अपराध अनुसन्धानका मार्गदर्शक कुकुर



कुकुरले अपराध अनुसन्धानमा सफलता दिएका अधिकांश घटनाहरू हत्याका छन् भने लागूऔषध नियन्त्रण र बम पत्ता लगाउने काममा पनि कुकुरले सहायता दिलाएको छ । २०६२ साल पुस ९ गते पोखरा रंगशालाको गेटमा जमिनमुनि गाडिएको अवस्थामा रहेको २० किलो विस्फोटक पदार्थ कुकुरले पत्ता लगाएर सम्भावित ठूलो अपूरणीय क्षतिलाई रोकेको थियो । उक्त विस्फोटक पदार्थ भिआइपीलाई लक्षित गरी राखिएको प्रहरीले अनुमान गरेको थियो ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

२०८२ साल वैशाख १५ गते बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा खेतको बीचमा रहेको नालामा खाल्डो खनी गाडिएको अवस्थामा शव फेला परेको खबर प्रहरीलाई आयो । त्यसपछि प्रहरी केनाइन शाखा कोहलपुरबाट अपराध अनुसन्धान तालिमप्राप्त जर्मन सेफर्ड जातको ‘जम्बो’ नामको कुकुर लिएर खटियो । त्यसपछि कुुकुरलाई साइकल र हँसिया सबुद प्रमाण सुँघाइ ट्रयाक गर्दा घटनास्थलबाट करिब पाँच सय मिटर पर खाल्डो खन्न प्रयोग गरिएको पिक र साबेल फेला प¥यो ।

सो स्थानबाट पुनः सबुद प्रमाण सुँघाइ ट्रयाक गर्दा कुकुरले घटनास्थलबाट एक किलोमिटर पर मृतक कुशल बुढाका सौतेनी बुवा नरनाथ योगी र आमासम्म पुग्यो । त्यसपछि उक्त घटनामा सौतेनी बुवा र आफ्नै आमा यसोधा बुढाको योजनामा कुशलको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्यो । २०८२ सालकै वैशाख २१ गते सुर्खेतको भेरीगंगामा भएको एक हत्या घटनामा पनि जम्बोले नै घटनामा संलग्नहरूसम्म पु¥याउन मार्गदर्शकको काम ग¥यो । उक्त घटनामा भेरीगंगा २ स्थित फोहोर प्रशोधन केन्द्र नजिकैको खोल्सामा शव फेला परेको खबर प्रहरीलाई आएको थियो ।

त्यसपछि जम्बोलाई घटनास्थलमा फेला परेको फुटप्रिन्टको गन्ध सुँघाएर छोड्दा घटनास्थलबाट ५० मिटर उत्तरपश्चिममा चप्पल र मास्क फेला प¥यो । त्यहाँबाट पुनः दक्षिणतर्फ एक किलोमिटर पर छिन्चु बजार रहेको प्रेमा ओलीको घरमा पुगेर रोकियो । त्यसपछि ती मृत व्यक्ति प्रेमा ओलीको घटनास्थलमा प्राप्त सबुद प्रमाण प्रेमाका पति नेपाली सेनामा कार्यरत दर्शन ओलीसँग मेल खान गयो । त्यसपछि दर्शनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले घरायसी विवादका कारण आफ्नै श्रीमतीको हत्या गरेको स्वीकार गरे ।

जम्बोले अपराध अनुसन्धानमा सहयोग गरेका यी केही उदाहरण मात्रै हुन् । जम्बोले २०७७ सालमा कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा डेरा गरी बस्दै आएकी ५९ वर्षीया सुशीला खड्काको हत्याको अनुसन्धानलाई पनि निष्कर्षमा पु¥याउन सघाएको थियो । आँगनमा भेटिएको शव नजिकै इँटाको टुक्रा र लोहोरो सुँघाएर छाड्नेबित्तिकै जम्बो भतिजो २३ वर्षीय तोरणबहादुर खड्का भएतिर गयो र बेस्सरी भुक्न थाल्यो । कुकुर उनीतिर संकेत गर्दै भुक्न र हातमा समात्न थालेपछि अतालिएका खड्काले फुपुलाई हत्या गरेको स्वीकारे ।

सल्यानमा २०७८ असोजमा घटेको हत्या घटनामा पनि जम्बोले अनुसन्धानलाई सफल मार्गदर्शन गरेको थियो । बाघचौर नगरपालिका–२ गैरीमा ५४ वर्षीया रामकला खत्री मृत अवस्थामा भेटिएकोमा सबुद सुँघेपछि दगुरेको जम्बो झण्डै दुई किलोमिटरसम्म ट्रयाक लिँदै गएर एउटा जेसीबी मेसिनसम्म पुगेको थियो । मेसिनमा पुगेर संकेत गरेकोमा पछि मेसिनका चालक र सहचालकको समेत घटनामा संलग्नता खुल्यो र पक्राउ गर्न प्रहरी सफल भयो ।

कोहलपुरस्थित कर्णाली प्रदेशअन्तर्गतको केनाइन शाखामा रहेको जम्बोको सफलताका लागि २०७८ सालमा प्रहरीले उत्कृष्ट घोषणा गरेको थियो । यी त एउटै कुकुर जम्बोले दिलाएका अपराध अनुसन्धानका केही सफलताहरू मात्रै हुन् । अत्यन्तै संवेदनशील घटनाहरूमा पनि कुकुरले अनुसन्धानमा सघाएर प्रहरीलाई सहयोग गरेका उदाहरणहरू प्रशस्तै छन् । २०७३ साल वैशाख १५ गते सल्यानको छायाँक्षेत्रमा पर्ने रानागाउँमा एकै घरका चार जनाको हत्या भयो । स्थानीय सञ्जय भारतीले रमेश खान ठकुरीकी २३ बर्षीया श्रीमती सीता खान ठकुरी, छोरीहरू तीन वर्षीया पवित्रा खान ठकुरी, एक वर्षीया सविता खान ठकुरी र रमेशकी साली १८ वर्षिया गीता गिरीको हत्या गरेका थिए ।

राति हत्या भई बिहान थाहा भएकोमा घटनास्थल पुगेर प्रहरीले शव संकलन गरी अनुसन्धान प्रक्रिया अगाडि बढायो । हत्याराले आफू जोगिनका लागि रगत लागेका कपडाहरू पानीमा भिजाएका रहेछन् । घरको कोठाबाट ओछ्यान निकालेर घरभन्दा माथिपट्टी रहेको छिमेकीको गहुँबारीमा गएर ओछ्यान लगाई सुतेका रहेछन् । भारती कसैले आफूतिर शंका गर्न नसक्ने ठानेर भागेका थिएनन् । सामूहिक हत्याकाण्डको संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरीले कुकुर शाखा कोहलपुरबाट ‘भुन्टी’ नामक कुकुरलाई लिएर गयो ।

भुन्टीले ट्रयाक गर्दै जाँदा सञ्जयले राति हातले छोएका स्थानदेखि लिएर हिँडेको बाटोसमेत ट्रयाक गरी उनी बारीमा सुतेको ठाउँसम्मै पत्ता लगाइदिएपछि २४ घण्टाभित्रै अपराधी पक्राउ परे । पछि २०७३ मंसिर ९ गते सल्यान जिल्ला अदालतले सञ्जयलाई सर्वस्वसहित जन्मकैद र जबरजस्ती करणीको कसुरमा थप पाँच वर्ष कैद हुने फैसला ग¥यो । भारतीले गाउँमा उक्त घटना हुनुभन्दा पहिलेदेखि नै मादक पदार्थ सेवन गर्ने र अनैतिक क्रियाकलाप गर्दै आएका स्थानीयवासीहरूले अदालतको बयानमा उल्लेख गरेका छन् ।

कुकुरले अपराध अनुसन्धानमा सफलता दिएका अधिकांश घटनाहरू हत्याका छन् भने लागूऔषध नियन्त्रण र बम पत्ता लगाउने काममा पनि कुकुरले सहायता दिलाएको छ । २०६२ साल पुस ९ गते पोखरा रंगशालाको गेटमा जमिनमुनि गाडिएको अवस्थामा रहेको २० किलो विस्फोटक पदार्थ कुकुरले पत्ता लगाएर सम्भावित ठूलो अपूरणीय क्षतिलाई रोकेको थियो । उक्त विस्फोटक पदार्थ भिआइपीलाई लक्षित गरी राखिएको प्रहरीले अनुमान गरेको थियो ।

नेपाल प्रहरीले अपराध अनुसन्धानमा कुकुरलाई प्रयोग गर्न २०२६ सालबाट सुुरु गरेको भएपनि ३०३२ सालमा प्रहरी नायव निरीक्षकको कमाण्डमा १० जनाको दरबन्दी कायम भई कुकुर शाखाको विधिवत स्थापना गरिएको थियो । सुरुमा चारवटा कुकुरहरू ल्याएर अभ्यास सुरु गरिएको थियो । अहिले प्रहरी कुकुरको सङ्ख्या ९९ वटा रहेको नेपाल प्रहरी केनाइन सेवाका प्रहरी नायव उपरीक्षक डा. चेतनारायण ज्ञवालीले जानकारी दिए । हाल प्रहरी केनाइन कार्यालय काठमाडौँका साथै देशभर १२ वटा शाखामा प्रहरी कुकुरलाई तालिम दिने तथा अपराध अनुसन्धानमा प्रयोग गर्ने गरिँदै आएको डा. ज्ञवालीले बताए ।

हाल केनाइनतर्फ एक सय ६५ जनाको प्रहरी दरबन्दी रहेकोमा एक सय ५२ जना प्रहरी कर्मचारीहरू कार्यरत रहेका छन् । कुकुरको घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता मान्छेको भन्दा ५० गुना धेरै र अद्वितीय हुने भएकोले अपराध अनुसन्धान र सुरक्षा निकायले यसको प्रयोग गर्ने गरेका हुन् । कुकुर र मानिसको सम्बन्ध १५ हजार वर्ष पहिलेदेखि सुरु भएको अध्येता तीर्थबहादुर श्रेष्ठले एक लेखमा उल्लेख गरेका छन् । अपराध अनुसन्धानमा कुकुरहरूको सफलता यदि भौतिक प्रमाण दोषीबाहेक अन्य व्यक्तिहरूले गडबड गरेको छैन भने बढी हुने गरेको छ ।

तर, अपराधमा संलग्न नभएको प्रमाणसहित कुकुरलाई सुँघाइएमा, सचेतनाको कमीका कारण पीडितले गलत सूचना दिएमा, सार्वजनिक दबाबका कारण तालिमप्राप्त कुकुरको दुरुपयोग भएमा, कुकुरले सुँघ्ने वस्तु अपराधीबाहेक अन्य व्यक्तिले प्रयोग गर्ने गरेकोमा, कुकुर ह्यान्डलरको असक्षमताका कारण कुकुरले प्रमाणहरू पत्ता लगाउन असक्षम हुन सक्छ । त्यसैले अपराधी पत्ता लगाउन कुकुरहरूको लागि अपराधस्थल र सबुदहरू सुरक्षित राखेर अनुसन्धानलाई प्राथमिकता दिन प्रहरी नायव उपरीक्षक ज्ञवालीले अनुरोध गरे । अर्काेतिर, सकेसम्म चाँडो कुकुरको प्रयोग गर्दा अपराधीको गन्ध नहराएको हुने हुनाले कुकुरले प्रभावकारी रूपले काम गर्न सक्ने उनले बताए ।

एक वर्षमा नौ हजार एक सय नौ घटनामा कुकुर प्रयोग

प्रहरी केनाइन कार्यालय काठमाडौँका अनुसार गत वर्ष तिहारदेखि हालसम्म नौ हजार एक सय नौ घटनामा कुकुरको प्रयोग गरिएको छ ।प्रहरीले प्रहरीले कुकुरहरूलाई लागूऔषध खोजी तथा पहिचान, मानव खोजी तथा उद्धार (रेस्क्यु), अपराधी खोजी तथा पहिचान (ट्रयाकर), विस्फोटक पदार्थ खोजी तथा पहिचानका लागि बाँडेर सम्बन्धित विषयको तालिम दिने गरेको छ ।

गत एक वर्षमा सबैभन्दा बढी विस्फोटक पदार्थ खोजी तथा पहिचानका पाँच हजार पाँच सय ५९, लागूऔषध खोजी तथा पहिचानका तीन हजार चार सय ५९ र ट्रयाकिङका ८१ र मानव खोजी तथा उद्धारका १० वटा ड्युटी कुकुरले पूरा गरेका प्रहरीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । हाल सबैभन्दा बढी विस्फोटक पदार्थका लागि ३९, लागूऔषधका लागि ३२, ट्रयाकरमा १८ र रेस्क्युका लागि १० वटा कुकुर रहेका प्रहरीले जानकारी दिएको छ ।

यस वर्षको उत्कृष्ट ‘घुङ्ग्रु’

नेपाल प्रहरीले कुकुर तिहार विभिन्न कार्यक्रम गरी मनाउने गर्छ । जसमा एउटा कुकुरलाई उसले पूरा गरेको सफलताका आधारमा वर्षको उत्कृष्ट कुकुर घोषणा गरी पुरस्कृत पनि गर्ने गरिएको छ । जसअन्तर्गत यस वर्ष जर्मन सेफर्ड जातको पोथी कुकुर घुङ्ग्रुलाई उत्कृष्ट कुकुरको प्रहरी रूपमा पुरस्कृत गरिने भएको छ ।

२०७४ सालमा जन्मिएको घुङ्ग्रु लागूऔषध खोजी तथा पहिचानमा विशिष्टता हासिल गरेको कुुुकुर रहेको प्रहरीले जानकारी दिएको छ । हाल लागूऔषध नियन्त्रण ब्युरोअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केनाइन शाखामा कार्यरत रहेको घुङ्गु्रले लागूऔषध खोजी एवं पहिचान समूहको महत्वपूर्ण सदस्यको रूपमा उभ्याउन सफल भएको प्रहरीको भनाइ छ ।

घुङ्ग्रुले पछिल्लोपटक २०८२ साउन ५ गते विमानस्थलको गौचरको आगमनतर्फको लगेज चेकजाँचका क्रममा बैंककबाट अवतरण भएको थाई एयरवेजमा आएको एउटा लगेजमा संकेत गरेको थियो । भारतीय नागरिक धर्मेश रसिकभाई चुनाराको उक्त लगेज चेकजाँच गर्दा कालो प्लाष्टिकमा प्याक गरेर लुकाइछिपाई ल्याएको १४ दशमलव २ किलो गाँजा बरामद भएको थियो ।

यसैगरी २०८१ चैत २४ मा पनि घुङ्ग्रुले भारतीय नागरिकले चिप्स, कलेट र मासुको प्याकेटमा लुकाइछिपाई ल्याएको ९ किलो अमेरिकन गाँजा बरामद गर्न सघाएको थियो भने २०८० चैत ४ गते वासिङ मेसिनमा लुकाइछिपाई ल्याएको २० किलो गाँजा बरामद गर्न सफल भएको थियो । उत्कृष्ट काम गरेको कुकुरलाई प्रहरीले विशेष समारोहको आयोजना गरेर पुरस्कृत गर्ने गर्दछ ।

कुुकुर तिहारमा प्रहरीले आफ्ना कुकुरहरूलाई टीका र माला लगाई मीठा परिकार खान दिएर पूजा गर्ने गर्दछ । कुकुरको पूजा हरेक केनाइन शाखामा गर्ने गरिएपनि केन्द्रमा विशेष समारोह नै आयोजना गरिन्छ । जहाँ कुकुरबाट विभिन्न कला प्रस्तुत गर्ने पनि गरिन्छ । यसका साथै विभिन्न कला प्रदर्शन तथा प्रतियोगितामा भाग लिई पहिलो, दोस्रो स्थान हासिल गर्ने कुकुरलाई पदक फूलमाला लगाई सम्मान पनि गर्ने गरिन्छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ३ गते सोमबार