पार्टी सभापतिको सिफारिसमा श्रममन्त्री साह पदमुक्त



काठमाडौँ ।

प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको लिखित सिफारिसका आधारमा प्रधानमन्त्रीले साहलाई पदमुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साहले मन्त्रीको जिम्मेवारी सम्हालेको दुई सातामात्र भएको थियो । मन्त्री पदमा रहँदै उनले पदीय मर्यादाविपरीत कार्य गरेको आरोप लागेपछि पार्टी नेतृत्वले कारबाही प्रक्रिया अघि बढाएको हो । रास्वपाका सभापति लामिछानेले श्रममन्त्री साहले आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा सक्रिय बनाउने प्रयास गरेको भन्दै पदको दुरुपयोग भएको निष्कर्ष निकालेका थिए ।

सोही विषयमा कारबाही गर्न उनले प्रधानमन्त्रीसमक्ष औपचारिक सिफारिस गरेका थिए । यसअघि रास्वपाको केन्द्रीय अनुशासन आयोगले घटनाको विस्तृत अध्ययन गरी मन्त्री साहलाई कारबाही गर्नुपर्ने सुझावसहितको प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको थियो । पार्टी विधानको धारा २५ (४) (क)अनुसार सभापतिलाई पार्टीको आदर्श र मर्यादा जोगाउने जिम्मेवारी दिइएको र धारा ६९ अनुसार आवश्यक परे जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने व्यवस्था भएकाले साहलाई पदमुक्त गर्न सिफारिस गरिएको जनाइएको छ ।

प्रधानमन्त्रीको प्रेस विज्ञ दीपा दाहालका अनुसार सोही सिफारिसका आधारमा श्रममन्त्री साहलाई पदबाट हटाउने निर्णय गरिएको हो । यसैबीच सभापति लामिछानेको सिफारिसअनुसार प्रधानमन्त्री शाहले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई पनि सचेत गराएका छन् । मेहताले पनि जिम्मेवारीअनुसार गम्भीरता नदेखाएको भनिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २७ गते शुक्रबार