27 February 2021  |   शनिबार, फाल्गुन १५, २०७७

राजनीति छाडेर कुखुरापालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन २४, २०७३  

कोहलपुर, २४  फागुन  /  महादेवपुरी ३ उद्येनकी झम्पा गौतम (सुनिता) राजनीति छाडेर ब्यवसायिक कुखुरापालनमा लागेकी छन् । कुखुरापालन ब्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि गौतम व्यवसायिक रुपमा कुखुरापालनमा लागेकी हुन् ।
२०५४ देखि राजनीतिमा सक्रीय गौतम नेकपा माओवादी केन्द्र बाँके जिल्ला कमिटी सदस्यको रुपमा काम गर्दै आएकी थिइन् । हाल उनी राजनीतिमा सक्रिय छैनन् । ‘ब्यवसायिक कुखुरा पालनमा लागेपछि राजनीतिमा निष्क्रिय जस्तै छु’ गौतमले भनिन् ‘तर, आस्था भने छोडेको छैन ।’
सुरुमा ५ सय कुखुराबाट सुरु गरेकी गौतमले हाल ११ सय कुखुरा अट्ने दुईवटा आधुनिक घर निर्माण गरेकी छन् । आफूले ब्यबसायिक कुखुरा पालन गरेपछि अन्य छिमेकीहरुले समेत कुखुरा पाल्न सुरु गरेको उनको भनाई छ । उनका छिमेकी देवराज खत्री गौतमले कुखुरापालन व्यवसायबाट आफू प्रभावित भएको बताए । यस्तै अर्के छिमेकी शुक्रराज के.सी .ले महिला भएर पनि एकै साथ यति धेरै व्यवसाय सम्हाल्नु गर्वको बिषय भएको बताए ।
महादेवपुरी साना किसान सहकारी संस्थाका प्रबन्धक हरिस चन्द्र केसीले गौतमलाई कुखुरा पालन व्यवसायका लागि २ लाख ऋण सहयोग गरेको र थप तालिम दिने व्यवस्था गर्न लागेको जानकारी दिए ।
कुखुरा पालन ब्यबसायबाटै गौतमले ८५ हजारको लागतमा ३ सय वाटको सोलार प्यानल समेत जडान गरेकी छन् । ४३ बर्षिय गौतम कुखुरा पालनका साथ साथै सामाजिक सेवामा समेत अग्रसर छिन् । हाल उनी साना किसान सहकारी संस्था महादेवपुरीको उपाध्यक्ष महादेवपुरी गाउँ बाल संरक्षण समितिको उपाध्यक्ष तथा जिल्ला शान्ति समितिको सल्लाहाकार लगायतको क्षेत्रमा काम गदै आएकी छन् । गौतमका श्रीमान जनता मा वि मा अध्यापन गराउँछन् । उनको एक छोरा र तीन छोरी छन् ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २४, २०७३     1:30:43 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *