सेतीमा टिकट काट्नै घण्टौँ लाइन, बिरामी मारमा



कैलाली ।

कैलालीको गोदावरी नगरपालिका बस्ने सरस्वती चौधरी बिहीबार बिहानै आफ्नो बिरामी बच्चालाई काखमा च्याँप्दै सेती प्रादेशिक अस्पताल पुगिन् । बिहान ६ बजेदेखि टिकट काट्ने लाइनमा उभिएकी उनी दुई घण्टासम्म कुर्दा पनि आफ्नो पालो नआएको भन्दै निराश देखिन्थिन् । ‘बच्चा बिरामी भएर ल्याएको, तर टिकट काट्नै यत्रो समय लाग्छ भने कसरी उपचार हुन्छ ?’ उनले गुनासो गरिन् ।

सरस्वतीजस्तै धेरै बिरामी र तिनका आफन्तहरू अस्पतालको टिकट काउन्टरअगाडि लामो लाइनमा उभिएका थिए । भिड, अव्यवस्था र ढिलाइले सेवा लिन आएका सर्वसाधारणलाई सास्ती दिइरहेको देखिन्थ्यो । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का कैलाश चन्द पनि चेकजाँच गराउन बिहानै अस्पताल पुगेका थिए ।

उनी अस्पताल व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै भन्छन्, ‘ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई यस्तो भिडमा लाइन बस्न निकै गाह्रो हुन्छ। उनीहरूका लागि छुट्टै व्यवस्था हुनुपर्छ ।’ उनले टिकट काट्ने प्रक्रिया छिटो बनाउन अनलाइन प्रणाली, छुट्टै काउन्टर र बस्ने सुविधा आवश्यक रहेको बताए ।

कञ्चनपुरबाट उपचारका लागि आएकी धौली बोहरा पनि टिकट लिन नसकेर लामो समयदेखि कुर्दै थिइन् । घुँडा र कानको समस्याबाट पीडित उनी भन्छिन्, ‘ज्येष्ठ नागरिकका लागि छुट्टै लाइन वा छिटो सेवा भएको भए अहिलेसम्म डाक्टरलाई देखाएर घर फर्किन्थेँ ।’ उनीजस्तै अन्य वृद्धवृद्धाहरू पनि लाइनमा उभिन नसक्ने अवस्था हुँदाहुँदै बाध्य भएर कुर्नु परिरहेको थियो ।

अस्पताल परिसरमा भेटिएका रमेश यादव आफ्नो बच्चाको उपचार गराउन आएका थिए । बिहान ६ बजेदेखि लाइनमा उभिएका उनी करिब दुई घण्टासम्म पालो नआएको भन्दै आक्रोशित थिए । ‘यदि टोकन सिस्टम ल्याइयो भने कम्तीमा लाइनमा घण्टौँ उभिनुपर्ने अवस्था हट्छ,’ उनले सुझाव दिए । ७० वर्षीय सुरेन्द्र बोहरा पनि स्वास्थ्य परीक्षणका लागि अस्पताल आएका थिए । उनले हालको टिकट प्रणालीले झन् समस्या बढाएको बताए ।

‘स्वास्थ्य बीमा भएका र नभएका सबैले एउटै ठाउँमा टिकट काट्नुपर्छ । यसले भिड बढाएको छ,’ उनले भने । उनका अनुसार बीमा सेवाग्राही, ज्येष्ठ नागरिक, महिला र अन्य बिरामीका लागि छुट्टाछुट्टै काउन्टर भए व्यवस्थापन सहज हुने थियो । सेती प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशकै प्रमुख सरकारी स्वास्थ्य संस्था हो । यहाँ दैनिक सयौँ बिरामी उपचारका लागि आउने गर्छन् ।

अस्पताल प्रशासनका अनुसार मासिक रूपमा बाह्य (ओपीडी) सेवामा २० हजारभन्दा बढी, अन्तरंग सेवामा १५ सयभन्दा बढी, आकस्मिक सेवामा १५ सयभन्दा बढी र सामाजिक सेवा इकाईमार्फत ६ सयभन्दा बढी सेवाग्राहीले सेवा लिने गरेका छन् । तर सेवा लिनेको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापन पक्ष भने सोहीअनुसार सुधार हुन नसकेको गुनासो सेवाग्राहीहरूको छ । विशेषगरी टिकट वितरण प्रणाली, लाइन व्यवस्थापन, सूचना प्रवाह र सेवा पहुँचमा सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ ।

अस्पतालमा आउने अधिकांश बिरामीहरू ग्रामीण क्षेत्रबाट आउने भएकाले उनीहरू बिहानैदेखि लाइनमा बस्न बाध्य छन् । लामो दूरी तय गरेर आएका बिरामीहरूका लागि यस्तो अव्यवस्था झन् पीडादायी बन्ने गरेको छ । स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले सानो ढिलाइले पनि बिरामीको अवस्थालाई गम्भीर बनाउन सक्छ । तर सेती प्रादेशिक अस्पतालमा देखिएको यस्तो अव्यवस्थाले बिरामीको पीडा झन् बढाइरहेको छ ।

टिकट वितरण प्रणालीलाई व्यवस्थित बनाउन डिजिटल प्रविधिको प्रयोग गर्न सकिन्छ । अनलाइन टिकट, टोकन प्रणाली, मोबाइल एपमार्फत पूर्वबुकिङ जस्ता उपाय अपनाउँदा भिड नियन्त्रण गर्न सकिने उनीहरूको भनाइ छ । साथै, ज्येष्ठ नागरिक, गर्भवती महिला र बालबालिकाका लागि प्राथमिकता सेवा लागू गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ ।

अस्पताल प्रशासनले भने सीमित स्रोत र जनशक्तिका कारण समस्या समाधानमा चुनौती रहेको बताउने गरेको छ । तर सेवाग्राहीहरू तत्काल सुधारको अपेक्षा राखिरहेका छन् । स्थानीय सरकारले समेत यस विषयमा चासो दिनुपर्ने आवाज उठ्न थालेको छ । सुदूरपश्चिम प्रदेशको मुख्य अस्पताल भएकाले यहाँको सेवा स्तर सुधार्नु अत्यन्त आवश्यक देखिन्छ ।

सरस्वती चौधरीजस्तै हजारौँ सेवाग्राही दैनिक यस्तो समस्याबाट गुज्रिरहेका छन् । उनीहरूको एउटै अपेक्षा छ– छिटो, सहज र व्यवस्थित स्वास्थ्य सेवा । समयमै सुधारका कदम चालिएनन् भने अस्पतालप्रति जनविश्वास घट्न सक्ने देखिन्छ । त्यसैले सम्बन्धित निकायले यस्ता समस्यालाई गम्भीरतापूर्वक लिएर समाधानतर्फ अग्रसर हुनुपर्ने देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार