धनगढी ।
सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरूले संघीय संरचनाअनुसार समायोजनमा परेपनि तलब, सेवा, सुविधा र सरुवामा विभेद भइरहेको गुनासो गरेका छन् । ‘स्वास्थ्य सेवा ऐन, २०५३’ तथा ‘समायोजन ऐन, २०७५’ अनुसार स्थानीय तहमा समायोजनमा परेका स्वास्थ्यकर्मीहरूले आफूहरूलाई हालको स्थानीय सेवा ऐनले समान व्यवहार नगरेको भन्दै विरोध जनाएका हुन् ।
सोही मागसहित गठित ‘स्थानीय तह स्वायत्त स्वास्थ्यकर्मी संघर्ष समिति, सुदूरपश्चिम प्रदेश’ले शनिबार पनि धनगढीमा प्रदर्शनी जारी राखे ।
उनीहरुले समायोजनमा परेका स्वास्थ्यकर्मीलाई संघीय निजामती सेवा ऐनअनुसार हक–हित सुनिश्चित गर्न, सबै कर्मचारीलाई समान व्यवहार गर्न र विभेदपूर्ण नीतिको अन्त्य गर्न आग्रहसहित नाराबाजी गरेका छन् ।
साथै, स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन तत्काल आवश्यक नीतिगत निर्णय गर्न प्रदेश सरकारसँग माग गरिएको छ । संघर्ष समितिका संयोजक एवं बैतडीको सिगास गाउँपालिकास्थित स्वास्थ्यचौकी प्रमुख राजेन्द्रसिंह साउदले माग पूरा नभए चरणबद्ध आन्दोलनलाई थप तीव्र बनाउने चेतावनी दिएका छन् ।
स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण ग्रामीण क्षेत्रका दैनिक स्वास्थ्य सेवा प्रभावित भएको जनाइएको छ । हाल मौसमी सङ्क्रमणको समय भएकाले डेंगु, भाइरल ज्वरो, रुघाखोकी, खोप तथा प्रसूति सेवा प्रभावित भएको स्थानीयवासीहरूले बताएका छन् । ‘दैनिक सेवा प्रवाहमा अवरोध आइरहेको छ,’ संयोजक साउदले बताए, ‘माग सुनुवाइ नभए आन्दोलन थप सशक्त बनाइनेछ ।’









प्रतिक्रिया दिनुहोस्