कर्णाली बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी २०८१ पुस ११ गतेबाट उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा रहेको टोली खटाइ बैंकको सबै व्यवस्थापन आफ्नो हातमा लिएको थियो । उक्त समितिले त्यसयताका ८ महिनामा बैंकबाट बचतकर्ताहरूले करिब ६१ करोड रूपैयाँ बचत फिर्ता पाएका छन् । तर, यो रकमले बचतकर्तालाई धेरै राहत दिएको छैन।किनकी राष्ट्र बैंकले बैंक हातमा लिँदा बैंकमा चार अर्ब ९० करोड रूपैयाँ बचत थियो । त्यसबाट ६१ करोड फिर्ता हुँदा पनि अझै सर्वसाधारणको करिब चार अर्ब २९ करोड रूपैयाँ बैंकले फिर्ता दिन बाँकी छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ महिमानपुरका ५५ वर्षीय अब्दुल रुहुब राईले साइकलमा बोकेर तरकारी बेच्दै जम्मा गरेको दुई लाख १५ हजार रूपैयाँ कर्णाली विकास बैंकमा जम्मा गरेका थिए । उनले जीवनभरको कमाइ बैंकमा राखेकोमा त्यही रकम पनि सञ्चालक र कर्मचारी मिलेर हिनामिना गरिदिएपछि आफ्नो बीललीबाठ भएको बताए । आफूले जम्मा गरेको रकमबाट अहिलेसम्म एक लाख रूपैयाँ मात्रै फिर्ता लिन पाएको राईको भनाइ छ । ‘बैंकमा अझै एक लाख १५ हजार रूपैयाँ जम्मा छ । उक्त बचत कहिले फिर्ता पाइने हो ठेगान छैन ।
आफू बिरामी भएर काम गर्न नसक्ने स्थितिमा पुगेको छु । कहिलेकाहीँ त के खाने भन्ने पनि समस्या भइरहेको हुन्छ,’ राईले भने । राईका अनुसार उनकी श्रीमती हातखुट्टा दुख्ने समस्याले ग्रसित भएर लामो समयदेखि औषधि सेवन गर्दै आएकी छन् । करिब पाँच महिनायता आफू पनि बिरामी परेको तर उपचार गराउन नसकेको राईले बताए । राईले भने, ‘पत्थरी पनि छ । छाती पनि दुखिरहेको छ । बैंकले पैसा नदिएपछि मैले आफ्नो उपचार गराउन सकेको छैन ।’ जग्गाजमिन कत्ति पनि नभएको बताउने राई रुपैडिहा र स्थानीय किसानबाट तरकारी किनेर साइकलमा ठाउँ ठाउँ डुल्दै तरकारी बेच्ने गरेको बताउँछन् ।
‘कहिले धानसँग साटेर, कहिले गहुँसँग साटेर फेरि त्यही चिज बेचेर मैले चार सय, पाँच सय, ६ सय गर्दै बैंकमा जम्मा गरेको थिएँ । त्यसरी कमाएको पैसा अहिले आफैँ बिरामी हुँदा काम लागिरहेको छैन । बैंकमा जाँदा उहिले आउनु, त्यहीले आउनु भनेर पठाइदिन्छन्,’ राईले आक्रोश पोखे । टिनले छाएको सानो छाप्रोमा उनका छोराबुहारी र नातिनातिनासहित १३ जना बस्दै आएका छन् । एउटा सानो घुम्ती पसल राखेर चाउचाउ बिस्कुट लगायतका सामान बेच्दै आएका राईका दम्पतीले हातमुख जोर्ने खर्च जुटाउन पनि मुस्किल भइरहेको बताए । ‘दुईटा छोराबुहारी अलग्गै बस्छन् । ज्यालामजदुरी गरेर खान्छन् ।
अलि ठूलो पानी पर्नेबित्तिकै घर चुहिएर बस्नै नसकिने स्थिति हुन्छ । आफ्नो कमाइ अहिले ठप्प छ । एउटा नातिनीको बिहे गर्ने तयारी थियो । अब कसरी गर्नु ?’ उनले आफ्नो विवशता सुनाए । राईले कर्णाली विकास बैंकमा उनका छिमेकी महिमुद अलि कबडियाले उक्त बैंकमा जम्मा गर्न थालेको थाहा पाएपछि आफूले पनि सोही बैंकमा बचत गर्न थालेको बताए । अहिले उनका छिमेकी महिमुदको पनि उक्त बैंकमा चार लाख ५० हजार बैंकमा छ । तर, फिर्ता पाउन सकेका छैनन् । महिमुदले उक्त रकम टायल मिस्त्रीको काम गर्दै कमाएको १० हजार, २० हजार गर्दै थिए । उनले कर्णाली विकास बैंकको हाल रहेको केन्द्रीय कार्यालयमा पनि टायल लगाउने काम गरेर कमाएको पनि सोही बैंकमा रहेको आफ्नो खातामा जम्मा गरेको बताउँछन् ।
तर, अहिले उक्त रकम पाउन उनलाई हम्मेहम्मे परेको छ । ‘बुवाको मिस्त्रीको कामले घर चलिरहेको छ । तर, मेरो फागुनको महिनामा बिहे भयो । त्यसमा पनि ऋण लागेको छ । अब कमाएको पैसा सबै त्यही बैंकमा थियो । त्यो पैसा पाइएन भने कसरी ऋण तिर्ने ?’ महिमुदका छोरा नौसाद अलि कबडियाले भने । नेपालगन्ज वडा नम्बर १४ बालेगाउँका चन्द्र बढहीले नेपालगन्ज मेडिकल कलेजमा जागिर गर्दै कमाएको सबै रकम कर्णाली विकास बैंकमा जम्मा गरेका थिए । उनले घर बनाउँदा धेरै रकम त निकाले । तर, करिब ढाई लाख रूपैयाँ बैंकमै छ । घर निर्माण पूरा नभएर अधुरै छ । आफ्नो मिहिनेतको पैसा काम परेको बेला चलाउन नपाउँदा चन्द्रलाई झोँक चलिरहेको छ ।
यसरी साइकलमा तरकारी बेचेर गुजारा गर्नेदेखि लिएर जागिर गरेर कमाएको रकम सुरक्षित रहने र चाहिएको बेला प्रयोग गर्ने विश्वासले कर्णाली विकास बैंकमा बचत गरेका ४० हजारभन्दा बढी बचतकर्ताहरू अहिले आफ्नो बचत फिर्ता नपाइएर तनावमा छन् । आफ्नो जीवनभरको कमाइ बैंकको विश्वास गरेर बचत गरेका उनीहरू अहिले आफैँ बिरामी हुँदासमेत प्रयोग गर्न पाइरहेका छैनन् । ‘पैसा डुब्दैन, फिर्ता पाइन्छ भन्छन् । तर, हामी बिरामी भएर उपचारै नपाएर म¥यौँ भने त्यो पैसा पछि पाइएर के काम हाम्रो लागि ?’ राईले भने ।
नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी २०८१ पुस ११ गतेबाट उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा रहेको टोली खटाइ बैंकको सबै व्यवस्थापन आफ्नो हातमा लिएको थियो । उक्त समितिले त्यसयताका ८ महिनामा कर्णाली विकास बैंकबाट बचतकर्ताहरूले करिब ६१ करोड रूपैयाँ बचत फिर्ता पाएका राष्ट्र बैंकबाट खटिएको टोलीका निमित्त संयोजक विष्णुकुमार विश्वकर्मा बताउँछन् । तर, यो रकमले बचतकर्तालाई धेरै राहत दिएको छैन । किनकी राष्ट्र बैंकले बैंक हातमा लिँदा बैंकमा चार अर्ब ९० करोड रूपैयाँ बचत थियो ।
त्यसबाट ६१ करोड फिर्ता हुँदा पनि अझै सर्वसाधारणको करिब चार अर्ब २९ करोड रूपैयाँ बैंकले फिर्ता दिन बाँकी छ । तर, राष्ट्र बैंकको टोलीका निमित्त संयोजक विश्वकर्मा ठूलो घोटालाले अस्तव्यस्त पारेको बैंकबाट अनुसन्धानसँगै ऋणीहरूबाट ऋण चुक्ता गराएर बचतकर्तालाई ६१ करोड फिर्ता गर्नु सन्तोषजनक नै मान्नुपर्ने बताउँछन् । राष्ट्र बैंकको टोलीले संस्थामा नगद भए त्यसबाटै र नभए स्रोत जुटाएर बचत फिर्ता प्रक्रिया सुरु गर्ने जिम्मेवारी पाएको थियो । मागअनुसार सबै पैसा एकैपटक समयमा फिर्ता गर्न नसकिने अवस्थामा सीमा र दिन तोकेर पनि बचतकर्ताको पैसा फिर्ता दिने निर्देशन उक्त टोलीलाई थियो ।
सोही बमोजिम टोलीले सुरुमा सूचना जारी गर्दै दैनिक निश्चित सङ्ख्या तोकेर एकजनालाई २५ हजार रूपैयाँ बचत फिर्ता दिएको थियो । तर, बिस्तारै तरलता अभाव भएको भन्दै बैंकले १० हुँदै पाँच हजार सम्ममा झारेर बचतकर्तालाई फिर्ता गरेको थियो । अहिले बचतकर्ताहरू एकपटकमा पाँच हजारका दरले कहिलेसम्म बचत फिर्ता पाइसकिने हो भन्दै आत्तिएको अवस्था छ । उनीहरूले बचत फिर्ता हुने रकम बढाउनुपर्ने र निरन्तररूपमा फिर्ता गर्दै जानुपर्ने माग गरिरहेका छन् । राष्ट्र बैंकको टोलीका निमित्त संयोजक विश्वकर्मा आफूहरूले रकम पुग्दो हुनेबित्तिकै बचत फिर्ता गरिरहेको र संस्थागत बचतकर्ता नदिएर व्यक्तिगत बचतकर्तालाई बचत फिर्ता गरिरहेको बताए ।
व्यक्तिगत बचतकर्तामध्ये पनि साना बचतकर्तालाई प्राथमिकतामा राखिएको उनी बताउँछन् । तर, बचत फिर्ता गर्नका लागि ऋणीहरूबाट ऋण उठाउने, संस्थाका अचल सम्पत्ति बिक्री गर्ने, सेयर बिक्री गर्ने, सेयरधनीहरूको सम्पत्ति रोक्का गर्ने र धितो लिलामी गर्ने विकल्पहरू रहेकोमा यी सबै विकल्पहरू अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उनले बताए । उनका अनुसार ठूला ऋणीहरूमध्ये अधिकांश अहिले बैंक घोटाला मुद्दामा प्रतिवादी रहेकोले फरार अवस्थामा छन् । उनीहरूको मुद्दामा अदालतले निकास दिएर सम्पर्कमा आउने अवस्था नभएसम्म ऋण फिर्ता हुने अवस्था छैन । उनले भने, ‘जनताको पिरमर्का बुझेर अदालतले यस विषयलाई अघि बढाउँछ भन्ने विश्वास गरौँ ।’
बैंकका अचल सम्पत्तिहरू बिक्री गर्न पनि समस्या भइरहेको उनले बताए । यसैगरी ऋण चुक्ता नगर्ने ऋणीहरूले राखेका धितोहरू पनि लिलाम नभैरहेको उनको भनाइ छ । यसले बैंकमा बचतकर्तालाई फिर्ता गर्न सकिने रकम जम्मा नभैरहेकोले बचत फिर्तामा सुस्तता आएको उनको भनाइ छ । ‘तर सकेसम्म रकम जम्मा हुनेबित्तिकै हामीले बचत फिर्ता गर्दै जाने नै योजना बनाएका छौँ । अब संभवतः हामीले फेरि एकपटक बचत फिर्ता गर्छाैँ,’ विश्वकर्माले भने ।
के सुधार ग¥यो राष्ट्र बैंकको टोलीले ?
कर्णाली विकास बैंकमा खटिएको राष्ट्र बैंकको टोलीले जिम्मेवारी पाएयता संस्थामा रहेको नगद, ऋण दायित्व, सेयर तथा ऋणपत्रमा लगानीलगायत सम्पूर्ण वित्तीय विवरणको यथार्थ अवस्था पत्ता लगाएको विश्वकर्मा बताउँछन् । यसबीचमा सिआिइबीलाई अनुसन्धानमा सघाएर अपचलनसम्बन्धी मुद्दा अदालतमा पु¥याइएको पनि उनले बताए । उनका अनुसार राष्ट्र बैंकको टोलीले जिम्मेवारी सम्हाल्दा चार अर्ब ९० करोड बचत रहेकोमा त्यसलाई चार अर्ब २९ करोड हाराहारीमा झारिएको र उक्त रकम उठाउनुपर्ने ऋण उठाएरै फिर्ता गरिएको बताए ।
बंैकबाट दुई अर्ब ५० करोड ऋण प्रवाह भएको पाइएको उनले जानकारी दिए । यसैगरी बैंकमा मासिक ८० लाख बराबरको खर्च हुने गरेकोमा त्यसलाई झारेर २० लाखमा सीमित गरिएको पनि उनले बताए । त्यसका लागि तीनवटा ब्रान्च बन्द गरिएको र कर्मचारी कटौती गरिएको पनि उनले बताए । अहिले थप अरु ब्रान्चहरू पनि सम्पत्तिसमेत बिक्री गरेर बन्द गर्ने तयारीमा रहेको उनको भनाइ छ ।
विश्वकर्माले कर्णाली विकास बैंकका कर्मचारीहरूले अब कारोबार नगर्नु भनेर निर्देशन भएको अवस्थामा पनि करिब १४ करोड बचत उठाएको र अरु बैंकबाट ७ करोड सापटी लिएको पाइएको पनि बताए । त्यसरी उठाइएको कर्जालाई पनि व्यवस्थापन गरिएको उनको भनाइ छ । उनले अहिले टोलीले बचतकर्ताको पैसा फिर्ताका लागि सम्पत्ति बिक्री, ऋण असुली, अन्तरबैंक सापटीलगायत सम्भव भएसम्मका सबै प्रयासहरू गरिरहेको पनि दाबी गरे ।
अब के गरिन्छ कर्णाली विकास बैंकलाई ?
पहिलो प्राथमिकता बचतकर्ताको बचत फिर्ता गर्नुपर्ने रहेकोमा उक्त काममा सफल नभएका बैंकलाई कुन मोडेलमा लैजाने भन्नेबारेमा राष्ट्रबंैकबाट खटिएको टोलीले छलफल गरिरहेको छ । कर्णाली विकास बैंकलाई कुन मोडेलमा लैजाने भन्नेबारे प्रस्ताव तयार गर्ने क्रममा रहेको टोलीका निमित्त संयोजक विश्वकर्माले जानकारी दिए । उनले कसरी संस्थालाई जोगाउने भन्ने विषयमा घनीभूत रूपमा छलफलमा रहेको बताए ।
‘हामीले हाम्रो टिममार्फत प्रस्तावहरू माथि पठाएका छौँ । धेरै खालका मोडेलहरूमा छलफल भएको छ । प्रमोटरहरूका सेयर जफत गर्ने भन्ने मोडेलमा पनि कुरा भएको छ । नयाँ सेयर जारी गर्ने विषय पनि छन् । वा बचतकर्तालाई नै सेयर मालिक बनाउने मोडेलमा पनि कुरा भइरहेको छ । वा मर्जरमा जाने कि वा अन्य पार्टनर खोज्ने कि भन्ने विभिन्न मोडेलहरूमा छलफल भइरहेको छ,’ विश्वकर्माले भने । बैंकलाई अब कुन मोडेलमा लिएर जाने भन्ने विषयमा टोलीले प्रस्ताव गर्ने, राष्ट्र बैंकले सम्बद्ध सबै निकायहरूसँग छलफल गरी निष्कर्षमा पुग्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्