काठमाडौँ ।
अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन् । संगीतकारका रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने फिल्म ‘बाः एक योद्धा’ मा झरना र सुहानाको मुख्य भूमिका रहने पक्का भएको हो ।
विगत दुई सातादेखि छायांकन भइरहेको यस फिल्मको निर्माण पक्षले कलाकारहरूको नाम गोप्य राखेको थियो ।
हाल काठमाडौँका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मको सेटबाट केही तस्बिरहरू सार्वजनिक भएका छन्, जहाँ झरना–सुहानाले एकसाथ अभिनय गरिरहेको देखिन्छ । सुहानाको फिल्म ‘परालको आगो’ प्रदर्शन तयारीमा रहेकोमा उनी नयाँ फिल्मको छायांकनमा व्यस्त बनेकी हुन् । फिल्मको काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै छायांकन सुरू गरिएको थियो ।
‘आर्टिस्टिक इन्टरटेनमेन्ट’ को ब्यानरमा निर्माण भइरहेको यो फिल्मले नेपाली समाजको एउटा अत्यन्तै मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको बताइएको छ । दर्जनौँ चर्चित गीतमा संगीत तथा पाश्र्व गायन गरिसकेका हरि लम्साल यसै फिल्ममार्फत निर्देशकको रूपमा डेब्यु गर्दैछन् । उनले निर्देशनसँगै फिल्मको कथा र पटकथा समेत आफैँले तयार पारेका हुन् ।
फिल्मले नेपाली परिवारमा ‘बुवा’ को महत्व र अस्तित्वलाई प्रस्तुत गर्ने बताइएको छ । बाबुले आफ्नो सन्तानको उज्ज्वल भविष्यका लागि गर्ने अथक त्याग, जीवनभर सामना गर्ने चुनौती र संघर्षलाई फिल्ममा ‘योद्धा’ को रूपमा चित्रण गरिने निर्माण टिमले जनाएको छ । निर्माण टिमका अनुसार ग्रामीण परिवेशदेखि सहरी समाजसम्मका एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारी र भावनात्मक सम्बन्धको कथालाई फिल्मले पर्दामा उतार्ने लक्ष्य राखेको छ ।
साथै, यो एक शुद्ध सामाजिक र भावनात्मक मनोरञ्जनात्मक फिल्म हुने जनाइएको छ । यस फिल्मका निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जक समेत रहेका उनले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर फिल्म ‘कर्मा’ निर्माण गरेका थिए । शिवराम श्रेष्ठले छायांकन गरिरहेको फिल्मको मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने रहेका छन् । छायांकनको सम्पन्न भएपछि मात्र प्राविधिक पक्षको काम हेरेर प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्