वीरेन्द्रनगर ।
अपांगता भएका व्यक्तिहरूका संस्थाका प्रतिनिधिहरूलाई लक्षित गरी वकालतसम्बन्धी एकदिने प्रशिक्षण तालिम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अपांगता भएका व्यक्तिहरूको अधिकार संरक्षण, नीति निर्माणमा सहभागिता तथा प्रभावकारी वकालत अभियान सञ्चालन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
तालिममा विभिन्न जिल्लाबाट सहभागी संस्थाका प्रतिनिधिहरूलाई वकालत अभियान सञ्चालनका आधारभूत सिद्धान्त, नेतृत्व विकास, सञ्चार सीप, नीति तथा कानुनी व्यवस्था, सरोकारवालासँग समन्वय र समुदायस्तरमा अधिकारमुखी अभियान सञ्चालन गर्ने विषयमा सहजीकरण गरिएको थियो । राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा वकालत अभियानहरू सञ्चालन गर्ने सदस्य संस्थाहरूलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वकालतको अवधारणा, यसको महत्व, चरणहरू तथा अधिकारमा आधारित दृष्टिकोणसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको प्रशिक्षक आनन्दबहादुर विष्टले जानकारी दिए । उनका अनुसार वकालतको अवधारणा, महत्व र चरणबारे सहजीकरण गरिएको थियो । कार्यक्रममा सहभागीहरूले अपांगता भएका व्यक्तिहरूको हकअधिकार सुनिश्चित गर्न संस्थागत क्षमता अभिवृद्धि आवश्यक रहेको बताएका थिए । उनीहरूले स्थानीय तहदेखि संघीयस्तरसम्म नीति निर्माण प्रक्रियामा अपांगता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका थिए ।
तालिमबाट वकालत अभियान सञ्चालन गर्ने व्यावहारिक ज्ञान प्राप्त भएको सत्यनाथ योगीले प्रतिक्रिया दिए । तालिमले संस्थाहरूबीच सहकार्य र सञ्जाल विस्तार गर्न समेत सहयोग पुगेको उनले बताए । आयोजक संस्थाका अनुसार आगामी दिनमा पनि अपांगता भएका व्यक्तिहरूको अधिकार प्रवद्र्धन तथा समावेशी समाज निर्माणका लागि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष नन्दराज घितालले अधिकारमा आधारित दृष्टिकोण विषयमा प्रस्तुतीकरण दिएका थिए । पहिल्लो समय अपांगता भएका व्यक्तिहरूको अधिकार कार्यान्वयनका सन्दर्भमा सरकारी तथा गैरसरकारी निकाय पनि सक्रिय बन्दै गएको उनले बताए । सोहीअनुसार नीति तथा कार्यक्रम र बजेट निर्माणमा जोड दिन आवाश्यक ध्यानाकर्षण गराउने कार्य जारी रहेको उनको भनाइ छ ।
तालिममा दिउँसोको सत्रमा सहभागीहरूलाई समूह छलफलमार्फत सरोकारवालाको पहिचान तथा म्यापिङ अभ्यास गराइएको थियो । साथै वकालतका लागि प्रभावकारी सवाल निर्माणसम्बन्धी छलफल र प्रस्तुतीकरण समेत गरिएको थियो भने सहभागीहरूले सक्रिय सहभागिता जनाएका थिए । अन्तिम सत्रमा बोर्ड सदस्यहरूको मन्तव्यसहित कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्