कोहलपुर (बाँके) ।
कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०८१–०८२ जेठ मसान्तसम्म कूल ७४.४ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा ८३ प्रतिशत चालू र ५८.५७ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो । चालूतर्फ ७२ करोड ७१ लाख ९६ हजार रूपैयाँँमध्ये हालसम्म ६० करोड ३२ लाख २५ हजार १७३ रूपैयाँँ खर्च भएको नगरपालिकाले जनाएको छ । यस्तै, पुँजीगततर्फ ३९ करोड २६ लाख ३ हजार ९७५ रूपैयाँँमध्ये हालसम्म २२ करोड ९९ लाख ६५ हजार ४२० रूपैयाँँ खर्च भएको छ ।
चालू आर्थिक वर्षमा कोहलपुर नगरपालिकाको कूल कायम बजेट १ अर्ब ११ करोड ९८ लाख रूपैयाँँ रहेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा बाँके जिल्लाकै दोस्रो हुन सफल भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए । उनका अनुसार नगरपालिकाको हालसम्मको अद्यावधिक रकममध्ये गत आर्थिक वर्षमा मात्रै कूल बेरुजको ३८ प्रतिशत संपरीक्षण भएको छ । हाल नगरपालिकाको बेरुजु १.६६ प्रतिशतमा सीमित भएको छ ।
कोहलपुर नगरपालिकामा चालू आर्थिक वर्षको हालसम्म ४.२ किलोमिटर सडक कालोपत्रे गरिएको छ । १३.९ किलोमिटर पक्की नाली निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए । कूल २३३ योजनामध्ये असार २० गतेसम्म १८९ वटा योजना सम्पन्न भएका छन् । तीमध्ये १९९ योजनाको अनुगमन भइरहेको छ भने उक्त उपभोक्ता समितिबाट १५४ वटा योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ तेह्र विगाहामा फुटबल मैदान निर्माण सुरु गरिएको छ । वडा नम्बर १४ मा कवर्ड हल निर्माण अन्तिम चरणमा पुगेको गिरीको भनाइ छ ।
‘हालसम्म कोहलपुर नगरपालिका वडा नम्बर १ का १ सय ८७ जनालाई लालपुर्जा वितरण गरिएको छ । ६१४ जनालाई लालपुर्जा वितरणको अन्तिम तयारी भइरहेको छ । अन्य वडामा क्रमशः लालपुर्जा वितरण गरिनेछ । कोहलपुरका १७ हजार बढीलाई लालपुर्जा वितरण गर्ने हाम्रो लक्ष्य रहेको छ,’ प्रमुख प्रशासकीय अधिकृत गिरीले भने ।
कोहलपुर नगरपालिकाको डिजिटल अभियानलाई सार्थक बनाउन सुरक्षा व्यवस्थापनमा सहजता र आपराधिक गतिविधि नियन्त्रण गर्न कोहलपुरका ७२ स्थानमा सीसीटिभी क्यामरा जडान गरिएको नगरपालिकाले जनाएको छ । शिक्षातर्फ एसईई परिक्षामा वर्षेनि नतिजा सुधार हुँदै गइरहेको छ । स्थानीय पाठ्यक्रम सञ्चालन, खेलकुदमा जिल्लाकै उत्कृष्ट पालिका, प्रविधिमैत्री शिक्षामा जोड दिनुका साथै कक्षा ६ देखि १२ सम्म सेनेटरी प्याड निःशुल्क वितरण लगायत शिक्षा र खेलकुद क्षेत्रमा भएका मुख्य उपलब्धिहरू रहेको उनले बताएका छन् । हालसम्म ७५.०७ प्रतिशत राजस्व संकलन गरिएको छ । कृषि क्षेत्रको विकासको लागि ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरिनुका साथै ३२५ घरपरिवारलाई पशु सुत्केरी भत्ता वितरण गरिएको छ । हालसम्म ४ हजार ७ सय पशुपन्क्षीको उपचार गरिएको जनाइएको छ ।
स्वास्थ्यतर्फ स्वास्थ्य बीमा सेवा सुरु गरिएको र ३ सय जनाले सेवा दिएको नगरपालिकाले जनाएको छ । ६ हजार २ सय जना १०–१४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप प्रदान गरिएको छ । साथै तिलगंगा आखाँ उपचार प्रतिष्ठान काठमाण्डौँको समन्वयमा ४ सय ४२ जनाको निःशुल्क मोतिबिन्दु तथा मासु पलाएको शल्यक्रिया गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमातर्फ कोहलपुर नगरपालिकामा सूचीकृत भएका ३७५ जनामध्ये नेपाल सरकारको तर्फबाट ६१ जनालाई औसत ४० दिन, युवा रोजगारीका लागि पहल आयोजनातर्फ ४० जनालाई ५० दिनको रोजगारी प्रदान गरिएको छ । न्यायिक समितिअन्तर्गत चालू आर्थिक वर्षमा कूल दर्ता भएका ३७२ उजुरीमध्ये २४२ उजुरी मेलमिलापका माध्यमबाट फछ्र्यौट भएका छन् ।
विभिन्न निकायको सहयोग र नगरपालिकाको आयोजनामा एक वर्षमा ७७७३ बिरुवा रोपण गरिएको छ । १५ वटै वडाका ७५ जना ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गिरीको भनाइ छ । चालू आवमा १ सय ६१ व्यवसाय दर्ता, ५ सय ६० व्यवसाय नवीकरण, ४० वटा व्यवसाय खारेज भएका छन् । आयुर्वेद शाखातर्फ ६ हजार ४ सय ११ जनाले ओपिडी सेवा लिएका छन् ।
कोहलपुर नगरपालिको घुम्ति कोष कार्यविधि निर्माण गरेको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार नगरपालिकाले सहज र शुलभ सेवामा जोड दिएको छ । उनका अनुसार सुशासन कोहलपुर नगरपालिकाको प्रमुख प्राथमिकता हो । जनताको नजिकैको सरकारको रूपमा रहेको कोहलपुर नगरपालिकाबाट जनाले अनुभूति गर्नेगरी सेवा प्रवाह गरिरहेको बताए ।









प्रतिक्रिया दिनुहोस्