काठमाडौँ।
प्रतिनिधि सभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसमक्ष उनीहरूले सपथ लिएका हुन् ।
नवनिर्वाचितहरूमा अर्थ समितिको सभापतिमा डा कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारी, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल र सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का निर्वाचित भएका थिए ।
यसैगरी महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरी भएका थिए । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा ओजस्वी शेरचन, संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा गणेश कार्की निर्वाचित भएका छन् ।
शिक्षा समिति र राज्यका निर्देशकमा दुई–दुई जनाको उम्मेदवारी परेपछि ध्वनि मतका आधारमा रास्वपाका उम्मेदवार निर्वाचित भएका थिए । निर्वाचित १२ सभापतिमध्ये ११ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट खड्का चयन भएका हुन् ।
नवनिर्वाचित सभापतिहरूले शुक्रबार नै आफ्नो समितिको कार्यालयमा पदबहाली पनि गरेका छन् । सपथ समारोहमा उपसभामुख रुवीकुमारी ठाकुर, कानुन, न्याय तथा संसमदीय मामिलामन्त्री सोबिता गौतम, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी, राजनीतिक दलका संसदीय दलका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्