कोहलपुर ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित ढकेरी वनस्पति उद्यानमा नयाँ वर्षको अवसरमा एकैदिन १२ हजारभन्दा बढी आन्तरिक पर्यटकले अवलोकन गरेका छन् । नयाँ वर्ष २०८३ सालको अवसर पारेर मंगलबार उद्यानमा १२ हजार आन्तरिक पर्यटकले अवलोकन गरेका हुन् ।
ढकमक्क फूलेका अनेकथरीका फूलहरूसँग रमाउँदै नयाँ वर्ष मनाउन १२ हजार जना आन्तरिक पर्यटकहरू उद्यान पुगेको उद्यानका वैज्ञानिक अधिकृत रामकृष्ण भण्डारीले जानकारी दिए । अनेकथरीका फूलहरू र वनस्पतिसँग तस्बिर खिच्नुका साथै रमणीय वातावरणमा रमाउँदै नयाँ वर्ष मनाउन हजारौँको सङ्ख्यामा पर्यटक पुगेको उनले बताए ।
ढकमक्क फूल र मनमोहक दृश्य अवलोकन गर्न नयाँ वर्षको दिन थामिनसक्नुको भिड लागेको उनको भनाइ छ । अन्य दिनहरूमा दैनिक एक हजार जना आन्तरिक तथा बाह्य पर्यटकहरू अवलोकन गर्न पुगे पनि नयाँ वर्षमा भने १२ हजार पर्यटकहरू पुगेको बताए । मानिसहरूको सङ्ख्या धेरै हुँदा व्यवस्थापन गर्न केही हम्मेहम्मे परेको उनको भनाइ थियो ।
ढकमक्क फूलहरूसँगै रमाएर धेरैले नयाँ वर्षको स्वागत गरेको उनले बताए । पछिल्लो समय ढकेरीस्थित वनस्पति उद्यान सबैको रोजाइमा पर्न सफल भएको छ । ढकेरी उद्यान बाँके र बर्दियाका स्थानीयहरूका लागि घुम्नलायक रमणीय वातावरण रहेकाले अधिकांश व्यक्तिहरू उद्यानमा अवलोकन गर्न पुग्ने गर्छन् । उद्यानमा घुम्न र अनुसन्धान गर्न आउनेलाई लक्षित गरेर लोपोन्मुख बोटबिरुवाको संरक्षण र सौन्दर्यीकरणलाई व्यवस्थित बनाइएको छ ।
समुद्री सतहबाट १ सय ६० मिटर उचाइमा रहेको उद्यान करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उद्यानमा वनस्पतिको अध्ययन, जडिबुटी एवम् गैरकाष्ठ वनपैदवार सर्वेक्षण, संवद्र्धन तथा वनस्पतिको रासायनिक गुणहरूको प्रतिफल स्थानीयस्तरमा पु¥याउने काम समेत गर्छ ।
उद्यानमा मुख्य गरेर लोपोन्मुख जडिबुटी संरक्षण, वनस्पतिको अध्ययन अनुसन्धान, वनस्पतिको शिक्षाको प्रचार र मनोरञ्जनस्थलको रूपमा प्रवद्र्धन हुँदै आइरहेको छ ।
पछिल्लो समय उद्यानको प्रचारप्रसार हुँदा अध्ययन अनुसन्धानभन्दा फूलहरूसँग रमाउँदै घुम्न आउनेहरूको दैनिक चहलपहल बाक्लो रहेको छ । विशेषगरी अहिले फूलहरू फुल्ने समय रहेकाले आन्तरिक तथा बाह्य पर्यटहरू उद्यानमा पुग्ने गरेका छन् ।
पछिल्लो समय उद्यानमा घुम्न आउनेहरूको भिड लाग्न थालेपछि प्रवेशका लागि टिकटको शुल्क निर्धारण गरिएको छ । १० वर्षमुनिकालाई १० रूपैयाँँ, १० वर्षमाथिकालाई २० रूपैयाँँ र ज्येष्ठ नागरिकहरूलाई ५ रूपैयाँँ प्रवेश शुल्क तोकिएको उद्यानले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्