कोहलपुर ।
नेपाली मौलिक लोकसंस्कृति, लोकभाका तथा लोकसंगीतको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले बाँकेमा “प्रथम बाँके खुल्ला एकल लोकगीत प्रतियोगिता–२०८३” कोहलपुरमा आयोजना हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा बाँकेको आयोजना जेठ १५ गते एक दिन प्रतियोगिता आयोजना हुने भएको हो ।
लोकगीत तथा लोकसंगीत संरक्षण गर्न प्रतियोगिताको आयोजना गरिएको प्रतिष्ठान बाँकेका अध्यक्ष वीरेन्द्र सिंह ठकुरीले बताए । पछिल्लो समय आधुनिकता, प्रविधिको तीव्र विकास तथा विदेशी संस्कृतिको प्रभावका कारण नेपाली मौलिक लोकसंस्कृति ओझेलमा पर्दै गएको भन्दै यसको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ ।
गर्मी मौसम रहेकाले कार्यक्रम कोहलपुर न्यूरोड खुला मैदानमा साँझ ४ बजेदेखि राती ११ बजेसम्म सञ्चालन हुने उनले बताए । उनले प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार, द्धितीय ३० हजार ,तृतीय २० हजार र सन्तावनामा दुई जनालाई समान ५÷५ हजार पुरस्कार रहेको जानकारी दिए ।
बाँके जिल्ला भन्दा बाहिरबाट सहभागिता जनाउने कलाकारहरूको आवास तथा भोजनको व्यवस्था आयोजक संस्थाले गर्ने जनाएको छ । आयोजकले यस प्रतियोगिताले बाँकेको सांगीतिक तथा सांस्कृतिक गरिमालाई राष्ट्रियस्तरमा थप स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।प्रतियोगितामा उमेर र दर्ता शुल्क कुनै तोकिएको छैन् । देशभर रहेका जुनसुकै प्रतिभावन व्यक्तिहरुले सहभागीता जनाउन सक्ने आयोजकले जनाएको छ । कार्यक्रम निःशुल्क रुपमा खुला मैदानमा हेर्न सकिने छ ।









प्रतिक्रिया दिनुहोस्