एमाले नेता मल्ल जबरजस्ती करणी मुद्दामा पक्राउ



मुगु ।

टिकटकर युवतीसँग लिभिङ टुगेदरमा बसेर जिम्मा नलिएपछि मुगुका एमाले नेता कर्णबहादुर मल्ल जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् । जिल्लाको मुगुको सोरु गाउँपालिका–१० घर भई मल्ल हाल काठमाडौँ चन्द्रागिरी– ७ बस्दै आएका छन् । ५२ वर्षीय मल्ललाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।

कालीकोटकी एक टिकटकर युवती र मल्ल लिभिङ टु गेदरमा रहेको उल्लेख छ । सँगै बस्ने, तर विवाह नगर्ने कारण उनीहरूबीच विवाद हुँदै आएको प्रहरीले जनाएको छ । पीडित महिलाले फागुन ४ गते मल्लविरुद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन् ।

प्रहरीले पक्राउ नगरेको भन्दै पीडित महिला माइतीघर मण्डलामा धर्ना बसेकी थिइन् । केही समय लुक्दै, भाग्दै हिँडेका मल्ल शनिबार फेला परेको जिल्ला प्रहरी ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार