सशस्त्र डीएसपीमाथि आक्रमण गर्ने एक पक्राउ



धनगढी ।

कैलालीको खक्रौलामा सशस्त्र प्रहरीको बीओपीभित्र प्रवेश गरेर सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलमाथि आक्रमण गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । डीएसपी पौडेलले दिएको जाहेरीका आधारमा टीकापुर नगरपालिका–९ का ४० वर्षीय रामबहादुर साउदलाई पक्राउ गरिएको हो ।

कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले इलाका प्रहरी कार्यालय टीकापुरले उनलाई पक्राउ गरेको जानकारी दिए । तिमिल्सिनाका अनुसार सशस्त्र प्रहरीका डीएसपी पौडेलले दिएको आपराधिक उपद्रव मुद्दामा साउदलाई पक्राउ गरिएको हो।
साउदसँगै अन्य पाँच जनाको नाममा समेत जाहेरी दिइएको छ ।

बीओपीभित्र प्रवेश गरेर सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा टीकापुरकै नयन साउद, सर्पराज साउद, सुरेश खड्का, रमेश खड्का र भारतको लखिमपुर खिरी बस्ने रशिद आलिखानविरुद्ध समेत जाहेरी दिइएको छ । फरार रहेका उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको बीओपी खक्रौलाले जीएसटी बील र भारतीय भन्सार पास भएका टीकापुरका व्यवसायीका सामान मंगलबार जफत गरेपछि विवाद भएको थियो । सोही विषयमा छलफल गर्न टीकापुर उद्योग वाणिज्य संघको टोली बीओपी खक्रौलामा पुगेका बेला बुधबार सशस्त्र प्रहरीमाथि एक समूहले आक्रमण गरेको थियो ।

बील–बिजक भेटिएपछि सशस्त्र प्रहरीले व्यवसायीले भारतबाट ल्याएको सामान उद्योग वाणिज्य संघमार्फत सम्बन्धित व्यवसायीलाई फिर्ता गरेको थियो । घटनाको छानबिनका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनीले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीको संयोजकत्वमा समिति गठन गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार