
वीरेन्द्र जैशी । नेपालगन्ज ।
सूर्यदेवको आराधना र पारिवारिक समृद्धिको कामनामा मनाइने छठ पर्व हर्षोल्लासका साथ मनाइँदैछ । विशेषगरी पूवी नेपालको तराई क्षेत्रमा मनाइने छठ पर्व पश्चिम नेपालसँगै अन्य समुदायमा पनि विस्तार हुँदै गएको छ । नेपालगन्जमा विशेषगरी पूर्वी नेपालबाट बसाइँ सरी आएका समुदायले छठ पर्व मनाउने गरेपनि अन्य समुदायका महिलाहरूले पनि छठ बनाउने क्रम बढिरहेको छठपूजा व्यवस्थापन समिति नेपालगन्जका अध्यक्ष जितेन्द्र ठाकुरले जानकारी दिए ।
उनका अनुसार बसाइँसराइ र सामाजिक अन्तर्घुलनसँगै छठ पर्व विस्तार हुँदै गएको हो । ‘मानिसहरू विभिन्न ठाउँबाट बसाइँ सरी आएका छन्। यसले एकअर्का समुदायमा विवाह सम्बन्ध जोडियो । यस समन्धसँगै पहिले छठ नमनाउने परिवारले पनि अहिले छठ मनाउन थालेका छन्। अन्य पर्वजस्तै यो पर्व पनि विस्तार हुँदै गएको छ,’ ठाकुरले भने । नेपालगन्जमा छठ पूजाका लागि श्रद्धालुहरूको पहिलो रोजाइमा बागेश्वरी मन्दिर पर्ने गरेको छ । यसैगरी राप्ती नदीका साथै अन्य तलाउहरूमा पनि छठ मनाउने गरिन्छ । नेपालगन्जमा हरेक वर्ष छठ मनाउनेहरू बढिरहेका ठाकुरले बताए ।
पछिल्ला वर्षहरूमा बागेश्वरी मन्दिर परिसरको तलाउमा छठ पर्वका लागि सूर्यलाई अघ्र्य दिने श्रद्धालु तथा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ ।
छठ घाट तथा पूजास्थल व्यवस्थापनका लागि छठपूजा समिति नेपालगन्जले समन्वयकारी भूमिका खेल्दै आएको छ । यस समितिले छठका अवसरमा प्रसाद वितरण लगायतका कार्यक्रमहरू पनि गर्दै आएको छ । आइतबार बेलुकी नेपालगन्जमा प्रसाद वितरणको कार्यक्रम आयोजना गरिएको थियो । छठ पर्वमा हिन्दुहरूले आराध्यदेव मान्ने सूर्य र सूर्यकी बहिनीको रूपमा छठी मैयाको आराधान गरी पूजा गरिन्छ ।
छठ पर्व विधिपूर्वक मनाएमा सूर्य र छठी मैयाको आशीर्वादले छालासम्बन्धी रोग निराकरणदेखि सन्तान प्राप्तिसमेत हुने विश्वास गरिन्छ । यसैगरी व्रतको प्रभावले अभाव र दरिद्रता नहुने तथा परिवारमा सुख हुने जनविश्वास रहिआएको छ । सूर्यको आराधनाले विश्वकल्याण, एकता, सौभाग्य र समानताको सन्देश प्रवाह गर्ने ठाकुरले बताए । महाभारतकालीन द्रोपदीले र रामसीताले पनि छठ पर्व मनाएको शास्त्रमा वर्णन पाइने हुनाले छठ सदियौँदेखि मनाइँदै आएको बुझिने उनले बताए । उनले सूर्य देवता शक्तिको प्रतीक भएको, सूर्यको ऊर्जाले नै जगत चलायमान रहेकोले छठमा सूर्यको पूजा गरिनुले गहिरो अर्थ बोकेको देखिने पनि बताए ।
यसरी मनाइन्छ छठ
नेपालको मिथिला क्षेत्र र तराईका साथै उत्तर भारतको बिहार, उत्तर प्रदेश लगायतका क्षेत्रमा यो पर्व धुमधामका साथ मनाइन्छ । श्रद्धालुहरूले सूर्य भगवान् र छठी मैयामा समर्पित यो पर्वलाई शुद्धता, तपस्या र आस्थाको प्रतीक मान्ने गर्दछन् । विशेषगरी कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने यो पर्व सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गरिन्छ ।
तर कात्तिक शुक्ल चतुर्दशीकै दिनबाट पूजा विधि सुरु हुने छठको पहिलो दिन चतुर्दशीलाई नहाय खाय भनिन्छ । यस दिन श्रद्धालु महिलाहरूले बिहानै स्नान गरेर घर सफा गर्छन् । त्यसपछि स्नान गरेर शुद्ध, सात्विक भोजन गरिन्छ । पञ्चमी अर्थात् दोस्रो दिनलाई खरना भनिन्छ । यो दिन व्रत गर्ने व्यक्तिले साँझपख एक छाक साँझ सूर्य अस्ताइसकेपछि गुड़–खीर तथा रोटी खाने गर्छन् । छठ पर्वको मुख्य दिन षष्ठीका दिन व्रतालु दिनभर व्रत बस्छन् । पूजाका लागि बाँसको डालीमा प्रसाद राख्छन् । साँझ सूर्य अस्ताउँदै गर्दा सबै जना नदी, पोखरी वा घाटमा गई अस्ताउँदो सूर्यलाई जल र दुग्ध अर्थात् अघ्र्य चढाउँछन् । यसबेला महिलाहरूले छठी मैयाको गीत पनि गाउँछन् र दीप प्रज्वलन गर्छन् ।
यस दिन हजारौँ दीपले छठ घाटहरू रोमाञ्चक हुन्छन् । चौथो अर्थात् सप्तमीको दिन बिहान सबेरै सूर्योदय हुनुअघि नै घाटमा पुगिन्छ । उदयमान सूर्यलाई अघ्र्य चढाएर व्रत पूरा गरिन्छ । त्यसपछि घर फर्केर सबैले प्रसाद वितरण गर्छन् । व्रतालुहरूले मात्र होइन, परिवारका सबै सदस्यहरूले प्रसाद ग्रहण गर्छन् र शुभकामना साटासाट गर्छन् । छठ पर्वमा सम्पूर्ण समय शुद्धता, पवित्रता र अनुशासन पालना गर्नुपर्छ । व्रतालुहरूले भुइँमा ओछ्यान बिछ्याएर सुत्ने गर्छन् । रङ्ग, ध्वनि र व्यवहारमा मर्यादा अपनाइन्छ । वातावरण सफा राख्ने र जलाशयहरू प्रदूषणमुक्त राख्ने संस्कार पनि यस पर्वसँग जोडिएको छ ।
छठ पर्वमा सूर्यदेवलाई धन्यवाद दिइन्छ, किनभने सूर्य नै पृथ्वीमा जीवनको मुख्य स्रोत हो । उनीबाट नै प्रकाश, ताप र ऊर्जा प्राप्त हुन्छ जसले बाली फलाउँछ, स्वास्थ्य प्रदान गर्छ र जीवन सम्भव बनाउँछ । छठ पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य दिइन्छ । जसले जीवनका उतार–चढाव (अस्त र उदय) दुवैलाई स्वीकार्ने सन्देश दिन्छ । छठ पर्वमा सूर्यदेवकी बहिनी उषा (छठी माई)को पनि पूजा गरिन्छ । छठी माईले व्रतधारीको मनोकामना पूरा गर्छिन् भन्ने विश्वास रहिआएको छ ।
पौराणिक कथा अनुसार द्रौपदी र पाण्डवहरूले यो व्रत गरेपछि आफ्नो राज्य र प्रतिष्ठा पुनः प्राप्त गरेका थिए । रामायणमा पनि भगवान् राम र सीताले अयोध्या फर्किएपछि कार्तिक शुक्ल षष्ठीका दिन सूर्यदेवको पूजा गरेर छठ पर्व मनाएको उल्लेख छ । छठ पर्वमा नदी, पोखरी, सूर्य, वायु र माटोको पूजा गरिनुले मानव र प्रकृतिबीचको सहअस्तित्वको सन्देश पनि दिन्छ ।









प्रतिक्रिया दिनुहोस्