‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’



काठमाडौँ, ज्योतिष शास्त्रीय दृष्टिमा नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने वर्षका रूपमा रहेकामा ज्योतिषविद्हरूले जोड दिएका छन् ।  धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपालले नववर्ष २०८३ का अवसरमा आयोजना गरेको ‘ज्योतिष शास्त्रीय शास्त्रीय दृष्टिमा विसं २०८३ कस्तो रहला ?’ विषयक ज्योतिर्विद्हरूसँगको साक्षात्कार कार्यक्रममा विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतमले २०८३ सालमा आठ शुभ ग्रह परेको र सूर्य एवं मङ्गल गरी दुई मात्र अशुभ ग्रहयोग रहेको जानकारी दिए ।  लग्नेश चन्द्र र राहु अष्टम भएकाले आगामी वर्ष विश्वमा उतारचढाव बढी हुने उनले बताए । त्यसको प्रभावस्वरूप नेपालमा पनि आरोहअवरोह आउने ग्रहयोग छ ।
“युरोप र अरबका सैन्य गतिविधि बढ्ने देखिन्छ, खासगरी सैन्यशक्ति वृद्धिको होडबाजीको सम्भावना छ,” गौतमको भनाइ थियो । शक्ति राष्ट्रहरूबीचको अहम्का कारण विश्व समीकरण बदलिन सक्नेतर्फ उनले सचेत तुल्याए । युद्ध र रोगव्याधिको सम्भावना पनि त्यत्तिकै रहेको उनले बताए ।
महिला हिंसाका घटनामा पनि वृद्धि हुने, विकसित मुलुकको मुद्रा बलियो र कमजोर मुलुकको झन् कमजोर बन्ने खतराको ग्रहयोग रहेको उनको भनाइ थियो । नववर्षमा मङ्गल भाग्यमा भएकाले प्रविधिका क्षेत्रमा भने प्रगति हुने अध्यक्ष गौतमको भनाइ थियो ।  विश्व शेयर बजार बढ्ने ज्योतिषीय प्रक्षेपण उनले गरे ।  यद्यपि, विलासिताका सामान खरिदमा होडबाजी यथावत् रहने र मूल्य वृद्धिले जनआक्रोश बढ्नेतर्फ गौतमले सचेत तुल्याए ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १ गते मंगलबार