जेनजी आन्दोलनपछि एमालेको नयाँ प्रयोगःकैलाली– १ बाट युवा नेता द्वारिकालाई टिकट



शेरबहादुर ऐर । कैलाली ।

नेकपा (एमाले)ले कैलाली क्षेत्र नं १ बाट ४० वर्ष ननाघेका युवालाई उम्मेदवार बनाउने निर्णय गर्दै पार्टीभित्र पुस्तान्तरण र युवामुखी राजनीतितर्फको संकेत दिएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले जेनजी आन्दोलनपछिको राजनीतिक सन्देशलाई आत्मसात् गर्दै युवा नेता द्वारिका न्यौपानेलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो । लामो समयदेखि अनुभवी र वरिष्ठ नेताहरूको वर्चस्व रहँदै आएको नेपाली राजनीतिमा एमालेको यो निर्णयलाई अर्थपूर्ण र समयानुकूल कदमका रूपमा हेरिएको छ ।

हालै देशभर युवाहरूले राजनीतिक नेतृत्वमा सहभागिता, अवसर र प्रतिनिधित्वको माग गर्दै आवाज उठाइरहेका छन् । सामाजिक सञ्जालदेखि सडकसम्म देखिएको जेनजी आन्दोलनले परम्परागत दलहरूलाई नयाँ ढंगले सोच्न बाध्य बनाएको विश्लेषण भइरहेको छ । यही पृष्ठभूमिमा एमालेले कैलाली क्षेत्र नम्बर १ जस्तो राजनीतिक रूपमा संवेदनशील क्षेत्रमा युवालाई अघि सार्नु केवल उम्मेदवार चयन मात्र नभई आगामी दिनका लागि पार्टीको रणनीतिक सन्देशसमेत भएको नेताहरू बताउँछन् ।

द्वारिका न्यौपाने युवामाझ परिचित नाम हुन् । उनी यसअघि सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । २०७९ सालको प्रदेशसभा निर्वाचनमा उनले ५ हजार तीन सय २० मत प्राप्त गरेका थिए । यद्यपि, उक्त निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टी र नेपाली काँग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । पराजयका बाबजुद पनि न्यौपानेको राजनीतिक सक्रियता र जनसम्पर्क कमजोर परेको देखिँदैन । उल्टै, उनी त्यसपछि पनि कैलालीको विकास निर्माणका विषयमा केन्द्रिय तहमा पहल गर्दै आएको बताइन्छ ।

युवाहरूमाझ लोकप्रिय मानिने न्यौपानेले ‘उत्पादनलाई राजनीतिसँग जोड्नुपर्छ’ भन्ने अवधारणासहित अभियान सञ्चालन गर्दै आएका छन् ।उनका अनुसार राजनीति केवल भाषण र सत्ता प्राप्तिको माध्यम नभई स्थानीय उत्पादन, रोजगारी सिर्जना र आर्थिक सशक्तीकरणसँग जोडिनुपर्छ । यही दृष्टिकोणका कारण उनी युवा उद्यमी, विद्यार्थी र स्थानीय किसानहरूमाझ समेत चर्चा र समर्थन बटुल्न सफल भएका छन् । पार्टीभित्र पनि उनी व्यवहारिक र विकासमुखी नेताका रूपमा परिचित छन् ।

एमाले केन्द्रीय संगठन विभागले समेत न्यौपानेको उम्मेदवारी सिफारिसलाई सकारात्मक रूपमा लिएको जनाइएको छ । संगठन विभागका नेताहरूका अनुसार कैलाली क्षेत्र नं १ मा युवाको मत निर्णायक हुने देखिएकाले त्यही वर्गलाई प्रतिनिधित्व गर्न सक्ने उम्मेदवार आवश्यक थियो । ‘युवाले युवालाई नै खोजिरहेका छन्, र द्वारिका न्यौपाने त्यो अपेक्षामा खरो उत्रिन सक्छन्,’ पार्टी निकट स्रोतको भनाइ छ ।

कैलाली क्षेत्र नं १ राजनीतिक रूपमा प्रतिस्पर्धात्मक क्षेत्र मानिन्छ । विगतका निर्वाचनहरूमा यहाँ विभिन्न दलबीच कडा टक्कर देखिँदै आएको छ । विशेषगरी नागरिक उन्मुक्ति पार्टीको प्रभाव र काँग्रेसको परम्परागत आधारले एमालेका लागि चुनौती सिर्जना गर्दै आएको छ । यस्ता अवस्थामा युवामुखी उम्मेदवार अघि सारेर मतदाताको मन जित्ने रणनीतिमा एमाले देखिएको विश्लेषकहरू बताउँछन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार एमालेको यो निर्णय सफल भए अन्य दलहरू पनि युवालाई नेतृत्वमा ल्याउन दबाबमा पर्नेछन् । लामो समयदेखि एउटै अनुहार दोहोरिँदै आएको राजनीतिमा नयाँ पुस्ताको प्रवेशले नीति, शैली र प्राथमिकतामा परिवर्तन ल्याउन सक्ने अपेक्षा गरिएको छ । यद्यपि, युवालाई उम्मेदवार बनाउँदैमा मात्र परिणाम आउने होइन, उनीहरूलाई संगठन, स्रोत र निर्णय प्रक्रियामा वास्तविक अधिकार दिनुपर्ने चुनौती पनि उत्तिकै रहेको टिप्पणीहरू छन् ।

द्वारिका न्यौपाने स्वयंले पनि आफ्नो उम्मेदवारीलाई व्यक्तिगत उपलब्धिभन्दा सामूहिक प्रयासको अवसरका रूपमा लिएको बताएका छन् । उनले युवाको भरोसा जित्ने, विकास निर्माणलाई प्राथमिकतामा राख्ने र कैलालीको सम्भावनालाई राष्ट्रिय तहमा स्थापित गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । अबको निर्वाचनमा मतदाताले उनको विगतको भूमिका, दृष्टिकोण र भविष्यका योजनालाई कसरी मूल्यांकन गर्छन् भन्ने कुराले मात्रै होइन, एमालेको युवामुखी प्रयोग कत्तिको सफल हुन्छ भन्ने पनि निर्धारण गर्नेछ ।

सिफारिस नभएका र आन्तरिक चुनाव हारेका पनि उम्मेदवार

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन लड्ने उम्मेदवारको नाम टुंगो लगाइसकेको छ । शनिबार राति बसेको सचिवालय बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको हो । बैठकपछि उपमहासचिव लेखराज भट्टले उम्मेदवारको नाम सार्वजनिक गरे।
सार्वजनिक सूचीअनुसार सुदूरपश्चिममा कतै सिफारिस नभएका त कतै आन्तरिक चुनाव नै हारेकाले टिकट पाएका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा युवा संघका पूर्वअध्यक्ष बचनबहादुर सिंहलाई एमालेले उम्मेदवार बनाएको छ । उनी उम्मेदवार सिफारिसको आन्तरिक चुनावमा पराजित भएका थिए । त्यहाँ उम्मेदवार चयनका लागि मतदान भएको थियो । मतदानमार्फत प्रदेश कमिटी सदस्य पार्वती जोशी, अशोककुमार चन्द र नरबहादुर धामी विजयी हुँदै उम्मेदवार सिफारिस भएका थिए । जिल्ला अध्यक्ष लक्ष्मी बुढा र सिंह पराजित भएका थिए । सिंह २०७९ सालमा कञ्चनपुर २ को प्रदेश सभातर्फ (१)मा पनि पराजित भएका थिए ।

उनलाई माओवादीका ओमविक्रम भाटले पराजित गरेका थिए । कैलाली क्षेत्र नम्बर २ मा पूर्वजिल्ला समन्वय समिति सूर्यबहादुर थापालाई एमालेले टिकट दिएको छ । उनी पनि क्षेत्रीय कमिटीबाट सिफारिसमा परेका थिएनन् । त्यहाँबाट झपट रावल, कमलाकुमारी ओली र महादेव बजगाईंको नाम सिफारिस भएको थियो । यस्तै कैलाली– १ मा द्वारिका न्यौपाने, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट र ५ मा यज्ञराज ढुङ्गाना एमालेबाट चुनाव लड्ने भएका छन् ।

यस्तै कञ्चनपुर १ मा कमला बोहरा र ३ मा दीपक भट्ट तथा अछाम १ मा झपटबहादुर बोहरा र २ मा यज्ञ बोगटी उम्मेदवार बन्ने भएका छन् ।उपमहासचिव भट्टका अनुसार बाजुरामा लालबहादुर थापा, डोटीमा दीपक धामी, डडेल्धुरामा चक्र स्नेही, बैतडीमा दामोदर भण्डारी र दार्चुलामा गणेशसिंह ठगुन्ना उम्मेदवार बन्ने भएका छन् । सिफारिसमा परे पनि केही चर्चित अनुहारले भने टिकट पाएनन् ।

कर्ण थापा, नारदमुनी राना, झपट रावल, नरबहादुर धामी लगायतका नेता एमाले उम्मेदवारको रोजाइमा नपरेका हुन् । प्रदेशसभा त्यागेर डोटीबाट चक्र मल्ल पनि उम्मेदवार बन्ने तयारीमा थिए । तर, उनले पनि टिकट पाएनन् । त्यहाँबाट अनेरास्ववियुका अध्यक्ष दीपक धामीलाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बझाङ र कञ्चनपुर–१ मा उम्मेदवार फेरबदल

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका दुई महत्वपूर्ण निर्वाचन क्षेत्रमा उम्मेदवार फेरबदल गरेको छ । बझाङ र कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा यसअघि तोकिएका उम्मेदवारलाई परिवर्तन गर्दै नयाँ उम्मेदवार अघि सारेको हो । पार्टीको आन्तरिक छलफल र राजनीतिक समीकरणका आधारमा उम्मेदवार हेरफेर गरिएको एमाले नेताहरूले बताएका छन् ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार बझाङ निर्वाचन क्षेत्रमा ऐन महरलाई उम्मेदवार बनाइएको छ भने कञ्चनपुर–१ मा तारालामा तामाङले टिकट पाएका छन् । यससँगै शनिबार मात्रै बसेको सचिवालय बैठकले गरेको निर्णय संशोधन भएको छ । उक्त बैठकले बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर–१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

बझाङको हकमा अफिलाल ओखेडा स्थानीय तहबाट औपचारिक रूपमा सिफारिससमेत नभएका व्यक्ति भएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको थियो । सोही असन्तुष्टिलाई सम्बोधन गर्दै एमालेले ओखेडालाई पछि हटाएर ऐन महरलाई उम्मेदवार बनाएको हो । पार्टी नेतृत्वले स्थानीय कार्यकर्ता र नेताहरूको भावना, चुनावी सम्भावना तथा अघिल्लो निर्वाचनको अनुभवलाई आधार मानेर निर्णय गरिएको बताएको छ ।

ऐन महर अघिल्लो निर्वाचनमा पनि बझाङबाटै उम्मेदवार बनेका थिए । तर, उक्त निर्वाचनमा उनी तत्कालीन नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीसँग पराजित भएका थिए । पराजय व्यहोरे पनि बझाङको राजनीतिक अवस्थाबारे राम्रो पकड र संगठनभित्रको स्वीकार्यताका कारण महरलाई पुनः उम्मेदवार बनाइएको एमालेको बुझाइ छ । पार्टीले यसपटक बझाङमा आफ्नो आधार बलियो रहेको दाबी गर्दै परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरेको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पनि एमालेले अघिल्लो निर्णय परिवर्तन गर्दै तारालामा तामाङलाई उम्मेदवार बनाएको छ । यसअघि कमला बोहरालाई टिकट दिने निर्णय भए पनि अन्तिम अवस्थामा तामाङलाई अघि सारिएको हो । तामाङ यस क्षेत्रका अनुभवी नेता मानिन्छन् र अघिल्लो निर्वाचनमा उनले माओवादी केन्द्रकी चर्चित नेतृ बिना मगरलाई पराजित गरेका थिए । सो जीतलाई एमालेले महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै तामाङलाई पुनः उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले नेतृत्वका अनुसार दुवै क्षेत्रमा उम्मेदवार परिवर्तन गर्नुको उद्देश्य पार्टी संगठनलाई एकताबद्ध बनाउनु र चुनावी प्रतिस्पर्धामा बलियो उपस्थिति जनाउनु हो । पछिल्ला दिनमा सुदूरपश्चिममा चुनावी गतिविधि तीव्र बन्दै गएकाले एमालेले रणनीतिक रूपमा उम्मेदवार चयनमा ध्यान दिएको जनाएको छ । पार्टीको यो निर्णयपछि सुदूरपश्चिमका दुवै क्षेत्रमा चुनावी सरगर्मी थप बढ्ने देखिएको छ । एमालेले उम्मेदवार टुंग्याएसँगै अब प्रचार–प्रसार र संगठन परिचालनलाई तीव्र बनाउने तयारी गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार