चिरागले भन्यो ।
“ त्यस्तो खुसीको कुरा सुनौँ न डेडी ” छोरी विन्दिताले भनी । जोत्सना ! “ भोलि आमा आउँदै हुनुहुन्छ । मेरो अफिसमा भाइको फोन आएको थियो ” ।
“ फेरि किन आउँन प¥यो आमा ”?
“ मलाई केही थाहा छैन ” ।
“ तिम्री आमा आउँने अनि तिमीलाई थाहा नहुने हुन्छ ”?
“ छोरा बुहारीको घरमा आमा आउनै नमिल्ने हुन्छ र ?”
रात्रीबसमा हिँडेर भोलिबिहान बसपार्कमा आमा आउँने कुरा छ , चिरागले त्यति कुरा भनेपछि जोत्सनाले त्यो कुरा सुनेर अनुहार खसालेर ठुस्सिन थाली । आमाको त्यो हर्कत देखेर छोरो वैभव र छोरी विन्दिता पनि मुखामुख गर्न थाले । दुबै लोग्ने स्वास्नी बिच ठाकठुक हुन थाल्यो । जोत्सनाले चिरागको कुरा सुन्न छाडेर एकोहोरो फत्फताउँदै भान्सामा टङ्ल्याङ टङ्ल्याङ भाडा बजार्दै झर्कीझर्की चिरागसँग आफ्नो असन्तोष प्रकट गरीरहेकी थिई । आमा बुबाको बेमेल देखेर छोराछोरी भने खाना खाएर आआफ्नो कोठामा गएर पढ्न थाले । जोत्सनाको मन शान्त हुने छाटकाट थिएन । ऊ एक्लै भुट्भुटीदै लोग्नसँग चर्कोचर्को स्वरमा च्याँठ्ठिदै झनकफनक गर्दै मुख चलाई रहेकी थिई । जोत्सनाको त्यो अस्वभाकि क्रियाकलाप देखेर चिराग छक्क परेको थियो । “ हैन तँलाई बेलाबेलामा के हुन्छ, जोत्सना ? जन्मदिने आमाले दुःख कष्टकासाथ हुर्काउँनु भयो । अनि छोरा बुहारीको घरमा आमाले पाइला टेक्नै नहुने हुन्छ त”? “ तिम्री आमाले मात्रै छोराछोरी हुर्काइन् ? हाम्री आमाले हामीलाई नहुर्काई हामी त्यसै ठुला भयौँ ” ? “मैले त्यसो भन्न खोजेको हैन जोत्सना । तेरी आमा,मेरी आमा, हामी सबैका आमाले आआफ्ना छोराछोरीहरुलाई दुःखकष्ट सहेर हुर्काउँनु भयो । तर बुढेसकालको सहारा हरेक छोरा बुहारी र हरेक छोरी ज्वाइँ बन्न सक्नुपर्छ नि ”। “ यो काठमाण्डौंको महंगीमा म तिम्री आमालाई पालनपोषण गरेर बस्न त मरी गए पनि सक्दिन ” । “ छोरा बुहारीले पालनपोषण नगरे कसले गर्छ ? यो हाम्रोमात्र कर्तव्य होइन जोत्सना । हरेकका छोराबुहारीको पहिलो कर्तव्य हो” । “ तिमीले जे भने पनि म तिम्री आमालाई यहाँ राखेर बस्न सक्दिन ” ।
“ तैले बुहारीको कर्तव्य बुभ्mन सकिनस् भन्दैमा छोराले आफ्नो कर्तव्य भुल्नु मिल्छ त” ? “ तिम्रा भाइ र बुहारीले तिम्री आमालाई पाल्न सक्दैनन्” ?
“त्यो उनीहरुको विवेकको कुरा हो । उनीहरुले पाल्न नसके हामी बन्नुपर्छ बुढेसकालको सहारा । यो हाम्रो धर्म र कर्तव्य दुबै हो” । “आमाको त्यत्रो जिउँनीको खेत र घर कान्छा छोराले खान हुने, पाल्न नहुने ” ? “मैले पनि आमा बुबाको सम्पत्ति नै बेचेर यहाँ घर बनाएको हो । हामी पनि जेठो छोरो र बुहारी त हौंनी”? “ तिमी जेसुकै भन् यो काठमाण्डौंमा म तिम्री आमासँग बस्न सक्दिन ”। छोरो वैभव र छोरी विन्दिता आफ्नो कोठामा पढेर बसेका थिए । आमाको चर्कोचर्को आवाजले उनीहरुको पढाईमा डिस्टप भइको थियो । विन्दिताले ढोका खोलेर आमा बुबाको कोठामा गएर आमालाई सम्झाउने प्रयत्न गर्न थाली । “हैन एक्कासी तपाईलाई आज के को भूत चढ्यो आमा ? हजुरआमा हाम्रो घरमा आउनै नपाउँने हुन्छ त ”? । “तँ धेरै जान्ने भएर नबोल है विन्दिता ,”। “म के को जान्ने भएँ? सत्य कुरा बोल्दा पनि जान्ने हुन्छ ? बुबासँग धेरै मुख चलाएर नबस, तिमीले नगरे म गर्छु हजुरआमालाई स्याहार सम्भार ”। “ माउँ भन्दा चल्ला बाठा भनेको यहीं हो ” । “ मैले सत्य कुरा बोलेको हो । के को चल्ला बाठा हो ? आफ्नी आमा आउँदा भने फुरुङ्ग फुरुङ्ग गर्ने । अनि घरकी हजुरआमा आउँदा भने के के न भएजस्तो गरेर घरमा हँगामा मच्चाउँने यो पनि कुनै तरीका हो, आमा ” ? “ तँ धेरै नबोल आफ्नो कोठामा गएर पढेर बस् विन्दिता ” । “ सत्य कुरा बोल्दा म न बुबासँग डराउँछु। न तपाईसँग बुभ्mनुभयो ?” आमा छोरी बिच नै चर्काचर्की हुन थालेपछि चिरागले छोरीलाई फकाएर सुत्न पठायो । यता श्रीमती जोत्सनाको रिसको पारो भने चढेको चढ्यै थियो । जोत्सना एकोहोरो फत्फताउँदा चिराग हैरान भएको थियो । अबुझ पटमुर्खसँग केही पनि लाग्दैन भन्दै मनमनै दिक्क मानेर ऊ बिस्तरामा गएर एकोहोरो टोलाएर पल्टेको थियो ।
जोत्सना घरी बाहिर, घरी भित्र फन्फनिदँै थोत्रो रोडियोको जस्तै करकस आजाव निकालेर चिरागलाई खाउँला झै गर्दै थिई । न सम्झाउँदा सम्झिने, न कुरा बुभ्mने, यो अबुझसँग बोलेर केही फाइदा छैन भनेर चिराग केही समय चुपचाप बस्यो । जोत्सना केहीबेर चुप लागेर बसेकी थिई । फेरि एक्कासी सुक्कसुक्क गर्न थाली । मानौं जोत्सनालाई भयंकर ठुलै संकट आई परेको थियो । त्यो ठुलो संकटको सामना गर्न नसकेर ऊ बिचलित हुँदै गएकी थिई । उसको रबैयाले त्यही देखाउँथ्यो । आँसु झारेपछि केही समय जोत्सना चुपचाप नबोली ठुस्सिएर त्यसैत्यसै गजक्क परेर घोक्रो फुलाउँदै थिई । चिरागले जोत्सनालाई फकाएर सम्झाउँने प्रयत्न गर्दै थियो । तर जोत्सनाको अहंमका अगाडि चिराग पनि कायल भएको थियो । कुरै नबुभ्mने अधम भएपछि कस्को के लाग्छ, भन्दै चिराग आमाको सम्झनामा घोत्लिन थाल्यो । आफ्नी आमाले गरेका संघर्ष सम्झेर चिरागको शरीरमा काँडा उम्रे । अहिले काठमाण्डौंमा घर छ । लोग्ने साथमा छु । लोग्नेको जागिर छ । घरमा बसेर दुईवटा छोराछोरीको स्यहार सम्भार गर्न पनि त्यसै दुःख पाए भनेर मुख फाल्छे, जोत्सनाले । आमाको पालामा ढिकी जाँतो, गाम र बेसी, उकाली ओराली गर्दै खेतीपाती र गाई भैँसी पालेर दुईवटा नावालक छोराहरुलाई हुर्काउँन गरेको दुःख आकाश पातलको फरक थियो । आमाले गरेको दुःखसँग जोत्सनाले गरेको दुःखको तुलना हुनै सक्दैनथ्यो । चिरागलाई आमाले भोगेको त्यो समयको दुःख कस्टको याद आयो । जतिबेला भाइ सानो थियो । सहयोग गर्ने कोही थिएनन् । आफन्तहरु भएपनि खुट्टा तान्नेहरुनै थिए । आमाले गरेको त्याग र तपस्या उसले झलझली सम्भ्mयो । बुढेसकालमा आएर सुख पाउने बेलामा बुहारीको रबैयाले गर्दा ऊ चिन्तित देखिन्थ्यो ।
छोरो मात्र असल भएर नहुनेरहेछ । घर परिवार र आमा बुबाको लागि असल संस्कारयुक्त बुहारी पनि चाहिने रहेछ भन्ने कुरा चिरागले बल्ल आएर मनन् गर्दै थियो । बिगतमा हण्डरैहण्डर र कसला खाएर आमाले भाइ र आपूmलाई हुर्काई पढाएर अहिलेको स्थानमा ल्याई पु¥याउन गरेको संघर्ष कम चुनौतीपूर्ण थिएन । तर त्यति धेरै संघर्ष गरेर आपूmहरुलाई हुर्काउँने आमालाई आफ्नै श्रीमतीले गर्ने रुखो वचन र व्यवहारले चिराग चिन्तित थियो । ऊ श्रीमतीसँग सन्तुष्ट थिएन । तर जोत्सना सम्झाएर, कुरा देखाएर वा फकाएर पनि मान्ने खालकी थिइन । ऊ एकोहोरी जब्बर जिद्धी र अबुझ थिई । बुहारीले सासू आमालाई पनि आफ्नै आमाको रुपमा समान व्यवहार गनपुर्छ । ज्वाइँले पनि सासूलाई आमाको रुपमा हेर्नुपर्छ । यदि बुहारीले सासूलाई लोग्नेको आमाको रुपमा मात्र व्यवहार गर्ने र आफ्नी आमालाई सर्वस्व ठान्ने हो भने त्यो गलत हो । त्यही सानो संकिर्ण सोचका कारण परिवारमा कटुता र वैमनुष्यता उत्पन्न हुने हो । जोत्सनाले श्रीमानको आमालाई हेयभावले हेर्ने र आफ्नी आमालाई भगवानको दर्जा दिने जुन चेष्टा गर्दै थिई, त्यो सरासर गलत थियो । दुबैजना श्रीमान र श्रीमतीका आमाहरुका बिचमा बुहारीले फरकफरक सोच सैली, फरक व्यवहारबाट आफ्नी आमा र साासूआमाको बिचमा अन्तर देख्ने हो, भने समाज कुन दिशा तर्फ मोडिएला ? अलगअलग आमा बुबाबाट जन्मेर श्रीमान् र श्रीमतीको रुपमा एकाकार भई एकरथका दुई पाङग्रा बनेर सहकार्य गर्दा पनि सासूआमालाई बुहारीले अपनत्व ग्रहण नगर्ने हो भने परिवारमा बिग्रह उत्पन्न हुन्छ । यसले समग्र परिवारको मान मर्यदामा आँच आउँने र परिवार भित्र कलह उत्पन्न हुने हुँदा यस्ता कुराले समाजमा नकारात्मक सन्देश जाने कुरामा चिराग भने सचेत थियो । तर जोत्सना भने अलग एकलकाटे धारबाट गुज्रिरहेकी थिई ।
उता जोत्सना निदाएकी थिइन् । उसले के के सोचेर आफै अस्थिर बनिरहेकी थिई । चिराग भने बिगत सम्झिदै भावुक बनेर आमाको यादमा अतीतलाई नियाल्दै थियो । आमाले पटक पटक भन्ने गरेका आमाका तिनै शब्दले उसको मथिङ्गल हल्लीरहेको थियो । “ तिमीहरुलाई हुर्काउँन मैले धेरै संघर्ष गरेकी थिए । कमाउँन बम्बै पुगेको लोग्नेले सडक पार गर्दा ट्रकले हानेर मारेपछि मेरो अवस्था के भयो होला ? घरमा लोग्ने मानिस नभएपछि एउटी महिलालाई छोराछोरीको पालनपोषण गर्न कति कठिन हुन्छ ? भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ । मेलापात, वनजंगल, घाँस दाउरा, अर्मपर्म गर्न निस्कनै पर्यो ” । “ परी आउने हरेक काम गर्न बाहिर निस्कदा कालो मन हुनेहरुको नजरमा पर्नुपथ्र्यो । लोग्ने मरेको महिलाले यातनाको जिन्दगी भोग्नपर्छ । त्यो जिन्दगी ,जिन्दगी जस्तो हुँदैन । काम बिशेषले कोही पुरुषसँग बोल्नै नहुने । बोले त्यसैसँग पल्केको आरोप खेप्नु पर्ने हुन्थ्यो । पापी मन भएका पुरुषको डर छुट्टै हुन्थ्यो । महिलाहरुले पधेंरामा र बाटोघाटोमा खास्खुस कुरा काटेर गाउँभरी बुङ्बुङ्ती गनाउँने बनाउँथे । कतिसँग गएर लड्ने ? कतिसँग झगडा गरेर हिंड्नु ? आफ्नो छुट्टै पिरलो हुन्थ्यो । आफ्नो छुट्टै समस्याको चाङ लागेको हुन्थ्यो ” । “ लोग्ने घरमा नभएपछि जसरी पनि खेतीपाती गर्नु पर्यो । बस्तुभाउ पाल्नु पर्यो । जीवित रहन र साना छोराहरुलाई हुर्काउन जसरी पनि काममा जोतिन पथ्र्यो । लोग्नेले संसार छोडेको दुई महिनामा कान्छो छोरो जन्मेको थियो ” । “ अलग बसेकी सासुले माया र सहयोग गर्नु त परै जाओस् उल्टै पोई टोकुई भनेर लगाउँने लान्छनाले कतै गएर मर्न पाएपनि हुन्थ्यो, जस्तो लाग्थ्यो । पटकपटक मन बिचलित हुन्थ्यो ।
तर मर्ने मन हुँदाहुँदै, मर्ने चहाना हुँदाहुँदै तिनै दुइटा साना बुबा नभएका टुहुरा चिचिलाको मायाले मर्नबाट सधैं जोगाउँथ्यो । आपूm मरेपछि तिनिहरुको हालत के होला? भनेर दुनियाको अपमानलाई बेवास्था गर्दै छोराहरुलाई मात्र हुर्काएर त्यो पापी समाजलाई देखाउन पाए मात्र हुन्थ्यो भन्ने एकोहोरो रटानले नै मलाई जीबित र साहसी बनाउँदै लग्यो ” । “ सासूले दिएको दुव्र्यवहार अलग थियो । यातना अलग थियो । देवर र जेठाजुको जात अपुताली परे सबै खाउला भनेर आँ गरेर बसेका हुन्थे । घरमा एउटी महिलामात्र । साना दुई नाबालकको पालनपोषण गर्दाका ति अभावहरु, कसरी जोहो गर्नु । कसरी आँटोपिठो जम्मा गर्नु । कम चुनौतीको समय थिएन मेरो । तर पनि भगवानको भरोषा र छोराहरुको मायाले ति कठिन दिनहरुको सामना गरेर अगाडि बढेँ र त आज यो अवस्थामा पुगेको हो ” । आमाले भनेका यिनै शब्दहरुले चिरागको मन नराम्रोसँग हल्लायो । आमाका ति भनाईले चिराग भावविहाल भयो । उसका आँखाबाट बर्षाकालका भेल बगे । धेरै समय सम्म मौन रह्यो चिराग । चिरागका आँखाबाट खसेका आँसु जोत्सनाले पनि देखेकी थिई । तर उसले कुनै वास्ता नगरी नदेखे झै गरीरही । जोत्सना ठुस्सिएकै थिई । तै पनि त्यो बुद्धुलाई केही कुरा सम्झाउने मनसायले चिरागले शान्त भएर जोत्सनालाई सम्झाउन थाल्यो । “ जोत्सना, छोरा बुहारी, नातिनातिनी भएको छोराको घरमा आमालाई आउनलाई कुनै रोकतोक गर्नु हुँदैन । समय हो हामी पनि भोलि बुढा अवश्य हुन्छौ । छोराको विवाह गर्नु छ । छोरीको विवाह गर्नु छ । जीवन एउटा चर्खा हो । यसै भन्न सक्ने स्थिति हुँदैन । हाम्रा छोरा बुहारीबाट पनि हामीले बुढेसकालमा सुख पाउँला भन्ने सोचेका छौं नि ?” ।
“ तर भविष्य त कसैलाई थाहा छैन, भोलि के हुन्छ ? । हाम्री बुहारीले हामीलाई भोलि दुव्र्यवहार गरी भने अवश्य पनि हामीलाई दुःख लाग्छ । हामीले आजै त्यो कल्पना नगरौं । तर कथमकदाचित त्यहीं भयो भने हाम्रो हविगत के होला । तसर्थ जिन्दगी बाचुन्जेललाई मात्र हो । हामीले जगतको भलो सोच्नुपर्छ । कुभलो कसैको सोच्नुहुदैन ” । “ त्यो माथि आफ्नै आमा बुबालाई हामी छोरा बुहारी वा छोरी ज्वाइले कुभलो सोचेर वहाँहरुलाई दुव्र्यवहार गर्यौँ, भने हाम्रो भलो हुँदैन । हामीलाई भगवानले माफ गर्दैनन् । हामीहरुलाई वहाँहरुको आशिर्वाद चाहिन्छ । हाम्रो अगाडि समाज छ । समाजले हामीलाई हेर्ने नजर र दृष्ट्रिकोण फरक हुनसक्छ । जुन घरमा जानेर वा नजानेर छोराबुहारीले दुव्र्यवहार गरेर आमा बुबाको आँखामा आँसु आउँछ, ति छोरा बुहारीलाई आमा बुबाको आँसुले पोल्छ । जुन घरमा साना बालबालिकाले माया पाउँदैनन्, जुन घरमा वृद्धवृद्धाहरुले सम्मान पाउँदैनन्, त्यो घर, घर होइन । त्यो घरमा भगवानको बास हुँदैन । त्यो परिवारलाई पितृले आशिर्वाद दिदैनन् । पितृको आशिर्वाद पाउँनलाई सत्कर्म गर्नुपछ ” । यति कुरा भनिरहँदा जोत्सनाबाट कुनै प्रतिकृया आएन । ऊ निदाएकी थिइन । तर मुढो लडेझै निदाएको अभिनय गरेकी थिई । जोत्सनाले कुनै प्रतिक्रिया नदिएपनि चिरागले फेरि भन्दै गयो । “जन्मदिने आमा बुबा हरेक व्यक्तिको पहिलो भगवान हुन् । कसैले माने पनि नमाने पनि आमा बुबाले छोराछोरीलाई जन्म दिएर पालनपोषण गर्दा सारा दुःखकष्टका पहाड भत्काएर एउटा उधारो सपनामा रमाएका हुन्छन् । छोराछोरी प्रति हरेक आमा बुबाको समान माया हुन्छ ” । “ तर तिनै छोराछोरीहरु ठुला भएर विवाह बन्धनमा बाधिएपछि उनीहरुले आमा बुबालाई गर्ने माया क्रमश ओरालो झर्दै जान्छ । जसरी उपल्लो गराको पानी तल्लो गरामा सजिलै बगेर जान्छ । तर तल्लो गराको पानी उपल्लो गरामा चढ्न सक्दैन । हो, छोराछोरीको माया पनि त्यही गराको पानी जस्तै हो । चुहेर वा बगेर तलै तिर सल्ल्ल झरेर जान्छ ” ।
“ माया पनि माथिबाट तलैतिर आफ्ना सन्तान तर्फ सर्दैसर्दै जाने चिज हो । हरेक व्यक्तिलाई आफ्ना सन्तानको माया बढी हुन्छ । त्यसैकारण जन्मदिने आमा बुबा भने ओझेलमा परेर आफ्नै सन्तानको माया पाउँनबाट बिस्तारै बन्चित हुँदै जान्छन् । यता छोराछोरीको माया भने आपूmले जन्माएका आफ्ना सन्तान तर्फ क्रमश ओरालो लाग्दै जान्छ । सत्य कुरा यहीँनेर लुकेको हुन्छ ” । चिरागले आमाको दुःख नबुझेको कहाँ हो र ? परिस्थिति नमिल्दा केही समय आमाबाट टाढा भएको थियो । चिरागले जोत्सनासँग प्रेम विवाह गरेको थियो । भरसक आफ्ना छोराछोरी र श्रीमान बाहेक जोत्सनाले अरुको उपस्थिति स्वीकार नगर्ने कडा स्वभावकी भएकोले सासू आमाको उपस्थिति जहिले पनि अमान्ने हुन्थ्यो उसलाई। फराकिलो सोच र उदार मन नहुनेहरु यस्तै एकलकाटे हुँदारहेछन् भन्ने कुरा चिरागले आफ्नै श्रीमतीको रवैयाबाट राम्ररी थाहा पाएको थियो । तर थाहा पाएर मात्र के गर्ने जोत्सनाले कहिल्यै कुरा बुझिन । ऊ सधैंभरी अबुझको अबुझ नै रहने भई । यिनै कुरा सोच्दासोच्दै चिराग राती कतिबेला निदायो उसैले थाहा पाएन । भोलिपल्ट बिहान उठेर चिरागले जोत्सनालाई “जोत्सना, म आमालाई लिन नयाँबसपार्क गोंगबुतर्फ गए है ” भन्दै घरबाट बाहिर निस्क्यो । तर जोत्सना केही बोलिन । चिराग टेक्सीमा नयाँ बसपार्क तर्फ गयो । दुईघण्टापछि चिरागले टेक्सीमा आमालाई लिएर घरमा पुग्यो । घरमा पुगेपछि चिरागले जोत्सनालाई जोत्सना, जोत्सना बाहिर आउँ त, आमा आउँनु भएको छ, भनेर बाहिर बोलायो । जोत्सना मन नलागीनलागी ठुस्सिदै बाहिर निस्केकी मात्र के थिई ? एक्कासी आफ्ना आँखा अगाडि आमालाई देख्ने बित्तिकै दौडेर अंगालोमा बेरेर खुसीले गद्गद् भई ।









प्रतिक्रिया दिनुहोस्