कोहलपुरमा वडाबाटै राजस्व संकलन सुरु



कोहलपुर ।

कोहलपुर नगरपालिकामा वडाबाटै राजस्व संकलन सुरु भएको छ । आर्थिक वर्ष २०८२–०८३ सुरु भएसँगै कोहलपुरमा वडाबाटै राजस्व संकलन सुरु भएको हो । कोहलपुरमा यसअघि सम्पत्ति, भूमिकर र मालपोतकर नगर कार्यपालिकाको कार्यालयबाटै संकलन हुँदै आएको थियो। आइतबार एक सूचना जारी गर्दै अबदेखि वडास्तरबाटै संकलन हुने जानकारी दिइएको छ ।

राजस्व शाखा प्रमुख सुशीला थापाका अनुसार कोहलपुर नगरपालिकाले नयाँ आर्थिक वर्षको सुरु भएसँगै सम्पूर्ण कर वडा कार्यालयबाटै संकलन गर्न सुरु गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘वडा कार्यालयबाट मात्र बुझ्ने व्यवस्था भएकोले सम्पत्ति, भूमिकर र सम्पतिकर सम्बन्धित वडा कार्यालयमै बुझाउन हुन सबैको जानकारीका लागि अनुरोध गरिएको छ ।’

यस्तै, कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८२–०८३ को राजस्व संकलन सुरु गरेसँगै कोहलपुर नगरपालिकाभित्र व्यवसाय दर्ता र नवीकरण शुल्क तथा घर र जग्गा बहाल कर एक आर्थिक वर्षमा लाग्ने वार्षिक करको एकमुष्ट अग्रीम रुपमा बुझाउँदा छुटको सुविधा दिइएको जनाएको छ ।

साउन महिनाभित्रै बुझाएमा १५ प्रतिशत, भदौ महिनाभित्र बुझाए १० प्रतिशत र असोज महिनाभित्र बुझाए ५ प्रतिशत छुटको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । करदाताहरुको सहजताका लागि छुट प्रदान गरिएकोले सेवाको लाभ लिन सबै कोहलपुरवासीलाई नगरपालिकाले अनुरोध गरेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार