शुभाकर विश्वकर्मा । कोहलपुर ।
‘कहिले टाउको दुख्ने, ज्वरो आउने भइरहन्थ्यो । १६ दिन अघिको कुरो हो, साँझ सुतेको थियो । एक्कासी बेहोस भयो । अझै होस खुलेको छैन ।’ हाल काठमाडौस्थित ग्राण्डी अस्पतालमा छोराको उपचारको क्रममा रहेका दिपक विश्वकर्मा मलिन स्वरमा भन्दै थिए । उनी छोराको उपचारको लागि काठमाडौँ गएको पनि १४ दिन भयो । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ कालिकानगरका १० वर्षीय समर विक गत असार २९ गतेदेखि बेहोस अवस्थामा छन् । उनी सोही दिन एक्कासी बेहोस भएका थिए । तत्काल परिवारले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लिए ।
दुई दिनसम्म उपचार गरेपनि होस नखुलेपछि अस्पतालले काठमाडौंको ग्राण्डी अस्पतालमा रिफर गरिदियो । समरको अवस्था गम्भिर भएकोले लाखांै खर्च गरेर हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको थियो । तर अहिलेसम्म पनि समरको अवस्थामा कुनै पनि परिवर्तन आएको छैन । ‘छोराको अवस्था गम्भीर छ । अहिलेसम्म होस पनि खुलेको छैन । डाक्टरहरुले जापानीज इन्सेफ्लाइटिस बताएका छन् ।’ मिसन टुडेसँग टेलिफोनमा कुराकानी गर्दै उनले भने । १६ दिनको अवधिमा समरको उपचारको लागि १५ लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन् । कोहलपुरमा सामान्य व्यापार गर्ने दिपक र यमकुमारीका एक्लो छोरा हुन समिर । दिपकका अनुसार अहिलेसम्म उपचारको लागि ऋण गरेर उपचार भइरहेको छ ।
तर सामान्य व्यापार गर्ने दिपकको लागि ऋण भन्दा पनि छोराको जिन्दगी ठूलो छ । उनले भने, ‘ऋण त पछि तिर्न सकिन्थ्यो होला । छोरालाई सन्चो भएको भए तिरिहाल्थे ।’ अचेल दिन पनि रात जस्तो लाग्न थालेको छ उनलाई । अस्पतालको आइसियूमा बेहोस अवस्थामा रहेका छोराको होस कहिले खुल्छ त्यसको प्रतिक्षामा छन् दिपक । तर डाक्टरको निराशाजनक कुराले झन् निरास बनाइदिन्छ । बेहोस अवस्थामा रहेका समरको अवस्थाको विषयमा डाक्टरले समेत तत्काल यसै भन्न सकिने अवस्था नरहेको बताएको उनले बताए । उनले बताएअनुसार डाक्टरले समरको मस्तिष्कको पक्षघात भएको बताएका छन् । पक्षघात हुनु भनेको इन्सेफ्लाइटिसको गम्भीर अवस्था समेत हो । यद्यपि समय मै उपचार हुन सकेमा उनी सन्चो हुन सक्ने समेत अस्पतालले जनाएको छ ।
उपचारमा समस्या
दिपकको परिवारको आर्थिक अवस्था सामान्य छ । पाँच जनाको परिवार पाल्न उनी व्यापार गर्छन् । तर अहिलेसम्म कमाएर अलिअलि बचेको सबै रुपैयाँ समरको उपचारको लागि सकिसकेको छ । उनले छोराको थप उपचारको लागि आर्थिक अभाव प्रमुख समस्याका रुपमा देखा परेको बताए । उनको उपचारको लागि अझै १५ देखि २० लाख रुपैयाँ आवश्यक छ । घरको आर्थिक अवस्था समेत कमजोर रहेका उनको परिवारको लाथि निकै मुस्किल समेत छ । उनले आफ्नो छोराको उपचारको लागि सहयोग गरिदिन समेत सबैलाई आग्रह गरेका छन् । ‘सामान्य व्यवसाय गर्थे ।
छोराको यस्तो अवस्था भएपनि पसल खोल्न पनि पाएको छैन । आर्थिक अभाव भइरहेको छ । सबैलाई आग्रह गर्न चाहन्छु । तपाईहरुको सानो सहयोगले मेरो छोराको ज्यान बच्नेछ’ दिपकले भने । पछिल्लो समय छोराको उपचारको लागि आफन्त र चिनेजानेका मानिसहरुले केही सहयोग गरिरहेको उनले बताए । यता न्यायका लागि द्धन्द्ध पीडित समाज बाँकेका अध्यक्ष चन्द्रकला उप्रेतीको पहलमा उनको उपचारको लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ । उपे्रतीले समेत घरको आर्थिक अवस्थामा अत्यन्त नाजुक रहेका दलित परिवारमा खुसी ल्याउनको लागि सहयोग गरिदिन आग्रह गरिन् । उनलाई आर्थिक सहयोग गर्न चाहनेहरुले सिधै मेघा बैंकमा रहेको श्रीमती यमकुमारी विकको खाता नं. ०७३००५०००९९९८ मा जम्मा गर्न सकिनेछ ।










प्रतिक्रिया दिनुहोस्