कैलाली ।
सुदूरपश्चिम प्रदेश भ्रमण गर्ने पर्यटक सङ्ख्या १७ प्रतिशतले वृद्धि भए पनि होटलको अकुपेन्सी बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले यही कात्तिकमा प्रकाशन गरेको आर्थिक वर्ष २०८२–०८३ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अध्ययन गरिएका होटलको औसत अकुपेन्सी ३४.६९ प्रतिशत छ ।
राष्ट्र बैंकले प्रदेशमा सञ्चालनमा रहेका पर्यटकस्तरीय होटलमध्ये ११ वटा होटलहरूबाट तथ्यांक संकलन गरी विश्लेषण गरेको थियो । ‘समीक्षा अवधिमा नमुनाको रूपमा छनौट गरिएका ११ होटलहरूको औसत अकुपेन्सी ३४.६९ प्रतिशत रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘समीक्षा अवधिमा यस्ता होटलहरूमा भारतबाट आउने पर्यटकहरूको सङ्ख्यामा १७ प्रतिशतले वृद्धि भएको देखिन्छ ।’
उक्त होटलहरूबाट प्राप्त तथ्यांकअनुसार समीक्षा अवधिमा भारतीय पर्यटकहरू १७ हजार ९९७ जना, चिनियाँ पर्यटक ९४ जना तथा तेस्रो मुलुकबाट ७३१ जना गरी जम्मा १८ हजार ८२२ जना बाह्य पर्यटकहरूले यस प्रदेशमा भ्रमण गरेको राष्ट्र बैंकले जनाएको छ । ‘समीक्षा अवधिमा २११ जना पुरुष तथा ७९ जना महिला गरी जम्मा २९० जनाले यस्ता होटलहरूमा रोजगारी पाएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘चीन तथा तेस्रो मुलुकबाट आउने पर्यटकहरूको सङ्ख्यामा क्रमशः ४३ प्रतिशत र ४८ प्रतिशतले कमी आएको देखिन्छ ।’
पर्यटकस्तरीय होटल तथा लज, सडक, सुरक्षा व्यवस्था तथा अन्य पर्यटन व्यवसायको लागि आवश्यक पूर्वाधारको विकास गरी आन्तरिक तथा बाह्य पर्यटकहरूको बसाइँ अवधि तथा खर्चमा अभिवृद्धि गर्नुका साथै आन्तरिक रोजगारी प्रर्वद्घन गर्नु चुनौती रहेको राष्ट्र बैंकले जनाएको छ । सुदूरपश्चिममा रहेका धार्मिक, सांस्कृतिक, पुरातात्विक पर्यटकीय क्षेत्रहरूमा आवश्यक पूर्वाधारहरूको विकास तथा प्रवद्र्धनमार्फत आन्तरिक एवं बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य स्थलहरूको पहिचान तथा विकास गर्नु पनि चुनौती रहेको प्रतिवेदनमा उल्लेख छ ।
सुदूरपश्चिमका विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरहरूको पहिचान, संरक्षण र प्रवद्र्धन गर्न सके आन्तरिक एवम् बाह्य पर्यटकको आगमनमा वृद्धि भई प्रदेशको आर्थिक विकास एवम् रोजगारीमा टेवा पुग्न सक्ने पनि राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्