इनिशा हत्या प्रकरणः पीडित र आरोपित दुवै पक्ष आन्दोलित



नन्दराम जैशी । सुर्खेत ।

इनिशा विक हत्या प्रकरणमा पक्राउ परेका चारैजना आरोपितविरुद्ध सामूहिक बलात्कार र कर्तव्य ज्यान उद्योग मुद्दाको फाइल अदालत पेश भएको छ । एकातिर घटनाको अनुसन्धानसँगै मुद्दा प्रक्रिया अघि बढेको छ भने अर्कोतिर पीडित र आरोपित दुवै पक्षले आन्दोलन चर्काएका छन्। सोमबार दुवै पक्षका आफन्त तथा समर्थकहरूले प्रदर्शन तथा धर्नामा बसेर आ–आफ्ना माग राख्दै विरोध जनाएका हुन् ।

आरोपित पक्षका परिवारजन तथा स्थानीयले निर्दोषलाई ‘सजाय होइन, न्याय चाहिन्छ, न्यायालयलाई प्रभावित गर्नेलाई पनि कारबाही गर’ जस्ता नाराबाजी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् । उनीहरूले घटनामा संलग्न नभएका व्यक्तिलाई फसाइएको दाबी गर्दै वास्तविक दोषी पहिचान गर्नुपर्ने बताएका छन् भने तीन आरोपित किशोरहरू निर्दोष भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरिएको छ ।

उनीहरूले घटनाको सत्यतथ्य उजागर नगरी आरोपितहरूलाई दोषी ठहर गर्ने प्रयास भइरहेको आरोप समेत लगाएका छन् । यता पीडित पक्षले भने दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग राख्दै छुट्टै प्रदर्शन गरेका छन् । उनीहरूले जिल्ला अदालत सुर्खेत अगाडि घटनामा संलग्न व्यक्तिहरूलाई कानुनअनुसार कडा सजाय दिलाउन दबाब दिन आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

दुवै पक्षको विरोधका कारण जिल्ला अदालत आसपासको क्षेत्र केही समय तनावग्रस्त बनेको थियो । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन अतिरिक्त प्रहरी परिचालन गरेका थिए । प्रहरीले सबै पक्षलाई कानुनी प्रक्रियामा विश्वास गर्न आग्रह गरिएको छ । साथै, जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनै पनि प्रकारको उक्साहट वा हिंसात्मक गतिविधि नगर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

इनिसा विक प्रकरणले स्थानीयस्तरमा चासो र बहस बढाउँदै लगेका बेला दुवै पक्षको आन्दोलनले थप संवेदनशीलता सिर्जना गरेको छ ।
पीडित पक्षले भने दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग राख्दै आन्दोलनलाई निरन्तरता दिएका हुन् । उनीहरूले न्यायिक प्रक्रिया छिटो टुंग्याएर पीडितलाई न्याय दिनुपर्नेमा जोड दिएका छन् ।

अदालतमा फाइल पेश

इनिशा विकको मृत्यु प्रकरणको फाइल अदालतमा पुगेको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले सुर्खेत जिल्ला अदालतमा फाइल पेश गरेको हो । सरकारी वकिलको कार्यालयले आरोपी चारैजना नाबालकलाई सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्दामा अभियोग पत्र पेश गरेको छ ।

सामूहिक बलात्कारको हकमा जनही १० देखि १२ वर्ष कैद र क्षतिपूर्तिबापत पाँच लाख रूपैयाँ दाबी गरिएको छ । त्यस्तै ज्यान मार्ने उद्योगमा भने चारै जनालाई आजीवन जन्मकैद माग दाबी गरिएको छ । तर नाबालक भएका कारण कूल सजायको दुईतिहाइ मात्रै सजाय माग गरिएको हो । मुद्दा दायर गर्दा प्रमाणका रूपमा सरकारी पक्षले विभिन्न प्राविधिक र भौतिक तथ्यहरूलाई पेस गरेको छ ।

घटनास्थलको मुचुल्का, मृतकको पोष्टमार्टम रिपोर्ट र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको प्रयोगशाला परीक्षण प्रतिवेदनलाई मुख्य आधार बनाइएको छ । पोष्टमार्टम रिपोर्टले मृतकको शरीरमा देखिएका चोटपटक र मृत्युको प्रकृतिले घटना स्वाभाविक नभई हत्या भएको संकेत गरेको अभियोग पत्रमा उल्लेख छ । साथै, घटनास्थलबाट बरामद गरिएका सामानहरू र अभियुक्तहरूको मोबाइल फोनको डिजिटल फरेन्सिक विश्लेषणबाट प्राप्त कल डिटेल र म्यासेजहरूलाई पनि प्रमाणका रूपमा प्रस्तुत गरिएको छ ।

यसबाहेक, घटनाको समयमा अभियुक्तहरूको उपस्थिति र उनीहरूले दिएको बयानमा देखिएको विरोधाभासलाई पनि अभियोगको बलियो आधार मानिएको छ । जाहेरवालाका तर्फबाट पेश गरिएका प्रमाण र घटनाको गम्भीरतालाई मध्यनजर गर्दै पीडित पक्षले दोषीलाई कडाभन्दा कडा सजाय र उचित क्षतिपूर्तिको समेत माग गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १७ गते मंगलबार