खार्पुनाथ गाउँपालिका तुइनमुक्त बन्यो



हुम्ला ।

जिल्लाको खार्पुनाथ गाउँपालिका तुइनमुक्त बनेको छ । खार्पुनाथ गाउँपालिका–१ र २ लाई जोड्न लालीबगरको लिगेमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि तुइन विस्थापित भएको छ । यो झोलुङ्गे पुल निर्माण भएर प्रयोगमा आएपछि सिङ्गो गाउँपालिका नै तुइनमुक्त बनेको हो । यसअघि खार्पुनाथ गाउँपालिका विभिन्न स्थानमा गरि चार स्थानमा तुइन रहेकोमा ती तुइन भएका स्थानमा झोलुङ्गे पुल निर्माण गरिएका थिए ।

हाल स्थानीयले कर्णाली नदी सुरक्षित रुपमा वारपार गर्दै आउन पाएका छन् । यसका लागि स्नोल्याण्ड एकस्कृत विकास केन्द्रले प्राविधिक सहयोग र समन्वय गरेको थियो । पुलको डिजाइनमा १०५ मिटर लम्बाइ भएपनि निर्माणका क्रममा ९५ मिटर लम्बाइमा निर्माण कार्य सकिएको छ । यसका लागि ९२ लाख ६ हजार ३९६ रुपैयाँ लागत लागेको छ । नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसँगै सो स्थानभन्दा ५० मिटर पर नदी तर्नका लागि निर्माण गरिएको तुइन विस्थापित गरिएको हो ।

कर्णाली प्रदेश सरकारको तुइन विस्थापित गर्ने अभियानले बिस्तारै सफलता पाउँदै गएको छ । झोलुङ्गे पुल बनेपछि ठुलो समस्या समाधान भएको खार्पुनाथ गाउँपालिका–२ का वडा अध्यक्ष चन्द्र रावलले बताए । केही दिनअघि मात्रै आफुले तुइनबाट कर्णाली नदी तरेको स्मरण गर्दै उनले अब ति त्रासका दिन गएको महसुश गरेका छन् । २०७८ सालमा दुल्ली कुना लालीबगरको सडक निर्माण गर्ने क्रममा लिगेमा पुरानो झोलुङ्गे पुल भत्किएको थियो ।

पछि खार्पुनाथ गाउँपालिकाले उक्त स्थानमा तुइन निर्माण गरेर वडा नम्बर १ र २ का बासिन्दाहरुलाई आउजाउ गर्ने माध्ययम बनाएको थियो ।
त्यसपछि धेरै पटक उक्त तुइन तरेर नदी वारपार गर्दै आएका स्थानीयले हरेक पल जोखिमपूर्ण यात्रा गर्नुपर्ने वाध्यता थियो । लालीको औल र थाली जिउलाको लिगेमा नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएपछि तुइनमुक्त भएको हो । यसबाट दुई वटा वडाका ७०० भढी स्थानीय र कर्मचारी लावान्भित भएका छन् ।

पूर्वाधार विकास कार्यालयका सवइन्जिनीयर झुलबहादुर शाहीले यो झोलुङ्गे पुल निर्माणका लागि गत चैत २७ गत कार्यालयले उपभोक्ता समितिसँग सम्झौता गरेको बताए । खार्पुनाथ गाउँपालिका–१ र २ लाई जोड्ने लिगे झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएको भन्दै पुलको निर्माण सम्पन्न गर्न तीन महिना लागेको जानकारी दिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार