प्रतिष्ठानले भरपर्दो सेवा दिन नसकेको गुनासो



जुम्ला ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले भरपर्दो सेवा दिन नसकेको गुनासो आएको छ । प्रतिष्ठानको सेवा सुधारका लागि सुझाव माग गर्दा अपेक्षाअनुसार भरपर्दो सेवा दिन नसकेको गुनासो गरिएको हो । बुधबार जुम्लामा आयोजित सर्वदलिय तथा सर्वपक्षीय छलफल तथा सुझाव संकलन कार्यक्रममा सहभागीहरूले प्रतिष्ठानले भरपर्दो सेवा दिन नसकेको बताएका हुन् ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार तथा सर्वसाधारणले सामान्यदेखि जटिल प्रकृतिका बिरामी समेत बाहिर रेफर गर्ने क्रम बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । सहभागी वक्ताहरूले प्रतिष्ठानमा आवश्यक जनशक्ति, उपकरण तथा सेवा व्यवस्थापनको अभावका कारण बिरामीले समयमै उपचार नपाउने अवस्था रहेको गुनासो गरे ।

साथै, बिरामीमैत्री वातावरण सिर्जना, पारदर्शी व्यवस्थापन र नियमित अनुगमन प्रणाली लागू गर्नुपर्ने सुझावसमेत दिइएको थियो । प्रतिष्ठानलाई कर्णाली प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन योजना आवश्यक रहेको औँल्याइएको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले सम्बन्धित निकायले तत्काल सुधारका कदम चाल्न नसके स्वास्थ्य सेवाप्रति जनविश्वास घट्दै जाने चेतावनी समेत दिएका छन् ।

कार्यक्रम आयोजकले प्राप्त सुझावहरूलाई समेटेर सेवा सुधारका लागि ठोस योजना बनाइने प्रतिबद्धता जनाएका छन् । छलफलका क्रममा सहभागीहरूले विशेषज्ञ चिकित्सकको अभाव पूर्ति गर्न, अत्याधुनिक उपकरणको व्यवस्था गर्न तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । छलफलमा चन्दननाथ नगरपालिका–२ का वडाध्यक्ष हेमबहादुर बुढ्थापाले पश्चिम नेपालको भरोसा केन्द्र भनिए पनि रेफरल सेन्टर बनेकोले सेवा सुधारमा ध्यान दिन अनुरोध गरे ।

प्रतिष्ठानले सेवा प्रदान भन्दा चिकित्सा शिक्षा अध्ययनतर्फ जोड दिई आम्दानी वृद्धिमा केन्द्रित भएको उनले टिप्पणी गरे । स्थानीय सर्पानन्द हमालले प्रतिष्ठानमा ओपीडिदेखि ल्याब तथा बील काउन्टर अस्वभाविक भिड भएकाले भिड न्यूनीकरण र छिटो छरितो सेवा प्रदानमा ध्यान दिन सुझाव दिए ।

नागरिक समाजका अध्यक्ष राजबहादुर महतले प्रतिष्ठानको कर्मचारी भर्ना, सुशासन, सेवा प्रवाह पक्ष अपारदर्शी भएको आरोप लगाए । गुणस्तरीय औषधि नपाउने, चिकित्सकले विनम्र व्यवहार नगर्ने, शौचालय सरसफाइ र खानेपानीको उपलब्धता न्यून भएकोमा सुधार गर्न उनको आग्रह छ । बेला बेला एक्सरे मेसिन थन्काउने, सेवा प्रभावित हुने, कर्मचारीहरू बढी राजनीतिक गर्ने, मनपरी नियुक्ति बढुवा जस्ता काम भइरहेकाले प्रतिष्ठानको सुधारका लागि त्यस्ता कार्य रोक्न नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्णप्रसाद चौलागाँईले जोड दिए ।

प्रतिष्ठान सेवामुखीभन्दा आम्दानीमुखी भएकोले नागरिकको स्वास्थ्यमाथि खेलबाड नगर्न र जिम्मेवारी पूर्ण रूपमा काम गर्न आग्रह गरे ।
पटक पटक मेसिन बिग्रिने र महिनौँ दिन सेवा बन्द हुने समस्या दोहोरिँदै आएकाले जनताप्रति जिम्मेवार भएर काम गर्न जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए । सेवा प्रवाह भरपर्दो नभएको विषय जोडदार उठेकाले नयाँ पदाधिकारीले परिणाममुखी काम गर्नुपर्नेमा उनको जोड छ ।

स्वास्थ्य सेवातर्फ तथ्यांकमा उल्लेखीय प्रगति देखिए पनि व्यवहारमा धेरै कुरा सुधार नभएको समेत टिप्पणी गरिएको छ । पूर्वराज्यमन्त्री बलबहादुर महतले विगतमा शव पोष्टमार्टम गर्न डाक्टर कुर्ने जुम्लाले डाक्टर उत्पादन गरिरहेको विषयमा गौरव गर्नुपर्ने बताए । तर अब्बल डाक्टर उत्पादन गर्ने प्रतिष्ठानबाट सामान्य बिरामी रेफर हुनु दुःखद पक्ष भएकाले सुधार्न उनको अपिल छ ।

कर्णाली प्रदेशसहित सुदूरपश्चिम प्रदेशका तीन जिल्ला गरी १३ जिल्लामा सेवा विस्तार भए पनि १३ वटै जिल्लासँग समन्वय प्रभावकारी गर्नुपर्नेमा स्थानीयले सुझाव दिएका छन् । प्रतिष्ठानका शिक्षाध्यक्ष डबलबहादुर धामीले शैक्षिक प्रगति र नर्सिङ ड्राइरेक्टर सविना थापाले स्वास्थ्य सेवाको प्रस्तुतीकरण समेत गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति डाक्टर पुजन रोकायाले उपलब्ध सीमित स्रोत साधनको अधिकतम परिचालन गरी प्रतिष्ठानको सेवा प्रवाह अध्ययन तथा अनुसन्धानको काम भइरहेको बताए । उनका अनुसार ६ अर्ब लगानीमा निर्माण हुने प्रतिष्ठानको बहुउद्देश्यीय परियोजना अलपत्र छ भने ५०० बढी शिक्षक विद्यार्थीहरू भाडाकै घरमा बस्न बाध्य छन् ।

स्रोत अभावका बीच चलेको प्रतिष्ठान सुधारको बाटोमा छ । डायलासिस सेवादेखि ब्लड बैंक सुचारु गरिएको छ भने सेवा सुधार पहिलो प्रथामिकतामा रहेको रोकायाले बताए । प्रतिष्ठानका रजिस्ट्रार लक्ष्मीचन्द्र महतले प्रतिष्ठानलाई सरकारले दिने बजेट घट्दै गएकोले प्रतिष्ठान सञ्चालनमा निकै कठिनाइ भएको बताए । प्रतिष्ठानले सेवा प्रवाह, अध्ययन र अनुसन्धानलाई परिणाममुखी बनाउने सोच राखेकाले सबै सरोकारवालाबाट सकरात्मक सहयोगको आशा गरिएको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार