नेपालगन्ज।
महिला उद्यमी संघ नेपाल बाँके (वीन)ले लुम्बिनी प्रदेश खानेपानी तथा सहरी विकास मन्त्री कृष्णा केसी ‘नमुना’ सहित चार जना महिलालाई सम्मान गरेको छ । शनिबार नेपालगन्ज उप–महानगरपालिका–२ स्थित संघको आफनै कार्यालयमा मन्त्री नमुनालाई स्वागत तथा सम्मान गरिएको थियो । राजनीति क्षेत्रमा संघर्ष गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको भन्दै केसीलाई सम्मान गरिएको हो ।
बाँके वीनले शनिबार महिला उद्यमी महासंघ केन्द्रीय सदस्यमा निर्वाचत भएकी सरस्वती शर्मा पराजुली, नेपालगन्ज उद्योग वाणिज्य संघको महिला उपाध्यक्षमा निर्वाचित मन्दिरा पाण्डे र मारवाडी महिला मञ्च बाँके अध्यक्षमा निर्वाचित कुसुम दुगडलार्ई सम्मान गरेको थियो । उनीहरूलाई बाँके वीन अध्यक्ष सावित्रा बस्नेत पोखरेल र अन्य पदाधिकारीले माला, दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको विधानमा पहिलो पटक महिला उपाध्यक्ष अनिवार्य रहनुपर्ने व्यवस्था गरिएको थियो । जस अनुसार यसपटकको निर्वाचनमा मन्दिरा उपाध्यक्षमा पदमा निर्वाचित भएकी थिइन् । बाँके वीनको पूर्वअध्यक्ष एवम् महिला उद्यमी संघ नेपाल लुम्बिनी प्रदेश संयोजक समेत रहेकी सरस्वती शर्मा पराजुली यस क्षेत्रमा महिला उद्यमीलाई प्रोत्साहन गर्ने नेतृत्वका रूपमा परिचित छन् ।
यसैगरी सम्मानित भएकी अर्की महिला उद्यमी कुसुम दुगढ मारवाडी महिलाहरूको क्षमता, नेतृत्व विकासका क्षेत्रमा काम गर्ने नेतृत्वका रूपमा परिचित छन् । शनिबार भएको सम्मान कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका निवर्तमान उपमेयर तथा संघको सल्लाहकार उमा थापामगर, नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तथा सल्लाहकार हरि सुवेदी, मारवाडी महिला मञ्चको केन्द्रीय उपाध्यक्ष रस्मी कनोडिया, बाँके वीनकी निवर्तमान अध्यक्ष निरुपमा रस्तोगी, पूर्वअध्यक्ष अन्जु गुरुङ, कमला टण्डन, सुशीला गौतम, निर्मला गौतमलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बाँके वीनको द्वितीय उपाध्यक्ष आभा गौतमले स्वागत मन्त्वय राखेकी थिइन् । बाँके वीनले सम्मान कार्यक्रमको अवसर पारेर खानेपानी तथा सहरी विकास मन्त्री केसीलाई आफना समस्याहरूको बारेमा ध्यानाकर्षण पत्र बुझाएको थियो । बाँके वीन अध्यक्ष साबित्रा बस्नेत पोखरेलले मन्त्री नमुनालाई उक्त पत्र प्रदान गरेकी थिइन्् ।
बाँके वीनले सञ्चालन गरिरहेको नेपालगन्ज कोसेली घरको व्यवस्थापनका लागि पर्खाल निर्माण, स्थानीय महिलाहरूले उत्पादन गरेका कृषि उत्पादनलाई बिक्री गर्नको लागि सुरक्षित स्थानका लागि टहरा निर्माणको अनुरोध गरेको छ । मन्त्री केसीले बाँके वीनसँग आफनो भावनात्मक सम्बन्ध जोडिएकाले संघका समस्याहरू समाधानका लागि क्रमशः सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन ।









प्रतिक्रिया दिनुहोस्