घट्दै छ तिहारमा परम्परागत बाजाको प्रयोग



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको खजुरा गाउँपालिकाको गौघाटस्थित एउटा आमा समूहकी अगुवा रुपकली बिष्टले आफूहरूले अहिले पनि मादल बजाएर देउसी खेल्ने गरेको बताइन् । सल्यान पुख्र्याैली घर भएकी उनले यसवर्ष पनि मादलसँगै आफ्नो परम्परागत बाजा कुरकुटीसमेत किनेकी छन् । आमा समूहमा धेरैजसो सल्यानबाट बसाइँ सरी आएकाहरू रहेकाले आफ्नो परम्परागत बाजाको प्रयोग गर्दै यसवर्षको देउसी खेल्ने तयारी गरिएको उनले बताइन् । गाउँमा कुरकुटी बजाउन जान्ने केही व्यक्तिहरू मात्रै रहेकाले नयाँ पुस्तामा उक्त सीप हस्तान्तरण गर्न पनि चाडबाडमा परम्परागत बाजा नै प्रयोग गर्ने तयारी गरिएको उनले बताइन् ।

कलाकार सुन्दर गुरुङ ग्रामीण क्षेत्रमा व्यवस्थित तवरले देउसी खेल्ने टोलीहरूले मादल र मुरलीलगायत परम्परागत साधनको प्रयोग गरिरहेका बताउँछन् । तर, सहरबजारतिर रेकर्डेड देउसी गीतमा देउसी खेल्ने गरेको र मादलको निकै कममात्रै प्रयोग गरिएको देख्न सकिने बताउँछन् । ‘केही संस्थाहरूले सचेततापूर्वक देउसीमा परम्परागत साधनको प्रयोगलाई प्रवद्र्धन गरिरहेका देखिन्छन् । तर त्यो पर्याप्त छैन,’ गुरुङले भने ।यसका लागि सबैले आफ्ना बालबालिकालाई मादलको प्रयोगमा प्रोत्साहन गर्नु जरुरी रहेको उनको भनाइ छ ।

विसं २०५४ सालसम्म पनि नेपालगन्जमा संगीतका साधनहरू किन्न पाइने पसल कहिँ पनि थिएन । शिक्षण पेशामा पनि रहेका विष्णुप्रसाद भुसाल र उनकी श्रीमती रितादेवी भुसालले त्यतिबेला नेपालगन्जको घरबारीटोलमा जुत्ता चप्पलको फुटकर पसल सञ्चालन गरिरहेका थिए ।एकदिन एक युवक मादल बोकेर आए र खरिद गरिदिन अनुरोध गर्न थाले । ती युवक बर्दियाबाट आएका बादी परिवारका व्यक्ति थिए ।भुसालले त्यतिबेलासम्म ती युवकसँग चारपाँच वटा मादल खरिद गरेर पसलबाहिर झुण्ड्यार राखे ।

भुसालले ती मादल बिक्न लामै समय लाग्ला भन्ने अनुमान गरेकोमा उनको अनुमानविपरीत केही दिनमै सबै मादल बिकेर सकिए । मादल बिकेनन् मात्रै मादलबाट मुनाफा पनि राम्रै हुने रहेछ भन्ने उनले भेउ पाए । भुसालका अनुसार त्योबेला करिब तीन सय ५० रूपैयाँँ खरिद परेकोमा बिक्री गर्दा पाँच सय रूपैयाँँ दिन पनि मानिसहरू तयार भए । ‘जुत्ता चप्पल बेचेर २०, २५ रूपैयाँँ कमाइ भइरहेको बेला एउटै मादलबाट दुई सय रूपैयाँँसम्म कमाइ भएपछि उनले थप मादलको खोजी गर्न थालेँ ।

तर त्यो मादल ल्याएर आउने भाइको न नाम न ठेगाना । कहाँ खोज्ने भइरहेका बेला करिब १०–१२ दिनपछि त्यही केटा फेरि आफ्नो बुवालाई लिएर आयो, १५ वटा मादल बोकेर,’ भुसालले सम्झिए । त्यसपछि उनले ती व्यक्तिसँग मादल नियमित ल्याइदिन अनुरोध गरे । उनीहरूबीच उत्पादक र विक्रेताको सम्बन्ध स्थापित भयो । मादल बेच्दाबेच्दै भुसाल दम्पत्तिले जुत्ता चप्पल बिक्री गर्न छोडेर मादल, मुरलीलगायतका संगीतकै साधनहरू बेच्नेतिर ध्यान दिए ।

साथमा विवाह, व्रतबन्ध, चाडपर्वमा प्रयोग हुने प्लाष्टिकका रंगीबिरंगी मालासमेत बनाउनेदेखि गीत डबिङ्ग गरिदिने कामसम्म उनीहरूले गरे । ‘तीज र तिहारको बेला त चौबिसै घण्टा फुर्सद हुन्थेन भनेपनि हुन्छ । दिउँसो मादल किन्न आउने, गीत डबिङ्ग गर्न आउने, नक्कली गहनाजस्ता बनाइमाग्न आउनेहरूको घुइँचो हुन्थ्यो । राति अर्डरअनुसारको सामान बनाएर बस्नुपथ्र्याे । कोठाभरी मादलहरू हुन्थे,’ रिताले भनिन् । त्यतिबेला उनीहरूको व्यापारको सबैभन्दा बलियो आधार र पहिचान नै मादल र मुरलीलगायतका परम्परागत वाद्यवादन साधनहरू थिए ।

विष्णुप्रसादका अनुुसार कुनैबेला एकै महिनामा एक सयभन्दा बढी मादलहरू बिक्ने गर्दथे भने अहिले वर्षमा एक सय मादल बेच्न पनि मुश्किल पर्ने गरेको उनले बताए । अहिले मादललगायत परम्परागत साधनको माग घट्नुका पछाडि देशबाट युवाहरूको पलायन र साँस्कृतिक सृजनशीलतामा नयाँ पुस्ताको विकर्षण मुख्य कारण रहेको भुसालको भनाइ छ । ‘हाम्रो समाज मेलापर्वमा रमाउने समाज हो । तर, यसमा रमाउने युवा पुस्ता देशमा छैन । अर्काेतिर पछिल्लो पुस्तामा संस्कृति र सृजनशीलतातिर आकर्षण छैन । हाम्रा विद्यालयहरूले पनि सृजनशीलतामा विद्यार्थीलाई आकर्षण गर्न भूमिका खेल्न सकेका छैनन्,’ भुसालले भने ।

यद्यपि अहिलेपनि केही साँस्कृतिक समूह, विद्यालय र व्यक्तिहरूले मादललगायत परम्परागत वाद्यवादनका साधनको माग गर्ने गरेका उनको भनाइ छ । धेरैजसो व्यक्तिहरूबाटै यस्ता साधनको माग आउने गरेको उनले बताए । तर, मादलका लागि अहिले बाँके, बर्दिया र आसपास जिल्लाहरूमा उत्पादकहरू नरहेका उनको भनाइ छ । भएका र थोरै सङ्ख्यामा उत्पादन गर्नेहरू नेपालगन्जसम्म आइपुग्न नपाउने गरेको उनले बताए । उनले प्रष्ट्याए, ‘दाङ प्युठानतिरबाट मादल ल्याउने हो भने बाटोमा निकुञ्ज पर्छ । सुर्खेततिर पनि त्यस्तै छ । पश्चिमतिरबाट पनि ढुवानी गर्न सरकारको अनुमति लिनका लागि प्रक्रिया झन्झटिलो छ । त्यसकारण थोरै सङ्ख्यामा मादल उत्पादन गर्नेहरू त्यो प्रक्रिया पूरा गर्न सक्दैनन् र सहर पुग्दैनन् । भएका मादलहरू गाउँमै बेच्छन् होला ।’

भुसालले अहिले आफूले बेच्ने मादलहरू बाग्लुङबाट मगाउने गरेको बताए । त्यहाँ व्यवसायिकरूपमैै मादल उत्पादन गर्ने र बेच्नेहरू रहेकोले सरकारी अनुमति लिन सहज हुने गरेको जानकारी दिए । अहिले बजारमा पुस्तक तथा स्टेशनरी पसलहरू र केही सांगीतिक सामग्री विक्रेताहरूले पनि मादल बेचिरहेका छन् । तर, तीमध्ये अधिकांशले भारतमा उत्पादित मादलहरू बेचिरहेका छन् । किनकि भारतमा नेपाललाई नै लक्षित गरेर मादल उत्पादन गर्ने कम्पनीहरू खुलेका छन् ।

उनीहरूले उत्पादन गर्ने मादल कमसल काठबाट बनेको हुने र सस्तो पर्ने भएकोले धेरैको विक्रेताको रोजाइमा भारतमा उत्पादित मादल हुने गरेका भुसालको भनाइ छ । ‘मैले पनि प्रतिस्पर्धालाई ध्यानमा राखेर भारतीय मादलहरू राख्छु । तर अधिकांश नेपालमै उत्पादित मादलहरू बेच्छु,’ उनले भने ।

भुसाल म्युजिक कर्नरमा अहिलेपनि दुई हजार पाँच सयदेखि १० हजार मूल्य पर्ने मादलहरू रहेका छन् । अरु एक दुई पसलहरू पनि संगीतकै साधनका लागि खुलेपनि मादल किन्न भुसालकहाँ नै पुग्नुपर्ने अवस्था छ । उनको पसलमा परम्परागत संगीतका साधनहरू मादल, मुरली, ढोलक, सारंगी, हार्माेनियमसम्म उपलब्ध छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रबार