शंकर प्रसाद पोख्रेल । बुटवल ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा ‘लुम्बिनी प्रदेशमा भैँसीको वंश सुधार तथा उत्पादकत्व वृद्धि’ विषयक प्राविधिक कार्यशाला सम्पन्न भएको छ । प्रदेशमा पशुपालन क्षेत्रको दिगो विकास, दुग्ध उत्पादनमा वृद्धि तथा किसानको आयआर्जन सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालामा नीति निर्माता, प्राविधिक, विज्ञ तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । मन्त्री पन्थीले पशुपालन क्षेत्रलाई आधुनिक, वैज्ञानिक र व्यावसायिक बनाउँदै लैजानु आवश्यकता भएको उल्लेख गरे । उनले भैँसीपालनलाई प्रदेशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्रका रूपमा व्याख्या गर्दै उन्नत नस्ल विकास, कृत्रिम गर्भाधान, पोषण व्यवस्थापन तथा रोग नियन्त्रणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
साथै, किसानमैत्री नीति, प्रविधि हस्तान्तरण र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे । निमित्त महानिर्देशक श्रवणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य निर्देशनालयका वरिष्ठ अधिकृत लोकराज भुसालले राखेका थिए । भुसालले प्रदेशमा भैँसीपालनको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे प्रकाश पार्दै यस्ता प्राविधिक कार्यशालाले नीति निर्माण र कार्यान्वयनबीच समन्वय कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यशालामा प्रस्तुत कार्यपत्र र विषयगत प्रस्तुतीकरणहरू अत्यन्तै उपयोगी र जानकारीमूलक रहेका थिए । वरिष्ठ पशु विज्ञ डा. भूमिनन्दन देवकोटाले ‘नेपालमा भैँसीको वंश सुधारको अवधारणा, तरिका र यसको महत्व’ विषयमा विस्तृत प्रस्तुतीकरण दिएका थिए । उनले परम्परागत पशुपालन प्रणालीलाई वैज्ञानिक आधारमा रूपान्तरण गर्न नस्ल सुधार अपरिहार्य रहेको उल्लेख गर्दै उन्नत भैँसीको विकासमार्फत दूध उत्पादन, प्रजनन क्षमता र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिने बताए ।
साथै, स्थानीयस्तरमा उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग गर्दै दिगो पशुपालन प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए । त्यसैगरी, डा. श्रीधर न्यौपानेले कार्यपत्र प्रस्तुत गर्दै प्रदेशमा भैँसीपालनको अवस्था, उत्पादन प्रवृत्ति, समस्याहरू तथा सुधारका सम्भावित उपायहरूको विश्लेषण प्रस्तुत गरेका थिए । कार्यशालामा डा. भक्त न्युरे, डा. लोकनाथ पौडेल, रामप्रसाद पाण्डे, डा. निराजन भट्टराई लगायतका विज्ञ तथा प्राविधिकहरूले आ–आफ्ना अनुभव, अनुसन्धान र सुझावहरू प्रस्तुत गरेका थिए ।
उनीहरूले भैँसीको गुणस्तरीय बीउ उत्पादन, चरन व्यवस्थापन, पोषण सुधार, पशु स्वास्थ्य सेवा सुदृढीकरण तथा बजार पहुँच विस्तारका विषयमा महत्वपूर्ण धारणा राखेका थिए । सहभागीहरूले आधुनिक प्रविधिको प्रयोग, किसानलाई नियमित तालिम तथा परामर्श सेवा उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्