सम्पादकीयः पत्रकारिताका नाममा विकृत्ति



केही दिनअघि मात्र बाँकेको कोहलपुरमा रहेको एक मिडिया हाउसबाट आफूलाई पत्रकार बताउने एक व्यक्ति एक हजार दरका नक्कली नेपाली नोट र लागूऔषध अफिमसहित प्रहरीको फन्दामा परे । कोहलपुरबाटै केही समयअघि आफूलाई पत्रकार बताउने मोबाइल व्यवसायीसमेत रहेका एक व्यक्ति अर्का एक मोबाइल पसल सञ्चालकसँग पाँच लाख रुपैयाँ असुल गरेको अभियोगमा पक्राउ परे र अदालतबात धरौटीमा रिहा भए । यी त तत्काल घटेका कोहलपुरका केही घटना मात्र हुन् । आफूलाई पत्रकार बताउने केही व्यक्तिहरु प्रायः सीमा क्षेत्रका जिल्लाहरुमा भन्सारतिर जाने क्यामेरा तथा मोबाइल तेर्साएर बार्गेनिङ गर्ने र असुली धन्दामा लागेका थुप्रै उदाहरणहरु पाइन्छन् ।

पत्रकारिता क्षेत्रमा वर्षौँ काम गरेका जीवन नै बिताएका अग्रज पत्रकारहरु आजकाल आफूलाई पत्रकार हुँ भनेर चिनाउनसमेत छाडिसकेको अवस्था छ । पत्रकारिताका नाममा विभिन्न धन्दा गर्ने, असुली गर्ने, थर्काउने, धम्काउने लगायतका विकृत्तिहरु अहिले पछिल्लो समयमा बग्रेल्ती देख्न पाइन्छ । पछिल्लो समयमा जोकोहीले पनि पत्रकारिताका नाममा कालो धन्दा गर्ने तथा समाजमा पत्रकारिता क्षेत्रकै बदनाम गराउने गर्दा समाजमा साँच्चिकै काम गरेर खाने श्रमजीवि पत्रकारहरु लज्जित बनेका छन् । यो विकृत्तिलाई समयमै रोकथाम गर्न नसके भविष्यमा यो समस्या झनै जटिल बन्न सक्ने खतरा देखिन्छ । यो गलत प्रवृत्तिका विरुद्ध विशेषतः पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले पहलकदमी लिन जरुरी छ । पत्रकार महासंघसँगै पत्रकारजन्य विभिन्न संघ संगठनहरुले पनि पहल लिन जरुरी देखिन्छ ।

पत्रकार बन्नका लागि न्यूनतम तालिम, परीक्षा प्रणाली लगायतका न्यूनतम मापदण्ड बनाएर कार्यान्वयन गर्न सके केही हदसम्म भएपनि यो विकृत्तिलाई रोकथाम गर्न सक्ने देखिन्छ । जसका लागि सम्बन्धित सरोकारवाला निकायले नीति निर्माण गर्ने तथा कार्यान्वयन गर्न जरुरी छ । पछिल्लो समयमा पत्रकारका नाममा गैरपत्रकारहरुले पनि असुली धन्दा गर्ने गरेको पाइन्छ । यो सम्पूर्ण विकृत्तिलाई रोक्नका लागि गम्भीर बन्न जरुरी छ । पत्रकारका नाममा यो क्षेत्रमा विकृत्ति फैलिरहेको नभएर पछिल्लो समयमा अन्य पक्षबाट समेत साँच्चिकै पत्रकारहरुमाथि पनि विभिन्न आक्रमण हुने गरेका घटना बाहिरिएका छन् ।

पत्रकार आचारसंहिता अनुसार आफ्नो कर्म गरिरहेका कैयौँ पत्रकारहरुमाथि अन्य पक्षबाट धम्की, दुव्र्यवहार, कुटपिट लगायतका घटनाहरु हुने गरेको तथ्य स्वयम् पत्रकार महासंघले दैनिकजसो प्रेस विज्ञप्ति निकाल्नुबाट पनि पुष्टि हुन्छ । देशका कैयौँ स्थानहरुमा पत्रकारहरु समाचार संकलनका क्रममा अवरोध खडा हुनु, धम्की दिइनु, कुटिनु, सञ्चारजन्य सामाग्रीहरु तोडफोड गरिनु लगायतका घटनाहरु पनि हुँदै आएका छन् । यसले सही रुपमा पत्रकारिता गरिरहेका, पत्रकारितामै जीवन गुजारिरहेका, श्रमजीवि, कलमजीवि पत्रकारहरु हतोत्साही हुने, मनोवल घट्ने जस्ता अवस्था सिर्जना हुने गरेका छन् ।

पत्रकारिताका नाममा विभिन्न अवैध गतिविधि सञ्चालन गर्ने तथा अन्य पक्षबाट काम गरेर खाने श्रमजीवि पत्रकार वर्गमाथि हुँदै आएको दुव्र्यवहार दुवैलाई निरुत्साहित गर्न जरुरी छ । जसका लागि सम्बन्धित सरोकारवाला निकाय, सरकार गम्भीर बन्न जरुरी छ । पत्रकारिता क्षेत्रलाई बलियो बनाउनका लागि आवश्यक नीति निर्माण, कानुन निर्माण गरेर अक्षरस कार्यान्वयन गराउन जरुरी छ । समयमै यो विकृत्तिलाई रोक्न नसके भविष्यमा पत्रकारिता क्षेत्रकै गरिमा र ओझ अझै घट्ने छ । यो क्षेत्रनै दुर्गन्धित नहोला भन्न सकिन्न । तसर्थः दुवै पक्षबाट हुने यस प्रकारका घृणित कार्य रोकेर पत्रकारिताको ओझलाई बचाइराख्न सम्बन्धित सरोकारवालाको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार