सम्पादकीयः भेरी अस्पतालको गौरवमय यात्रा



बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले १३४ वर्षको गौरवपूर्ण यात्रा पार गर्दै आज आफ्नो १३५औँ वार्षिकोत्सव मनाउँदैछ । यो अवसर केवल औपचारिकता होइन, यो दिन स्वास्थ्य क्षेत्रको ऐतिहासिक स्मृति, वर्तमानको मूल्यांकन र भविष्यप्रतिको योजनात्मक प्रतिबद्धता दोहो¥याउने महत्वपूर्ण घडी हो । भेरी अस्पताल नेपालको सबैभन्दा पुराना र ऐतिहासिक अस्पतालहरूमध्ये एक हो । यसले बाँके मात्र नभई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसम्मका जनतालाई सेवा दिँदै आएको छ । प्रारम्भमा एक साधारण औषधालयको रूपमा स्थापना भएको यो संस्था समयक्रममा विस्तार हुँदै आज संघीय संरचनाअन्तर्गतको एक क्षेत्रीय रेफरल अस्पतालका रूपमा कार्यरत छ । यस संस्थाले विगतमा जुन समर्पणका साथ स्वास्थ्य सेवा प्रदान ग¥यो, त्यो स्मरणीय छ । हैजा, टाइफाइड, डेंगु, भोकमरी, क्षयरोग र महामारीका अनेक रूपहरूसँग जुध्दै यस अस्पतालले हजारौँ जनताको जीवन जोगायो । पूर्वमेडिकल सुपरिटेन्डेन्टहरू, चिकित्सकहरू, नर्सहरू र स्वास्थ्यकर्मीहरूले गरेको योगदानबिना १३५ वर्षको यो निरन्तरता सम्भव थिएन । उनीहरूको मेहनत र समर्पणले अस्पतालको जग मजबुत बनायो ।

तर अहिलेको अवस्था त्यति सन्तोषजनक देखिँदैन् । अस्पताल संरचनागत, व्यवस्थापनगत र सेवा प्रवाहको दृष्टिले गम्भीर चुनौतीको सामना गरिरहेको छ । तीनवटा प्रदेशबाट सेवा लिन आउने बिरामीहरूको चाप अत्यधिक भएको छ, तर सुविधाहरू सीमित छन् । अस्पतालमा पर्याप्त विशेषज्ञ चिकित्सक छैनन्, केही सेवा क्षेत्रहरू जर्जर अवस्थामा छन्, उपकरणहरू पुराना र बिग्रिएका छन् र आपतकालीन सेवा सहज छैन । यति मात्र होइन, अस्पताल व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिताको कमी देखिन थालेको देखिन्छ । आर्थिक बजेट प्राप्त भएको भए तापनि त्यसको प्रभावकारी कार्यान्वयनको अभाव छ । अस्पतालको नेतृत्व स्थिर र दूरदर्शी नभएसम्म दीर्घकालीन सुधार असम्भव देखिन्छ । चिकित्सा सेवा जनताको मौलिक हक हो, तर भेरी अस्पतालमा त्यो अधिकारलाई पूर्णरूपमा कार्यान्वयन गराउन अझै पनि संघर्ष गर्नु परेको देखिन्छ । त्यसो भए, के भेरी अस्पतालको भविष्य असाध्यै अँध्यारो छ ? होइन । यसको भविष्य उज्यालो बनाउन सकिन्छ, यदि राज्य, समुदाय र अस्पताल प्रशासनबीच सहकार्य, प्रतिबद्धता र दूरदृष्टि भयो भने ।

संघीय सरकारले भेरी अस्पताललाई ‘फेडरल रेफरल अस्पताल’को हैसियत दिएको हो भने त्यस अनुसार आवश्यक बजेट, जनशक्ति र प्रविधि पनि सुनिश्चित हुनुपर्छ । उपकरण सुधार, अत्याधुनिक सेवा विस्तार, मानव संसाधनको सशक्तीकरण र अस्पताल व्यवस्थापनमा इमान्दार नेतृत्वको जरुरत छ । साथै, यो अस्पतालको भविष्य नागरिक समाजको सक्रिय निगरानी, सञ्चारमाध्यमहरूको सतर्कता, र जनप्रतिनिधिहरूको दबाबबाट पनि निर्देशित हुन सक्छ । अस्पताल जनताको हो । यसमा जनताको हितका लागि काम गर्नेलाई समर्थन र दुरुपयोग गर्नेहरूप्रति प्रतिरोध हुनुपर्छ । डिजिटल प्रविधिको प्रयोग, अनलाइन टिकट तथा रेकर्ड प्रणालीको विकास, अस्पताल सेवा प्रणालीमा पारदर्शिता र उत्तरदायित्वका सिद्धान्त लागु गरिनु अत्यावश्यक छ । आजको युग डिजिटल छ र अस्पताल सेवा पनि त्यही दिशामा अगाडि बढ्नुपर्ने समय हो । १३५औँ वार्षिकोत्सव केवल उत्सवको क्षण होइन, यो एक ऐतिहासिक अवसर हो, जहाँ विगतको योगदानप्रति श्रद्धा, वर्तमानको कमजोरीप्रति आत्मालोचना र भविष्यको मार्गचित्रप्रति संकल्प गरिनुपर्छ । भोलि सुधार्छौँ भन्ने नियतले अब पुग्दैन् ।

सुधार आज र अहिले आवश्यक छ । भेरी अस्पतालमा प्रायः निम्न तहका कर्मचारीहरूको व्यवहार राम्रो नभएको जनगुनासो आइरहेको पाइन्छ । सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दा अस्पतालका चिकित्सिक, नर्स, कर्मचारी तथा हरेक काउन्टरमा बस्ने कर्मचारीहरूबाट राम्रो र सुमधर व्यवहार पालना गर्नु जरुरी देखिन्छ । भेरी अस्पतालले विगतमा बटुलेको आफ्नो गौरवलाई पुनः स्थापित गर्ने जिम्मेवारी अस्पताल नेतृत्वको काँधमा छ । जनताको जीवन र स्वास्थ्यसँग सिधा जोडिएको यो संस्थालाई केवल सरकारी कार्यक्रमको रूपमा होइन, सेवाको मन्दिरको रूपमा बुझ्ने र व्यवहार गर्नुपर्ने आवश्यक छ । समस्या धेरै छन्, तर समाधान सम्भव छन् । १३५ वर्षको यात्रालाई आगामी पुस्ताले गर्वसाथ सम्झने वातावरण बनाउन सरोकारवाला सबैको साझा प्रयास र निष्ठा आवश्यक छ । भेरी अस्पतालले वीर अस्पताल जत्तिकै आफ्नो गरिमाको विकास गर्नुपर्ने देखिन्छ । यसप्रति राज्यको ध्यानाकर्षण हुन जरुरी छ । वीर र भेरी अस्पताल सँगसँगै सुरुभए पनि वीरको अवस्था कहाँ पुगिसक्यो भने भेरी जहाँको त्यहीँ भएको भान हुन्छ । त्यसैले भेरीको विकासका लागि यस क्षेत्रका सबै राजनीतिक दलका नेताहरूसमेत लाग्नु पर्ने देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार