नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा यस वर्ष सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ३८ हजार ३७९ विद्यार्थी सहभागी भएका छन् । परीक्षा निर्धारित तालिकाअनुसार नियमित रूपमा सञ्चालन भइरहेको सम्बन्धित निकायले जनाएको छ । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन कडाइ गरिँदै आएको छ ।
सोही क्रममा अमर्यादित गतिविधिमा संलग्न भएको आरोपमा हालसम्म १८ जनालाई निष्कासन गरिएको छ । निष्कासितमध्ये जुम्लाबाट केन्द्राध्यक्ष र निरीक्षक गरी दुई जना रहेका छन् भने जाजरकोटबाट १६ जना रहेका छन् । शिक्षा विकास निर्देशनालय सुर्खेतले निष्पक्ष र शान्तिपूर्ण वातावरणमा प्रदेशभर परीक्षा सञ्चालन गर्न आवश्यक सबै उपायहरू अपनाइएको जनाएको छ ।
साथै, परीक्षामा कुनै पनि किसिमको अनुचित गतिविधि नगर्न विद्यार्थी तथा सरोकारवालाहरूलाई आग्रह गरिएको छ । परीक्षा सञ्चालनका लागि प्रदेशभर १६१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । कर्णालीमा नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ ६ हजार १२४ विद्यार्थीले परीक्षा दिइरहेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा ४६१ ले बढी हो । जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी विद्यार्थी सुर्खेतमा रहेका छन् ।
सुर्खेतका ३४ परीक्षा केन्द्रबाट कूल नौ हजार ७७९ विद्यार्थी परीक्षा दिँदैछन् । जसमा सात हजार २९४ नियमित र दुई हजार ४८५ ग्रेड वृद्धितर्फका छन् । सबैभन्दा कम विद्यार्थी डोल्पामा रहेका छन्, जहाँ चार परीक्षा केन्द्रबाट ६७४ विद्यार्थी मात्र सहभागी भएका छन् । अन्य जिल्लाहरूमा दैलेखबाट ६ हजार २५३, जाजरकोटबाट चार हजार ८१३, सल्यानबाट चार हजार १४२, रूकुम पश्चिमबाट तीन हजार ९२२ र कालीकोटबाट तीन हजार ७१७ विद्यार्थी परीक्षा दिइरहेका छन् भने जुम्लाबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी सहभागी छन् ।
अघिल्ला वर्षहरूको तथ्यांक हेर्दा कर्णालीमा विद्यार्थी सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । गत वर्ष ३७ हजार ९११ विद्यार्थी सहभागी भएका थिए भने २०७९ मा ३८ हजार ९७० र त्यसअघि ३५ हजार ८०८ विद्यार्थीले परीक्षा दिएका थिए ।
१६ जना निरीक्षक निष्कासन
एसइई परीक्षा अमर्यादित बनाउने कार्यमा संलग्न जाजरकोटका १६ जना निरीक्षकलाई निष्कासन गरिएको छ । जाजरकोटका विभिन्न परीक्षा केन्द्रबाट निरीक्षकलाई निष्कासन गरिएको हो । बिहीबार र शुक्रबारका परीक्षामा बारेकोट गाउँपालिका–९ दिपेन्द्र माध्यामिक विद्यालय सक्ला परीक्षा केन्द्रबाट चार, आइतबार शिवशङ्कर माध्यामिक विद्यालय जगतपुरबाट चार, मानेढुङ्गा माध्यामिक विद्यालय टालेगाँउबाट दुई, नारायणी मावि परीक्षा केन्द्रमा खटिएका ६ जना गरी १६ जना निरीक्षकलाई निष्कासन गरिएको छ ।
जिल्ला परीक्षा समन्वय समितिका अनुसार एसइई परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित सकारात्मक भूमिका निर्वाह नगर्ने बालबालिकाको भविष्यप्रति खेलबाड गर्ने निरीक्षकलाई निष्कासन गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले परीक्षामा खटिएको अनुगमन टोलीद्वारा सम्बन्धित विद्यार्थीका अभिभावक र परीक्षार्थीलाई अमर्यादित बनाउने कार्यमा संलग्न निरीक्षकलाई निष्कासन गरिएको बताए ।
जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको निर्देशनमा निरीक्षकहरूलाई आगामी परीक्षामा खटिन नपाउने गरि निष्कासन गरिएको हो । उनका अनुसार परीक्षा उल्लंघन गरी मर्यादाविपरीत काम गर्ने निरीक्षकलाई स्पष्टीकरण सोधेर नाम सार्वजनिक गरिएको छ । यस्तै, परीक्षा सकिएपछि सोही दिन परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गर्न थालिएको छ । जाजरकोटमा चार हजार ८१३ जना विद्यार्थीमध्ये चार हजार ६५३ नियमित, ७०८ अनुपस्थित र ग्रेड वृद्धितर्फ १३२ जनामध्ये ९३ जनाले परीक्षा दिइरहेका छन् ।
केन्द्राध्यक्ष र निरीक्षक पदमुक्त
जुम्लाको दुर्गा मावि लाम्रा केन्द्रका केन्द्राध्यक्ष मुकुन्दराज शर्मा र निरीक्षक हरिदेवी रावल पदमुक्त भएका छन् । तातोपानी गाउँपालिका–५ स्थित सो केन्द्रका केन्द्राध्यक्ष शर्मा र निरीक्षक एकैसाथ पदमुक्त भएका हुन् । बिहीबार सकिएको पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा केन्द्राध्यक्ष र निरीक्षकले लापरबाही गरेको भन्दै उनीहरूलाई जिल्ला परीक्षा समितिले पदमुक्त गरेको हो ।
शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश लुवारका अनुसार नयाँ केन्द्राध्यक्षका रूपमा सोही विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीलाई नियुक्त गरिएको छ । उनका अनुसार पहिलो दिनको परीक्षामा एउटा उत्तरपुस्तिका हराएको भनियो । दोस्रोपटक गन्दा भेटियो भनियो । यो लापरबाहीपूर्ण कार्य सञ्चारमाध्यममा फैलिएपछि छानबिनका लागि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेश लुवार नेतृत्वको टोली परीक्षा केन्द्रमै पुगेको थियो ।
बिहान ७ बजे केन्द्रमा पुगेको टोलीले दिउँसो २ बजेसम्म छानबिन गरेको थियो । छानबिनका क्रममा एकपटक गन्दा नभेटिएको उत्तरपुस्तिका दोस्रोपटक गन्दा लट्पटिएको अवस्थामा भेटिएको भन्ने सुनियो । उत्तरपुस्तिका हराउनु र भेटिनुको बीचमा ठूलो लापरबाही देखिएकाले परीक्षा अवधिभर परीक्षा केन्द्रमा जान नपाउने गरेर उनीहरूलाई पदमुक्त गरिएको प्रमुख लुवारले बताए ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लुवारको नेतृत्वको टोलीले बिहानैदेखि मुचुल्का गरेर ७ नम्बर लाहाछाप लगाएको उत्तरपुस्तिकाको पोको लाम्रा प्रहरी चौकीका प्रमुख र सशस्त्र प्रहरी बलका एसपी देबबहादुर बोहराको रोहबरमा खोलेर हेरेको थियो । हराएको भनिएको उत्तरपुस्तिका भेटियो तर केन्द्रमा लापरबाहीका कारणले यो समस्या आएको भन्दै केन्द्राध्यक्षलाई पदमुक्त गर्ने निर्णय भएको उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्