सुर्खेत ।
कर्णालीका विकट गाउँबस्तीमा जलनका कारण वर्षौँदेखि कष्टकर जीवन बिताइरहेका नागरिकहरूका लागि सुर्खेतमा आयोजित तीन दिने निःशुल्क शिविर एउटा ठूलो वरदान सावित भएको छ । नबिल बैंक र प्रदेश अस्पताल सुर्खेतको संयुक्त आयोजना एवं फेक्ट नेपालको प्राविधिक सहयोगमा कालागाउँमा सञ्चालन भएको यस शिविरबाट १९४ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन् ।
आर्थिक अभावका कारण उपचारको पहुँचबाहिर रहेका विपन्न नागरिकहरूलाई लक्षित गरी चैत २७ देखि २९ गतेसम्म सञ्चालन गरिएको यस मानवीय कार्यले कर्णालीमा स्वास्थ्य सेवाको नयाँ आयाम थपेको छ । शिविरमा आएका बिरामीमध्ये जटिल समस्या देखिएका ३९ जनाको प्रदेश अस्पताल सुर्खेतमै सफलतापूर्वक शल्यक्रिया गरिएको छ । शल्यक्रियापश्चात् बिरामीहरूको शारीरिक अवस्थामा सुधार आएसँगै उनीहरूको आत्मविश्वास समेत फर्किएको छ ।
जटिल अवस्थाका एक बिरामीलाई भने थप उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको छ, जहाँ उनको सम्पूर्ण उपचार निःशुल्क हुने डा. किरण नकर्मीले सुनिश्चित गरेका छन् । यसले निजी क्षेत्र र सरकारी अस्पतालबीचको सहकार्यले कसरी नागरिकको जीवन रक्षा गर्न सक्छ भन्ने उत्कृष्ट नमुना पेश गरेको छ ।
शिविरको सबैभन्दा सुखद पक्ष भनेको उपचार पाएका बिरामीहरूको खुसी र सन्तुष्टि हो । जन्मजात हातका औँला जोडिएका दैलेख भैरवीका पदमबहादुर सार्कीले आफ्नो उपचार होला भन्ने कहिल्यै कल्पना समेत गरेका थिएनन् । तर, सफल अप्रेसनपछि जोडिएका औँलाहरू छुट्टिएपछि उनी निकै हर्षित छन् । त्यस्तै, सानोमा आगोले पोलिएर हात–खुट्टाका औँला जोडिएका र ओठ च्यातिएका वीरेन्द्रनगरका युवराज पङ्गेलीले पनि यस पटक नयाँ जीवन पाएका छन् ।
बोल्न र काम गर्न निकै सास्ती भोगिरहेका पङ्गेलीले निःशुल्क उपचार पाएपछि आफूलाई भाग्यमानी महसुस गर्दै आयोजकलाई धन्यवाद दिएका छन् । उपचारमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डा. किरण नकर्मीले सुर्खेतमा जलनसम्बन्धी उपचार सेवा छिट्टै स्थायी रूपमा सुरु हुने विश्वास व्यक्त गरेका छ ।
प्रदेश अस्पतालसँगको सहकार्य निकै सकारात्मक रहेको र भविष्यमा पनि यस्ता मानवीय कार्यमा सधैँ साथ दिने उनको प्रतिबद्धता छ । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णालीका विपन्न नागरिकलाई यो सेवा प्रदान गरेर व्यावसायिक धर्म मात्र नभई सामाजिक दायित्व समेत निभाएको छ । यस शिविरले कर्णालीमा जलन उपचारको दीर्घकालीन आवश्यकतालाई पुनः उजागर गर्दै राज्य र निजी क्षेत्रलाई थप लगानीका लागि प्रेरित गरेको छ ।









प्रतिक्रिया दिनुहोस्